बाग्लुङमा पहिरो जाँदा तीनको मृत्यु, मध्यपहाडी लोकमार्ग भत्कियो


साउन २०, काठमाडौं । बाग्लुङको तमानखोला गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ।

आइतबार रातीको ठूलो वर्षासँगै घरमाथिमाट पहिरो खसेपछि घरमा सुतिरहेका ४५ बर्षीय पञ्चकुमारी श्रीपाइली, ७० बर्षीय असारी श्रीपाइली र १२ बर्षीय प्रवीण श्रीपाइलीको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते भएका ७ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै लगातारको पानीले स्थानीय बडिगाड खोलामा बाढी आएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत गर्ने बाग्लुङ–बुर्तिवाङ सडक भत्किएको छ।

बाटो भत्किँदा पोखरा, कुस्मा र बाग्लुङ बजारबाट पश्चिम बाग्लुङ जाने यातायातका साधन अलपत्र परेका छन्। पोहोर भदौमा आएको पहिरोले बनाएको तुरतुरे ताल पनि गए राती बडिगाड खोलामा आएको बाढीले भत्काइदिएको छ।

ताल भत्किएपछि पानीको सतह एक्कासी बढेको र त्यसले मध्यपहाडी लोकमार्ग भत्काएको प्रहरीले जनाएको छ ।

२० श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको