रोल्पामा सुरक्षाका लागि एकीकृत बस्ती बसाउने तयारी


पुस २२, रोल्पा । थबाङ घरैघर जोडिएर बनेको ठूलो गाउँ हो । जिल्लाका जेलबाङ, गाम, मिरुल, कुरेली, उवा र गुम्चाल घर आपसमा जोडिएर बनेका छन् । यहाँ एकै ठाउँमा झुरुप्प परेका बस्ती छन् ।

यो खबर कान्तिपुरमा काँशीराम डाँगीले लेखेका छन । हेर्दै गाउँहरू आकर्षक देखिन्छन् । आर्किटेक्ट इन्जिनियरले डिजाइन गरे जस्ता लाग्ने यी गाउँ वर्षौंअघि निर्माण भएका हुन् ।

तत्कालीन समयमा घरसँग घर जोडेर बनाएका थिए । मिलेरै बस्ने गरी गाउँको परिकल्पना गरिएको थियो । पूर्वसांसद बर्मन बुढामगर बस्ने थबाङको जोरबाङ गाउँ पनि गुजुप्पै छ । ठूलोगाउँ नजिकै उनको घर मात्र छैन । दर्जनौं एकैसाथ जोडिएका छन् । थबाङमा ३ देखि ४ सय घर छन् ।

अधिकांश जोडिएका छन् । ‘दु:ख परेका बेला सानो स्वरले कराउँदा पनि सबैले सुन्छन्, आउँछन् । घरैघर भएको गाउँको महत्त्व यही छ,’ बुढामगरले भने, ‘एउटै जाति भएमा झन् राम्रो हुन्छ ।’ उनको गाउँ जोरबाङमा मगर मात्रै छन् ।

त्यसमा पनि उनकै गोत्रीय धेरै छन् । बुढामगर जातिले रोका, पुन, घर्तीलगायतसँग नाता सम्बन्ध जोड्छन् । बिहे गरी बुहारी ल्याउँदा र छोरी दिंदा नयाँ नाता सम्बन्ध बढ्छ । मगर आफ्नै जातिभित्र बुहारी ल्याउँदा युवालाई आफ्नै मामाकी छोरी खोजिदिने पुरानो चलन छ ।

अहिले त्यो चलन कम हुँदै गएको छ । घर जोडेर बस्ती बसाल्नुको कारणबारे जेलबाङ माझीबाङका चन्द्रबहादुर बुढाले भने, ‘सुरक्षाको खोजी, सरसहयोगको भावना र निरन्तर मेलमिलाप हुनु नै गुजुप्पै घर हुनुको मुख्य आधार हुन् ।’

उनका अनुसार मगर समुदायले आदिमकालदेखि एउटै गाउँमा बाक्लो बस्ती बसाल्दै आएका हुन् । देख्दा अचम्मै लाग्दो भए पनि मगर समुदाय मिलेर बसेको उनको निष्कर्ष छ । उनले रोल्पा–रुकुमका धेरैजसो गाउँमा मगर समुदाय बस्दै आए पनि अन्य जातिको प्रभावले अहिले त्यो चलन हट्दै गएको बताए ।

मगर समुदायको अर्को बाक्लो गाउँ कुरेलीका युवा योगेन्द्र रोकामगर पनि आन्तरिक सुरक्षाप्रति खतरा देखेर पुर्खाले यसरी घर बनाएर बस्ती बसाल्न सुरु गरेको अनुमान गर्छन् । ‘यसरी बस्नु एउटै जाति, संस्कार र भाषा भएकालाई झन् सजिलो हुन्छ,’ उनले भने ।’

अहिले जिल्लाका धेरै मगर बस्तीमा यस्ता गाउँ देख्न पाइन्छ । घरैघर भएको बाक्लो बस्तीको साइनो मगर समुदायसँग जोडिए जस्तै जिल्लामा घेरै गाउँका नाम पनि मगर भाषामै राखिएका छन् । थबाङ, जेलबाङ, पाङ, भाबाङ, धबाङ, धाबाङ, हाङ्जाबाङ, भित्ताबाङ, तालाबाङलगायत गाउँका नाम मगर भाषाबाटै राखिएका हुन् । मध्यरोल्पाका कोटगाउँ र भाबाङमा पनि घरैघर भएका गाउँ छन् ।

गाउँको नाम राख्दा पछाडि ‘बाङ’ अक्षर फुर्को जोड्ने चलन छ । अध्ययनअनुसार बाइसे–चौबीसे राज्यका पालामा जिल्लामा काला शेषलगायत राज्य स्थापना गरिएका थिए । त्यसैबेला धेरैजसो गाउँका नाम मगर भाषामा राखिएका थिए । सदरमुकाम लिबाङ मगर खाम भाषामै राखिएको हो । ‘लि’ को अर्थ बाँसघारी वा माथिपट्टिको कुनो हो भने ‘बाङ’ को अर्थ चौर हो ।

स्थानीयका अनुसार सदरमुकाम तोक्नुअघि उक्त स्थानलाई बाँसैबाँसले घेरिएको थियो । अध्येता खेम बुढामगर बाक्लो बस्ती र घरैघर जोडेर बस्ती बसाल्नु जनजातिको विशेषता भएको बताउँछन् ।

रोल्पा–रुकुममा मगर समुदायले आदिम अवस्थादेखि नै गुजुप्प बस्ती बसालेको उनको निष्कर्ष छ । कृषि युगसम्म आइपुगेपछि मानिसहरूले एकै स्थानमा बसोबास गरे सुरक्षा र रेखदेख हुने विश्वासमा एकीकृत बसाइ सुरु गरेका हुन सक्ने उनको धारणा छ । घरैघर जोडेर बस्ती बसाल्ने चलन मगरबाहेक अन्य जातिमा छैन ।

‘बाहुन, क्षत्री र दलितको प्रभाव परेको मगर समुदायमा थबाङ र जेलबाङ जस्ता बाक्ला बस्ती देख्न पाइँदैन,’ जेलबाङका चन्द्र बुढाले भने ।

क्षत्रीको बाक्लो बसोबास रहेको पूर्वी रोल्पास्थित गुम्चालमा जनजातिबाहेकको बाक्लो बस्ती छ । गुम्माल तल्लो र माथिल्लो गरी बाँडिएको छ । चन्द्रका अनुसार बाक्लो बस्ती र टाँसिएर बनाइएका घरका कारण खानेपानी, विद्युत् विस्तार गर्दा थोरै खर्चले सम्भव हुन सक्छ ।

जेलबाङका सयौं घरमा उनकै पहलमा गोरखा वेल फेयर स्किम (जीडब्लूएस) को लगानीमा घरपिच्छे खानेपानीका धारा जडान गरिएको छ ।

२०७५ पुष २२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको