विप्लव नेकपाका सेक्रेटरीसहित दुई जना पक्राउ


असोज १८, विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव नेकपाका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को२०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ ।

उनले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको बताएको छ ।

यसैगरी उनिहरुका साथबाट विप्लव नेकपाका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी दिए ।

उनले खुला सीमाका कारण विष्फोटक पदार्थ भित्रिने भएकाले त्यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको र मोरङ जिल्लामा शान्ति सुरक्षा सुदृढ रहेको विश्वास दिलाए ।

१८ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको