सत्ताको विकल्प र क्रान्तिकारी कार्यभार


सुमनसिंह पौडेल ।

यतिबेला मुलुक एक प्रकारको राजनीतिक अन्योलको उत्कर्ष बिन्दुमा छ । १० बर्से जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायत आन्दोलनहरुको मर्मबोधसहित ती आन्दोलनहरुले दिएका जनादेशलाई संस्थागत गर्ने गरी जारी गरिएको भनिएको संविधान लगभग असफल भइसकेको छ । त्यसको कार्यान्वयन गर्ने जिम्मा पाएका संसदवादी दल र नेताहरु भ्रष्ट, पतीत बन्न पुगेको स्थिति छ । सरकार, अदालत, कर्मचारी, सुरक्षाकर्मीहरुसमेत भ्रष्टाचारमा लिप्त बनिरहेका छन् । जनता र राष्ट्रको हितमा झिनो कामसमेत हुनसकेको छैन । सोही कारण राष्ट्रको समग्र परिवेश धेरै ठूलो निराशासहित अनिर्णयको भुङ्ग्रोमा पिल्सिन पुगेको छ ।

नेपाली जनताले दिएको आमूल परिवर्तनको जनादेशको मुख्य स्रोत जनयुद्ध हो । वार्ताको प्रक्रियामार्फत प्रचण्डलगायत तत्कालीन मुख्य नेतृत्वले बलिदानीसहित शिखर चुमिरहेको जनयुद्धलाई प्रतिक्रियावादीहरुको स्वार्थसँग गिजोलिदिए । शान्तिप्रक्रिया नामको षड्यन्त्रमार्फत संविधानसभाको निर्वाचनमा जनताहरुलाई सहभागी गराइयो । जनयुद्धको उत्साहपूर्ण जागरण र आशातीत मनोविज्ञान निवार्चनको प्रक्रियामा समेत माओवादीलाई सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाएर अभिव्यक्त भयो । त्यसपछि विचारमा, आचरण–व्यवहारमा, प्रतिबद्धतामा माओवादी नेताहरु ध्वस्त बन्दै गएको दुःखद् पाटो छ । संसद्मा माओवादीहरुको बहुमत र सडक तताउन सक्ने माओवादी जागरण र मनोविज्ञान जिउँदो रहेसम्म संविधान निर्माण गरिएन । पटकपटक समयसीमा सार्दै पहिलो संविधानसभा विघटन गरियो । ताजा जनादेशमा जाने नाममा पुनः दोस्रोपटक संविधानसभा निर्वाचनको घोषणा गरियो । निर्वाचन भयो र त्यस निर्वाचनमार्फत प्रतिक्रियावादी दलालहरु सत्तामा आउने स्थिति बन्यो । संविधान उनीहरुको आफ्नै योजना र चाहनामा निर्माण गरे ।

यो स्वीकार्न सकिने विषय थिएन । त्यसैले मोहन वैद्यको नेतृत्वमा रहेको तत्कालीन ‘ड्यास’ माओवादीले बहिष्कारको नीति लियो र निर्वाचन बहिष्कारमा सहभागी बन्यो । दलालहरुमार्फत जनतालाई झुक्याएर विभिन्न प्रकारका षड्यन्त्रहरु भइरहे । त्यसै बेलादेखि प्रतिक्रान्तिकारी र संशोधनवादीहरुको उग्र षड्यन्त्रलाई चिर्दै क्रान्तिकारी प्रवृत्ति मूर्त, ठोस र सङ्गठित रूपमा अगाडि आयो । आज यही क्रान्तिकारी प्रवृत्ति वयस्क बनेर संशोधनवादी भ्रमको चिरफार गर्दै दलाल पुँजीवादीहरुको शोषणको मखमली शिविरमा व्यापक गोलाबारी गरिरहेको छ । यही क्रान्तिकारी प्रवृत्ति यतिबेला श्रमजीवी मजदुर, किसान, महिला, आदिवासी जनजाति, देशभक्त, राष्ट्रिय पुँजीपति वर्गलगायत उत्पीडितहरुको भरोसा र विश्वास बनेर उभिन पुगेको छ । यो आज नेपाल कम्युनिस्ट पार्टीका नाममा एकीकृत जनक्रान्ति कार्यदिशा निर्माण गरेर अगाडि बढिरहेको छ । यसको नेतृत्व महासचिव कमरेड विप्लवले गर्नुभएको छ ।

यतिबेलाको राष्ट्रिय निराशा र अत्यासलाग्दो परिवेश एकाएक उत्पन्न भएको होइन । त्यसैले यसको पृष्ठभूमितर्फ फर्किएर माओवादी आन्दोलनको उठान र त्यसको परिचालन, जनतामा आएको सुनामी जागरण, संसद्वादीहरुसँगको वार्ताप्रक्रिया, संविधानसभाको निर्वाचन, माओवादी नेताहरुको पतन, धोका र गद्दारी, दोस्रो संविधानसभा, संविधान जारी हुँदा र सबै हिसाबले प्रतिक्रान्ति र आत्मसमर्पणसम्म खोतल्नै पर्छ । यसो हुनाले प्रतिक्रियावादी दलालहरुको हातमा सत्ता सुम्पिएर दलाली गर्न पुगेका माओवादी नेताहरु, सामन्ती व्यवस्था मिल्काएर गणतन्त्रनामक भ्रम सञ्चालन गर्न सफल एमाले–काङ्ग्रेसका नेताहरु र विदेशीहरुले संसद्वादीहरुका बीचमा समीकरण परिचालन गर्न तयार गरेको मधेसवादी झुण्डहरुको बेइमानीका कारण आज मुलुकले यो दुर्दशा भोग्नु परिरहेको छ । यद्यपि नेपाली जनताका बीचमा आमूल परिवर्तनको चाहना, बलिदानीको मूल्य र प्रतिरोधी आवेग भने सेलाएको छैन, मरेको छैन । अब यही मनोविज्ञानको वरिपरिबाटै नेपाली जनताले समाधान पाउनुपर्छ, खोजिनु पर्छ ।

हाम्रो पार्टीले भनेको छ– नेपालको सत्ता दलाल पुँजीवादीहरुको हो । सत्ताको मुख्य चरित्र के हुन्छ भन्नेले त्यसका शाखाप्रशाखा र संयन्त्रहरुका व्यवहार र चरित्र निर्धारण गर्छ । यतिबेला तल्ला सामान्य स्तरका सत्तासंयन्त्रहरुले पनि दलाली, भ्रष्टाचार, कालोबजारी, माफियागिरी, ठगीजस्ता असामाजिक, जनविरोधी, गैरकानुनी व्यवहारको नेतृत्व गरिरहेका छन् । सबै तहमा यही छ । त्यो प्रधानमन्त्री तहसम्म देखिन्छ । त्यसैले यो असामाजिक, जनविरोधी सत्ताविरुद्ध नागरिकहरु विस्फोट हुने स्थिति बनेको छ ।

यो सामाजिक सञ्जाल हुँदै सडक र सरकारी दरबार वरपरसम्म फैलिएको छ । विश्लेषकहरु, बुद्धिजीवीहरु, युवाहरु, अधिकारकर्मीहरु, कलाकारहरु, कानुनविद्, व्यवसायी सबै आआफ्नो स्तरबाट वर्तमान दलाल सत्ताविरुद्ध खबरदारी गरिरहेका छन्, बोलिरहेका छन् । सत्ताभन्दा बाहिर त यो छँदैछ, भित्रै पनि एउटा स्तरका कर्मचारी र नेताहरु नै यो सत्ताको विकल्पका बारेमा बहस गरिरहेका छन् । घुमाउरो माध्यमबाट छलफलमा सहभागी भइरहेका छन् । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै हिसाबले अब यो दलाल पुँजीवादी संसदीय सत्ताको विकल्पमा नगइहुन्न भन्ने अवस्थामा मुलुक पुगेको छ । यस्तो अवस्थामा चर्चामा रहेका विकल्पहरु केके हुन् ? यसको सम्भाव्यता कति हो ? यो मुलुकलाई वास्तवमै स्वाधीन बनाउँदै समृद्धिमा लैजान बाधक शक्ति केके छन् ? यस विषयमा यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ ।

(क) क्रान्तिकारी विकल्प

दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण पैदा भएको सामाजिक सङ्कट उत्कर्षमा पुगेपछि अब यसको विकल्प के हुन सक्छ भन्नेबारे बहस हुनु स्वाभाविक हो । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताको विकल्प दिँदै त्यसको प्राप्तिका निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको छ । सोहीअनुरूप ने.क.पा. सङ्घर्षमा छ । यतिबेला वर्तमान दलाल सत्ताकोे विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने विषय स्पष्ट भएको छ । विश्वमा हावी भएको निगम पुँजीवाद र यसका आम नकारात्मक प्रभावहरुले पुँजीवादको नाङ्गो विकृत पक्षलाई विश्वव्यापीकरण गरिदिएको छ । त्यसैले समाज विज्ञानमा पुँजीवादी दुनियाँको नकारात्मकताबाट उन्मुक्ति पाउनलाई वैज्ञानिक समाजवाद साम्यवादमा प्रवेश गर्नुपर्ने अनिवार्यताले नेपालमा वैज्ञानिक समाजवाद नै वर्तमान सत्तााको विकल्प हो भन्ने अधार प्रसस्त भएको छ र त्यो स्पष्ट छ । सोही कारण वैज्ञानिक समाजवादी सत्ता नै वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताको विकल्प हो भन्ने कुरा स्थापित बनिसकेको छ ।

वैज्ञानिक समाजवादका विषयमा ठूलै बहस चलिरहेको छ । नेपालका वाम बुद्धिजीवी, विश्लेषक, माक्र्सवादी चिन्तक सबैका बीचमा यो स्वीकार्य विषय बनेको छ । तर त्यसको प्राप्तिका निम्ति कस्तो कार्यदिशा अवलम्बन गर्ने, कसरी गर्ने भन्ने विषयमा भने मतभिन्नता रहेको छ । वैज्ञानिक समाजवादी सत्ता स्थापनाका सन्दर्भमा वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्प दिएर त्यसको प्राप्तिका निम्ति एकीकृत जनक्रान्ति कार्यदिशासँगै सजीव पार्टी, जनमुक्ति सेना र प्रविधिसहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टी नै अबको विकल्प हो भन्ने कुरा प्रस्ट छ ।

हामीले हे¥यौँ भने देशलाई पूर्णतः असफल बनाउने र विघटित गराउने स्थितिमा पु¥याउँदै लगेको देख्न सकिन्छ । २०७२ सालमा जारी गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था यही पछिल्ला २–३ वर्षको अन्तरालमै असफल बनेको छ । लामो युद्ध, राजनीतिक सङ्क्रमण र अढाइ सय वर्ष लामो विरासत बोकेको सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई समेत पल्टाउने राजनीतिक जागरणबाट यहाँसम्म आइपुगेको नेपाली समाज र आममनोविज्ञान स्वाभाविक रूपमा वर्तमान संविधान र सत्ताप्रति केही आश्वस्त थियो । तर वर्तमान सत्ताले जनअपेक्षाविपरीतका कामहरुलाई निरन्तरता दियो । त्यसैकारण जनता पूर्ण रूपमा निराश बन्दै यसको विपक्षमा उभिने स्थिति आयो । पुराना सडेगलेका नेतृत्व, विचार र त्यहाँभित्रको उत्साह पट्ट्यारलाग्दो र निराशाजनक छ । उनीहरुका कारण देश अगाडि बढ्न सकेन । त्यसैले त्यहाँबाट अब नेपाली जनताले आशा राख्न सक्दैनन् ।

त्यसैले यतिबेला युवा नेतृत्व, क्रान्तिकारी विचार र संस्कारको केन्द्रीकरण, जनमुक्ति सेनाहरुको लामबद्ध आकार, दृढ र प्रतिबद्ध युवाहरुको चलायमान पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीमा भएका कारण नेपाल कम्युनिस्ट पार्टी नै अबको विकल्प हो । दलाल पुँजीवादलाई परास्त गरेर त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने अनिवार्यता र यस कुरालाई व्यवहारमा लागू गर्नसक्ने भौतिक र वैचारिक सक्षमता नेपाल कम्युनिस्ट पार्टीसँग मात्र भएकाले विकल्प नेपाल कम्युनिस्ट पार्टी नै हो ।

(ख) यथास्थितिवादी विकल्प

दलाल पुँजीवादी संसदीय व्यवस्था र संसद्वादी दलहरुलाई यथास्थितिवादी शक्तिका रूपमा लिनुपर्ने हुन्छ । संसद्वादी दलहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान २०७२ लाई यही नै उत्तम व्यवस्था हो र यो संविधानलाई संसारकै उत्कृष्ट संविधान भनिरहेका छन् । तर उनीहरुले भनेको र व्याख्या गरेको आधारमा यसको कार्यान्वयन पक्षसँगै यसले नेपाली जनतालाई प्रत्याभूत गराउनुपर्ने अधिकारको पाटोलाई हे¥यो भने शून्य प्रगतिमा छ । क्रान्तिकारी विचार र सङ्घर्षको माध्यमबाट वर्तमान सत्ताको चास्नी चाट्न पुगेका संशोधनवादी कम्युनिस्टहरु सारतः दलाल पुँजीवादी सत्ताको घोडा बनिरहेका छन् । उनीहरुबाट जनताले झिनो आशासमेत गर्न सक्ने स्थिति छैन । लामो राजनीतिक सङ्क्रमण, युद्ध र अनेकौँ घात–प्रतिघात सहेर यो अवस्थासम्म आइपुगेको नेपाली समाज यथास्थितिमा रहन चाहँदैन र यथास्थितिबाट जनताका समस्याहरु हल हुन्छन् भन्ने कुनै आधार छैन । वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थामार्फत अब देश एक कदम पनि अगाडि बढ्न सक्दैन । त्यसकारण यथास्थितिवादी धार अब यो मुलुकको सङ्कटको समाधान दिन सक्ने विकल्प होइन ।

(ग) प्रतिगामी विकल्प

प्रतिगामी धार अर्थात् अहिलेको अवस्थाबाट मुलुकलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने विचार, समूह र त्यस्ता झुण्डलाई प्रतिगामी धारका रूपमा लिनु पर्छ । नेपालमा प्रतिगामी धारका रूपमा लिँदा अहिलेको सन्दर्भमा राजसंस्थाको पुनर्बहाली गर्नुपर्ने तर्कसहित राजनीतिक गतिविधि गरिरहेकाहरुलाई हेर्नुपर्ने हुन्छ । के नेपालमा परम्परागत पारिवारिक सामन्ती राजसंस्थाको पुनर्बहाली सम्भव छ त ? त्यसको सम्भावना थोरै पनि छैन किनकि अब देश पुरानै अवस्थामा फर्कन सक्दैन ।

देशलाई अगाडि बढाउन आवश्यक राजनीतिक दृष्टिकोणसहितको नीति, कार्यक्रम र योजना चाहिन्छ । प्रतिगामी शक्तिहरुसँग त्यो छैन । उनीहरु परम्परागत पारिवारिक संस्थालाई अगाडि सार्न चाहन्छन् । वर्तमान दलाल सत्ताको सङ्कटको कारण निराश बनेका नेपाली जनता र विकल्प के हुनसक्छ भन्ने बहस तीव्र बनिरहेको बेला राजसंस्थाको विषयलाई चर्चामा ल्याउनु र विकल्पका रूपमा राजालाई अगाडि देखाउनु प्रतिगामीहरुको स्वाभाविक प्रतिक्रिया भए पनि त्यो सम्भव देखिन्न । नेपालमा अब प्रतिगमन सम्भव छैन र यो विकल्प पनि हुन सक्दैन ।

(घ) निकट सम्भावना

वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताका कारण पैदा भएको सामाजिक सङ्कटको समाधान यथास्थितिमा रहेर सम्भव छैन भन्ने विषय स्पष्ट छ । त्यसो हुँदा यसको विकल्प अनिवार्य छ । अब यो व्यवस्थालाई खारेज गरेर नयाँ व्यवस्थामा प्रवेश गर्नुपर्छ भन्ने बुझाइप्रति आममा एकरूपता कायम हुँदै गएको छ । हाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नाममा सञ्चालित दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा अर्को व्यवस्था स्थापना गर्ने कुरा अनिवार्यजस्तै बनेको छ ।

यसलाई सम्भावनाको कोणबाट हेर्दा अब यो वर्तमान सत्ताको अन्त्य अकाट्य सत्यजस्तै बनेको छ । वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने कुरा नै वस्तुवादी हुने र त्यहाँबाट मात्र देशलाई अगाडि बढाउन सकिन्छ भन्ने तथ्यप्रति अब कुनै विवाद छैन । यद्यपि सत्ता सङ्कटका कारण उत्पन्न विकल्पका सम्भावनाहरुबारे फरकफरक धारणाहरु आएका छन् । तथापि नेपाली जनताको आममनोविज्ञान र उक्त मनोविज्ञानलाई सम्बोधन गर्नसक्ने वैज्ञानिक समाजवादको कार्यक्रम लिएर सङ्घर्ष गरिरहेको पार्टी नै विकल्प हुनेछ । तसर्थ आगामी सम्भावनालाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी नै वर्तमान सत्ताको विकल्प हो ।

(ङ) आगामी भूमिका

हामीले हाम्रो आगामी भूमिकालाई ध्यान दिँदा मुख्य कुरा वर्तमान सत्ताको सङ्कट, त्यसको विकल्पका रूपमा अगाडि आउन खोजेका विचार र शक्तिहरुको पहिचान, हाम्रो पार्टीप्रति सञ्चालित षड्यन्त्रका विषयमा जानकारी र त्यसका आधारमा हामीले खेल्नुपर्ने भूमिकालाई निक्र्योल गर्नुपर्छ । हाम्रो पार्टी स्थापना हुनु भनेकै दलाल पुँजीवादी संसदीय सत्ताको अन्त्यको सङ्केत थियो किनकि हामीले वैज्ञानिक समाजवादी सत्ताको स्थापना गरिछाड्ने सङ्कल्प गरेका थियौँ । सत्तासङ्कटले पैदा गरेको विकल्प चाहने मनोविज्ञान र त्यही मेसोमा जनताका बीचमा जबर्जस्त रूपमा उभिएको, स्थापित भएको हाम्रो पार्टीतिर जनताको विश्वास र भरोसा बढ्न थालेपछि संसद्वादीहरु अताल्लिन पुगे ।

उनीहरुले हाम्रो पार्टीलाई आफ्नो अन्त्य गर्ने शक्तिका रूपमा हेर्न र बुझ्न थाले जसकारण आत्तिँदै हामीमाथि प्रतिबन्ध लगाएर हत्या, गिरफ्तारीलाई तीव्र बनाए । यतिबेला राज्यदमन तीव्र छ । नागरिक हत्यामा राज्य उत्रिएको छ । गाउँगाउँमा राज्यआतङ्क छ । जनताको पार्टीलाई प्रतिबन्धित गरेर दलालहरुको वृत्तमा क्रान्तिकारी विकल्पलाई विषयान्तर गर्न ठूलै कसरत भइरहेको स्पष्ट देख्न सकिन्छ । पुँजीवादी दलालहरू पनि यथास्थितिबाट नेपालमा सम्भव देखिरहेका छैनन् । बिस्तारै बढ्दै गएको जनअसन्तोष नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनमा मिसिने र ने.क.पा. ले पनि सोहीअनुसारको कार्यदिशा बनाएको बुझेका दलालहरु कसरी हुन्छ अर्को केही नयाँ विकल्प खडा गरेर आफ्नो सत्ताको रक्षा गर्न कम्मर कसेर लागेका छन् ।

हामीले एउटा प्रसङ्गलाई स्मरण गर्नैपर्ने हुन्छ– जतिबेला भारतमा इस्टइन्डिया कम्पनी भारतमा आफ्नो शासन चलाइरहेको थियो, त्यतिबेला भारतमा बेलायतीहरुले भारतीय स्वाधीनतामाथि गरेको अतिक्रमणका विरुद्ध त्यसबेलाका भारतीय नौजवानहरुले विद्रोह गरे । भगतसिंह, राजगुरु, सुखदेव, सुवासचन्द्र बोसहरुले कम्युनिस्ट क्रान्त्ीिकारी विचार र दृष्टिकोणसहित आन्दोलन गरे । संसद् चलिरहेको समयमा भित्रै गएर बम विस्फोट गराए । गोराहरुविरुद्ध भौतिक युद्ध लडे । युवाहरुलाई सङ्गठित गरे । सिङ्गो भारतमा विशाल जागरण पैदा भयो । तत्कालीन पुँजीवादीहरुको प्रबुद्ध समूह भारतमा कम्युनिस्टहरुले समाजवादी सत्ता स्थापना नगरून् भनेर जोरजुलुम योजना बनाइरहेको थियो ।

विश्वभर आएको समाजवादी जागरणको प्रभावका कारण भारतमा क्रान्तिका आधारहरु बनिरहेको सन्दर्भ थियो । त्यसबेला मोहनदास करमचन्द गान्धी अफ्रिकाबाट फर्किएर शान्तिपूर्ण आन्दोलन भनेर पुँजीवादी दृष्टिकोणसहित सङ्घर्ष सञ्चालन गरे । उनलाई पुँजीवादीहरुको सहयोग प्राप्त भयो । क्रान्तिकारी जागरण, उत्साह गान्धीको आन्दोलनतिर मोडियो । क्रान्तिकारी पार्टी र जागरण सुषुप्त बन्न पुग्यो । इस्ट इन्डिया कम्पनीले भारत छाड्यो तर पुँजीवादीहरु आफ्नो योजनालाई सफल पार्न सफल भए । भारतीय जनता पुँजीवादी शोषणबाट ग्रसित बनिरहे । यसरी हेर्दा पुँजीवादीहरु आफ्नो विरोधी विचार, आन्दोलनलाई ध्वस्त गर्न लागिपरिरहेका हुन्छन् ।

यतिबेला हामीले नेपालमा विकसित घटनाक्रमहरुलाई हेर्दा छिमेकी मुलुकको यो प्रसङ्गलाई पनि हेर्नुपर्ने हुन्छ । यतिबेला नेपालमा सत्ता सङ्कटका कारण उत्पन्न विकल्पको विषयलाई लिएर ठूलो चर्चापरिचर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी विकल्प हो भन्ने विषय विचार र आन्दोलनका दृष्टिकोणले पुष्टि हुँदै गएको छ । राष्ट्रघात, जनघात र प्रतिक्रान्तिविरुद्ध उठेको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने जागरण ने.क.पा. का कारण पैदा भइरहेको सन्दर्भमा दलाल पुँजीवादी संसद्वादीहरु ने.क.पा. विरुद्ध योजनाबद्ध लागिरहेका छन् । लाग्नसक्ने सम्भावना उत्तिकै हुन्छ । हामीले पछिल्लो अवस्थालाई हेर्ने हो भने यतिबेला सत्ताविरुद्धको मनोविज्ञान सडकमा पोखिइरहेको छ । पुँजीवादीहरुले हाम्रो आन्दोलनको प्रभाव, नेपाली जनताको मनोविज्ञान र जागरणलाई आफूअनुकुलको विकल्पतिर सोझ्याउन खेल्नसक्ने सम्भावनातर्फ पनि उत्तिकै सचेत हुन जरुरी छ ।

१९–२० औँ शताब्दीतिर एक देशले अर्को देशमा हस्तक्षेप, अतिक्रमण गर्न भौतिक रूपमा सेनाको उपस्थिति गराएर हस्तक्षेप गरिन्थ्यो । तर अहिले पुँजीवादीहरुले आफ्नो सैन्य कूटनीतिमा व्यापक फेरबदल गरेका छन् । नेपालमा यतिबेला उद्योग, व्यापारमा ठूलठूलो लगानी गरेर र नेपालको साधनस्रोतमाथि कब्जा जमाएर विदेशीहरुले आफ्नो उपस्थिति कायम राखेका छन् । नेपालमा भारतीयहरुको व्यापारमा प्रभाव, एनजीओ, आईएनजीओहरु, विभिन्न गैरसरकारी संस्थाहरुका नाममा आफ्नो हस्तक्षेपलाई कायम राखिरहेका छन् । नेपालको सरकारी निकायमै पनि विदेशी गुप्तचरहरुका निम्ति सूचना दिने र उनीहरुअनुकूलको काम गरिदिनेहरु रहेका छन् ।

सञ्चारहरुमा पनि विदेशी लगानी रहनु र नेपालका धेरै सञ्चारहरुमा वैदेशिक प्रभाव कायम रहेको स्थिति छ । धर्मका नाममा विभिन्न समूहहरु, संस्थानहरु खडा गरेर आफ्ना गतिविधिहरु गरिरहेका छन् । त्यसो हुँदा पुँजीवादी स्वार्थका निमित्त काम गर्नेहरुको ठूलो जालो नेपालमा छ र त्यो कुनैकुनै रूपमा समाजमा सामाजिक प्राधिकार निर्माण गरेर रहेको छ । उनीहरुलाई पुँजीवादीहरुले जतिबेला पनि प्रयोग गर्ने स्थिति छ । ती सबै संयन्त्रहरु क्रान्तिको विरोधमा प्रयोगमा आउने स्थिति छ । त्यसैले हामीले यो जालोलाई पनि विभिन्न तहबाट भत्काउँदै लैजानु पर्छ । हामीले ती सबै प्रवृत्तिहरुलाई ध्वस्त गरेर हाम्रो क्रान्तिकारी आन्दोलनलाई हाबी गराउनु पर्छ ।

क्रान्तिका विरुद्ध लाग्ने सबैखाले प्रवृत्ति, पात्र र समूह सङ्गठनविरुद्ध हामीले सशक्त भएर लाग्न जरुरी छ । क्रान्तिका पक्षमा निर्माण हुँदै गएको वातावरणविरुद्ध विभिन्न प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । विभिन्नखाले विचार र विकल्पहरु अगाडि सारेर एकीकृत जनक्रान्तिको मूल पक्षविरुद्ध हमला गर्ने र क्रान्तिलाई कमजोर पार्नसक्ने विषयप्रति सचेत रहँदै हाम्रो पार्टीले अगाडि सारेको विचार, आन्दोलनलाई अगाडि बढाउन जरुरी छ । विकल्प नेपाल कम्युनिस्ट पार्टी नै भएका कारण जनतालाई विश्वस्त बनाएर दलाल पुँजीवादी सत्ताका सबै षड्यन्त्रलाई ध्वस्त गर्न जरुरी छ ।

१८ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको