कात्तिक १८, काठमाडौं । प्रदेश प्रमुख सिफारिसप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट राखेका छन् ।
प्रदेश प्रमुख सिफारिस एकलौटी र पूर्वाग्रहप्रेरित भएको भन्दै नेता नेपालले लिखित असहमति राखेको नेता नेपाल निकट स्रोतले बताएको छ ।
नेता नेपालले बैठकका निर्णयप्रति लिखित असहमति राखेको यो तेस्रो पटक हो । यसअघि पार्टीको प्रदेश इन्चार्ज तोक्ने गत साउन ३१ गतेको निर्णयका विरुद्ध पनि नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।
सोमबार बसेको पार्टी सचिवालय बैठक सातवटै प्रदेश प्रमुख सिफारिस गरेको थियो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरू पदमुक्त गरेपछि नयाँ नियुक्तिका लागि सचिवालयले झापाका विष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी, सिरहाका धर्मनाथ यादव, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, कञ्चनपुरका गोविन्द कलौनीलाई सिफारिस गरेको थियो ।
यस्तै सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको छ । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ ।
अब उनीहरुलाई राष्ट्रपति बिद्या देवी भण्डारीले नियुक्त गर्नेछिन ।
प्रतिक्रिया दिनुहोस