बिर्सनै नसकिने त्यो `तारे बल्द´


पृथीछक बुढा मगर । रन्मा गाउँका नरमान मुखियाको `तार्‍या´ नामको एउटा घले बल्द थियो । जोत्न सक्ने उमेर भएपनि जुवा पल्टाएर मुखियालाई हौरान पारेको थियो ।

एकदिन गोरु खोज्दै एकजना डोल्पाली रन्मा गाउँमा आएछ । यसो राम्रै दाम पाएपछि मुखिया बुढाले घले वल्दलाई बेच्ने बिचार गरेछ ।

मान्छेले यस्तो सोच्छ मानौं पशुको मनै हुँदैन । तर वेच्नको लागि सिङमा दाम्लो बाधेपछि तारे बल्दको आँखावाट आँसु खासाल्दै गरेको मुखियाले देखेछ । बल्दको आँसु देखेर मुखियाको पनि चरक्क मन दुखेछ । बल्दलाई सम्झाएछ, `माया लागेर नहुने रैच । बल्दको कामै जोत्ने हो । घल्या भइस् । वेचे भनेर श्राप नगरेस् । मालिकलाई दु:ख नदिएस्´ भन्दै तारेको पिठ्युँको रौं उखेलेर छेवैको लाखा बल्दको पिठ्युँमा राखिदिएछ ।

तारे बल्दको अगाडी अलिकती नुन मिसावट भएको निचोरेको छोकडा थियो । अरु दिन चाहि दादागिरी देखाएर सबैको भाग एक्लैले सिध्याउदै आएको थियो तर त्यो दिन भने उसले खाएन । बरु उसको भागको छोकडा अरु बाच्छाहरु आएर खाए । अरु दिनको जस्तो सिङ चलाउने कुनै कष्ट उठाएन ।

बेचिएपछी नयाँ मालिकले बल्द दोर्‍याउदै लग्यो । घरवाट निस्किनु भन्दा पहिले एकपटक घरतिर हेरेर `भा´ भन्दै कराएको थियो । त्यो दृश्य कम कारुणिक थिएन । मुखियालाई लाग्यो कि मानौं आफ्नै छोराले घर छोडेर जान लागेको छ । एक मनले सोच्यो, भो बल्द फिर्ता गरुँ । तर जमान कि कमान । बेईमान गर्न उसको नैतिकताले दिएन । मुखिया न परे ।

तारे बल्द बेचिएको हप्ता दिनसम्म नरमान मुखियाको निधारमा घाम लागेन । एक महिनापछि मुखियाले बल्दलाई भुलिहाले पनि । तर एक रात बार्दलिमा नरमान मुखिया सुतिरहेको वेला घरको अगाडी कुनै गोरु `भा´ गरेको सुनियो । ठ्याक्कै तारे बल्डले `भा´ गरे जस्तै लाग्यो । फेरि घले बल्दको सम्झना आयो । रातभरि मुखियालाई निद्रै लागेन ।

बिहान मुखियालाई पाखा लाग्यो । उठेर बाहिर निस्किने वेलामा उसले घरको अगाडी ठिङ्ग उभिएको तारेलाई देख्यो । मुखियालाई देख्ने बित्तिकै फेरि `भा´ गरेर करायो । मुखियालाई यकिन भयो कि यो आफुले बेचेको उहीँ घले तारे हो । भागेर आएछ । मालिकले लिन आयो भने लिएर जाला । मुखियालाई लाग्यो । तारेको सिङमा चुडिएको दाम्लोको ठुटो अल्झिएको देखिन्थ्यो । सिङवाट अल्झिएको त्यो दाम्लो निकालेर नजिकै दोकोले छोपेको छोकडा डेक्चिमा निकालेर खान दियो र नरमान मुखिया पाखा बस्न गयो ।

नभन्दै हप्ता दिनपछि डोल्पालीले तारे खोज्दै आइपुग्यो । राती दाम्लो चुडालेर भागेको रहेछ । फेरि सिङमा दाम्लोले बाधेर लग्यो । त्यतिखेर पनि तारे रोएकै थियो । घरवाट निस्किने वेलामा पनि `भा´ गरेर कराएकै थियो । मुखियाको मन फेरि छियाछिया भयो । एक दुई हप्तासम्म चैनले सुतेको होइन बिचरा मुखिया बुढा ।

महिना दिन बितिसकेपछी भने बिस्तारै तारेको सम्झना कम हुँदै गयो ।

बर्खामास शुरु भयो । तारे बेचिएको पनि छ महिना भयो ।यो पटक भने लामो समय भयो तारे आएन । अब त उतै बानी परिसक्यो होला फापरको भुस खाएर । मुखियाले यस्तै सोच्यो ।

गाई गोरुहरु लेकमा गइसकेका थिए । एक रात फेरि मुखियाले गोरु `भा´ गरेको सुन्यो । झसङ्ग भएर दियालो बालेर हेर्न गयो । त्यही तारे थियो । फेरि छोकडा खान दियो । मायाले मुसार्न थाल्यो ।

तीन चार दिनपछि फेरि डोल्पाली हातमा दाम्लो लिएर बल्द लिन आए । यो पटक भने नरमान मुखियाले डोल्पालीलाई झपार्नसम्म झपार्‍यो । बेचिसकेको माल हो मुखियालाई दिनै कर लाग्यो । भोलिपल्ट झिसमिसेमै डोल्पालीले तारेलाई लिएर गयो । तारे बल्द उस्तै गरि रोयो । उस्तै गरि `भा´ गर्‍यो । फेरि मुखियाको मन चरक्क खायो ।

हप्ता, महिना बित्यो । एक बर्ष बित्यो । तर यो पटक भने तारे बल्द आएन । डोल्पालीले मारेर खाए होलान् त्यसैले आएन । नरमानले सोच्यो । अन्ततः नरमान मुखियाले तारे बल्दलाई पनि भुलिसक्यो ।

मंसिरमा गाई गोरु भङमा हुल्ने दिन पनि आयो । तारे बल्ड बेचिएको तीन बर्ष बितिसकेको थियो । गाईहरु पाखामा चराउदै नरमान मुखियाले चौतारीमा उपरखुट्टि लगाएर सुल्फा तानिरहेको थियो । खोला पारी छमारीको घुमाउरो बाटोमा उहि तारे बल्ड जस्तो एउटा गोरु आइरहेको देख्यो । मानसपटलवाट मेटिसकेको उहीँ बल्डको याद आयो । मन अमिलो बनाउदै वेला वेलामा त्यही गुरुतिरै आँखा लगाउन थाल्यो ।

छमारीवाट काठे साघु तर्‍यो । त्यसपछि उकालो लाग्यो । उकालो लाग्दा त्यो गोरुको निधारमा पनि सेतो देखियो ठ्याक्कै तारे बल्डको जस्तो । बल्ड सरासर आयो र गाउँ भित्र पस्यो । अगाडी भिमकाय पहाड भएकाले कसको घरमा गयो नरमानले खुट्याउन सकेन ।

साझ नरमान मुखियाले गाईहरु लिएर आउने वेला गाउँ धुपले मगमगाईरहेको थियो । कुखुरा भुत्ला पोलेको गन्ध आइरहेको थियो । गाउँको रौनक भिन्नै थियो । फाल्गुन महिनामा निस्केका गाईहरु भङ भित्र भित्र्याउने मंसिर महिनाको पहिलो साता थियो ।

मुखिया बुढाले गाईहरु भङ भित्र भित्र्याउनु भन्दा पहिलै एउटा तारे बल्द भित्रिसकेको थियो । त्यो तीन बर्ष पहिले बेचिसकेको त्यही घले तारे बल्द थियो । मुखियालाई भुलिसकेको रहेनछ । उसलाई देख्ने बित्तिकै करायो । मुखियाका आँखाहरु रसाए । अब चाहिँ डोल्पाली आए पनि भलै त्यो घले नै किन नहोस् तारे बल्ड नदिने कसम खायो । त्यसपछि भङको दैलोमा धुप बाल्यो र रातो भालेको बलि चढायो । ढोकाको शिरमा गोवर माथी भालेका प्वाँखहरु कोपेर सबै गाई गोरुहरुलाई भङमा भित्र्यायो ।

नभन्दै पर्सि पल्ट हातमा दाम्लो लिएर डोल्पाली आइपुग्यो । तब नरमान बुढाले अडान लियो कि अब कुनै हालतमा तारे बल्द दिइने छैन । तब मुखियाले तारे बल्द बेच्दा लिएको रुपियाँ फिर्ता गर्‍यो । रित्तो दाम्लो लिएर डोल्पाली फर्कियो । बूढो भएर आफ्नै कालगतिले नमर्दासम्म नरमान मुखियाले कहिलै त्यो तारे बल्दलाई बेचेन ।

(भाग्यमानी बल्द । बेचिए पनि फर्किन पाए । मुखिया पनि दयालु थिए र पो तारे बल्दले जिवनभरी सुखले बिताउन पाए । तर हामी नेपाली कहाँ छौँ र भाग्यमानी ? कहिले मलेसियामा बेचिन्छौँ, घरको माया लाग्छ । फर्किन्छौँ ।कहिले साउदी, कहिले कतार, कहिले कुबेत । कहिले अलि ठूलो दाम आउने कोरियामा बेचिन्छौँ । अहिले जापानमा बेच्ने कोसिस चलिरहेको छ ।)

२०७५ माघ २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको