रोल्पामा विप्लवविरुद्ध पहिलो पटक मुद्दा दायर, लाग्यो यस्तो आरोप


फागुन २२, रोल्पा । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । नेता विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ताअघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लव सहित जिल्लास्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर भएको हो ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार विप्लव सहितका नेताका नाउँमा मुद्दा दायर गरिएको जनाएको छ । टावरमाथि आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए ।

‘विभिन्न स्थानबाट नेकपाका तीनजनालाई पक्राउ गरिएको छ,’ प्रनाउ खड्का भन्छन्, ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदामाथि क्षति पु¥याएकाले पक्राउ गर्नु परेको हो ।’ परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लव सहितलाई जिल्लामा मुद्दा दायर गरिएको यो पहिलो हो ।

प्रहरीका अनुसार नेकपा सम्बद्ध टीकाराम नेपाली, लालबहादुर परियार र सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका दिपेन्द्र सिंह पक्राउ परेका छन् । नेकपा स्रोतले पक्राउ गरिएका तीनैजना जिल्ला तहका नेता रहेको जनाएको छ ।

सोमबार पक्राउ गरिएका उनीहरुलाई मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका नेता टीकाराम, लालबहादुर र दिपेन्द्रलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा चलाइएको छ ।

केही हप्ताअघि जिल्लाको सुलिचौर र गजुलमा रहेको नेपाल टेलिकम र एनसेलको टावरमा आगजनी गरिएपछि नेकपाका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय रहकै बेला उनीहरु पक्राउ परेका हुन् । देशभरका दर्जनौं एनसेल टावरमा आगजनी र विष्फोट गराउने क्रममा यहाँका दुई टावरमा पनि आगजनी गरी क्षति पु¥याइएको थियो ।

एनसेल टावरलाई लक्षित गर्न खोजिएकोे भए पनि झुक्किएर सुलिचौरमा नेपाल टेलिकमको टावरमा आगजनी भएको स्रोतले जनाएको छ । नेपाली र सुनारलाई निजी काममै रहेको बेला प्रहरीले अपहरण शैली पक्राउ गरेको नेकपाले जनाएको छ । सुनिल स्मृति गाउँपालिकाका नेकपाका सेक्रेटरी समेत रहेका दिपेन्द्र सहित तीनैजनालाई टेलिकम र एनसेल टावरमा आगजनी घटनासँग जोडेर मुद्दा अघि बढाइएको स्रोतको दावी छ ।

नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले आफ्नो पार्टीको जिल्ला नेताको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । निजी काममा रहेका वेला विना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग समेत गरेका छन् । पक्राउ परेका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य र परियार मुक्तिमोर्चाको पूर्व जिल्ला अध्यक्ष समेत रहेको जनाइएको छ । ‘अपहरणशैलीमा गिरफ्तार गरिएका नेताको रिहाइ नभए प्रतिकार हुन्छ ।’, जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा स्रोतले भने केन्द्रीय सर्कुलर अनुसार नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाइएको जनाएको छ । सार्वजनिक सम्पदामाथि क्षति गर्न थालेपछि सुरक्षा सतर्कता सहित प्रहरी चनाखो बनेको छ ।

नेकपाले भने आफ्ना नेता कार्यकर्ताको घर खानतलासी गरी त्रास पैmलाउन खोजेको जनाएको छ । राप्ती ब्यूरो इन्चार्ज केशबहादुर वाँठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, नेता विजुली, दिनेश चन्दको घरमा प्रहरीले खानतलासी गरी परिवारलाई तनाव दिएको नेकपाको दावी छ । केही साताअघि होलेरीमा भएको विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।

सत्ताधारी नेकपाका नेता एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले दिवंगत नेता खुमबहादुर खड्काको शैलीमा जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता विरुद्ध गृह प्रशासनलाई दमनमा उतारेको नेकपाले आरोप लगाएको छ । नेकपा नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय देखिएको छ ।

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको