‘मेसिनले चलेकी म’


विजया पन्त । अचेल लागिरहेछ म सजीव प्राणी हूँ कि निर्जीव ? भन्नेहरू त मानिस सर्वश्रेष्ठ प्राणी हो भन्छन् तर अचेल मलाई आफू निर्जीव, चेतना शून्य प्राणीको दर्जामा उभ्याइरहेकी छु । मसँग कुनै संवेदना नै छैन । बरु लागिरहेछ कि मेसिनसँग चेतना छ, संवेदना छ । अझ भनुभने आफूलाई बुद्धिमानी, उच्च प्राणी, सर्वश्रेष्ठ प्राणी मान्ने मानिसलाई मेसिनले काबुमा राखेको छ । म आफ्नो नैतिकता, जिम्मेबारी, जवाफदेहिताभन्दा बढी मेसिनसँग डराएकी छु । मलाई कज्याउन मेसिन राखिएको छ ।

मेसिनले मान्छे बनायो कि मान्छेले मेसिन ? आजको युग विज्ञान र प्रविधिको युग हो । मानिस प्रविधि बिना बाँच्न नसक्ने भैसक्यो । विश्वलाई गाउँ बस्तीमा डुलाएको छ, विश्वका मान्छेलाई गफमा भुलाइको छ । नयाँ-नयाँ प्रविधिको विकास मानिसले आफ्नो सुविधाको लागि भरमग्दुर प्रयोग गरेर दंग परेको छ । यही फाइदा उठाएर अहिले सरकारी कार्यालय र स्कुलमा औँठा छाप मेसिन (Electronic Attendance) राखिएको छ । तर यस्तो प्रविधिलाई नैतिकता, जिम्मेवारी र जवाफदेहितामा प्रश्न उठाएर प्रयोग गरिएको छ । हाजिरी मेसिन काममा सहजता ल्याउनको लागि कि मानिसलाई जिम्मेवारी र जवाफदेहिता बनाउन ?

जब मानिस जुनसुकै पेशामा लाग्छ । त्यहाँ उसको दायित्व र जिम्मेवारी रहदैन र ? ऊ सर्वश्रेष्ठ प्राणी भएको र सपथ खाँदा नै कसम खाएको हुँदैन र ? जिम्मेवारी र दायित्वप्रति सचेत हुने । अझै नाङ्गो शरीर ढाक्ने र भोको पेट भर्ने आधार नै त्यही जागिर हो । त्यति मात्र होइन सबैभन्दा प्यारो सन्तानको सुन्दर भविष्यको गोरेटो पहिल्याउने आधार पनि त्यही जागिर हो । यस अवस्थामा नाङ्गो शरीर, भोको पेट र सन्तान बिर्सने म हात, खुट्टा, शिर, शरीर भएको निर्जीव वस्तु हूँ ।

विजया पन्त 

म एक शिक्षक हूँ । देनिक विद्यालमा गएर साना बुबानीको ज्ञानको ज्यातिले आँखा खोल्ने म एक साधन हूँ । मलाई लाग्थ्यो हाजिरीभन्दा काम ठूलो । कहिलेकही हाजिरकै विषयमा गाली पनि खानु परेको थियो । त्यति बेला रिस उठ्रदैन थ्यो किनकि हाजिर बिहान नगरेर साझ चार बजे र्गदा के हुन्छ ? तर के पढाउने भन्ने विषयको चिन्तन भएन भने र समयमा कक्षामा पुगिएन भने विद्यार्थीमाथि घात हुन्छ भन्ने विषयले पोलेर होला म हाजिर र्गन नै बिर्सन्थेँ । तर अचेल पढाउने विषयभन्दा ल्याप्चे लगाउन भुल्छु कि ? ल्याप्चे लगाउँदा मिल्दैन कि भन्ने चिन्ताले पोलिरहेको हुन्छ । त्यसैले अचेल म मेरो र नैतिकता, जिम्मेवारी, जवाफदेहिताभन्दा बढी मेसिनको लागि काम गरिरहेकी छु ।

कहिले काही मनमा यस्तै कुरा खड्किन्छ । नेपालका कार्यालय र विद्यालयमा हाजिरी मेसिन जडान गरिएका छन् । समयको परिवर्तनसँगै प्रविधिको प्रयोग गर्नु राम्रो हो तर यहाँ यस्ता प्रविधि जवाफदेही र उत्तरदायि बनाउनको लागि प्रयोग गरिएको भन्ने सुन्दा अचम्म लाग्छ । के हाजिरीले मात्र मानिस उत्तरदायि र जवाफदेही बन्छ ? यदि हाजिरले मात्र मानिस उत्तरदायि र जवाफदेही भई संस्थाहरू राम्रा हुने भए नेपाल धेरै वर्ष पहिला नै समृद्ध हुने थियो । समृद्ध बन्नको लागि काम गर्नुपर्छ । १० बजे ल्याप्चे लगाएर फेरी ४ बजे ल्याप्चे लगाउन स्कूल वा कार्यालयमा पुग्ने छैनन् र ?

ल्याप्चे लागएर कामको मूल्यांकन गरिन्छ भने यहाँ हातले होइन निधारले ल्याप्चे लगाउन पनि तयार हुन्छन् । सरकारी कर्मचारी छोडेर नेपालको सरकारी विद्यालयको सन्दर्भमा हेर्ने हो भने आफूलाई म सरकारी विद्यालयको शिक्षक हूँ भन्न नै लाज मान्ने छन् । जुन पेशाबाट वर्तमानको आवश्यकता पूर्ति भइरहेको छ र भविष्यको सहाराको आधार बनिरहदा त्यसैमा म काम गर्छु भन्न लाज मान्ने अवस्थामा यस पेशाप्रति मान्छे कति बफादारी बन्न सक्छ ? विद्यालय सरकारी कार्यालय होइन । आज भएन भोलि आउनुहोस् भनेर पठाउने । विद्यालयमा विद्यार्थीको हात समाउन जानुपर्छ, ओठ चलाइदिनु पर्छ । यस अवस्थामा हाजिरीको आधारमा जवाफदेही र उत्तरदायित्वको मूल्यांकन गरी पुरस्कार दण्डको व्यवस्था गरियो भने हरेक व्यक्ति म जास्तै निस्प्राण, चेतना शून्य, उत्तरदायिबिहिन, टाउको , शरीर बोकेर हिड्ने निर्जीव प्राणी हुनेछन् ।

विद्यालय मानव जनशक्ति उत्पादन गर्ने उद्योग हो । यहाँ पढेलेखेका र बौद्धिक व्यक्तिको उपस्थित हुने थलो पनि हो । यस्तो ठाउँमा आफू निष्प्राण व्यक्ति भइरहेको अनुभूति हुन्छ । मलाई १० बजेर र ४ बजे त्यो मेसिनले नियन्त्र गरेको देख्दा । मलाई पढाउने विषयले भन्दा औँठाछापले पोल्ने गर्छ र त कक्षामा विद्यार्थीसँग बफादारी बन्नुभन्दा मेसिनमा औँठा टासेपछि असल र इमान्दारी शिक्षक भएको अनुभूति गर्न थालेकी छु ।

यदि हाजिरको आधारमै मूल्यांकन गरिन्छ भने भोलि काम गर्नेहरु पनि हाजिर ठीक समयमा गरेर अफिसमा बसेर गफ चुट्ने र घाम ताप्ने गरेर ४ नबिजाउलान् भन्न सकिदैँन ।

२३ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको