राष्ट्रपति सवारीका लागि जारि ‘सवारी आवागमनमाथिको निषेध’ सर्बसाधारणले तोडे


फागुन २२, काठमाडौं । राष्ट्रपतिको सवारीको नाममा लादिएको ‘सवारी आवागमनमाथिको अस्थायी निषेध’लाई सर्बसाधारण जनताले तोडेर प्रदर्शन गरेका छन् । काठमाडौंमा भीभीआइपीहरुको ‘राजतन्त्र शैलीको’ सवारीको नाममा लादिएको पञ्चायतकालीन थोत्रे नियमलाई गणतन्त्र नेपालको इतिहासमा पहिलो पटक हिजो मंगलबार बेलुकी जनताले अवज्ञा गरेका हुन् ।

सैन्य दिवसको अवसरमा जंगी अड्डामा आयोजित सम्मान भोजमा सहभागी हुने भनिएको राष्ट्रपतिको ‘सवारी’को नाममा लामो समयसम्म उनी हिँड्ने भनिएको रुटमा यातायात अवरुद्ध पारिएपछि आजित बनेका आम जनताले लैनचौर क्षेत्रमा त्यसको अवज्ञा गरेका थिए ।

सर्बसाधारणले ट्राफिक प्रहरीले रोक्दारोक्दै त्यो निषेधलाई तोडिदिए, उनिहरु रोकिएनन् । हिजोको त्यो ‘जनआक्रोश’ झट्ट हेर्दा सानो र आवेगजन्य घटना जस्तो लाग्न र देखिन सक्छ । तर त्यसले उब्जाएका प्रश्नहरु गम्भीर र तत्कालै सम्बोधन गरिनुपर्ने खालको छ ।

भीभीआइपीहरुको सवारीको नाममा राज्यसत्ताको दुरुपयोग गर्दै घण्टौ अघिदेखि सडकमा सुरक्षाकर्मीहरुलाई तैनाथ गर्ने आम जनताको पीरमर्का र समस्यालाई पटक्कै ख्याल नै नगरी उनीहरुको आवातजावातलाई नै ठप्प पार्दै सवारी शुरु हुनुभन्दा लामो समयअघिदेखि नै सडकहरुमा रोकतोक हुने कुहीगन्धे संस्कृति पञ्चायतले थोपरेको विरासत थियो ।

सवारीको नाममा घण्टौं सडक जाम गर्ने र आम जनतालाई सास्ती बनाउने त्यो शैली निरंकुशताको गर्भगृहबाट जन्मेर जनदमनका आधारमा शासन सत्ता चलाएकाहरुमा आम जनताप्रतिको डर, भय र त्रासको प्रतिबिम्बन थियो । त्यो जनविरोधी ‘सवारी नियम’ बलात लादिनुको अर्थ र तात्पर्य बुझ्न सकिन्छ ।

जनताको शासन ब्यबस्था गणतन्त्र आएपछि पनि उही निरङ्कुश पञ्चायती शैली दोहोर्याउनुले गणतन्त्र ब्यबस्था र उक्त व्यवस्थाका शासकहरु माथि गम्भीर प्रकारको संका अझै जीवित रहेको छ ।

पुरानो ब्यबस्था फेरिएको भनिएपनि पुरानै शैली र आचरण ब्यबहार र कुसंस्कार बोकेका शासकहरु राज्य व्यबस्थाको उस्तै मालिक भएको देख्दा आम सर्बसाधारणमा निरासा र आक्रोश पैदा भएको छ ।

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको