टीकापुर घटनाको फैसला आजै गर्ने तयारी


फागुन २२, काठमाडौँ । टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ । यसअघि मुद्दाको ६ दिनसम्म बहस चलेर मंगलबार सकिएको थियो ।

एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो।

प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका छन्। काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका हुन्।

कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा वहस गरेको अधिवक्ता गंगाराम पाध्यायले बताए। वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन्।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासमा भएको दुवै पक्षको वहस सकिएकाले बुधबार फैसला हुने सम्भावना रहेको जिल्ला अदालतका रजिष्ट्रार इन्द्र कठायतले बताए। घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको