भदौ १८, दाङ । दाङको घोराही–तुलसीपुर सडकलाई चारलेन बनाउने प्रक्रिया अघि बढेको छ । घोराहीको बबई नदीदेखि तुलसीपुरसम्म चारलेन बनाउनका लागि अहिले सर्वे भईरहेको छ ।
तुलसीपुर-घोराही सडकखण्ड । तस्बिर: पोष्टपाटी
उक्त सडक खण्ड चारलेन निर्माण कार्यको अनुगमन गर्ने जिम्मा स्वीलटेष्ट कन्सलटेन्टले पाएको छ । सोही कार्यालयका ईन्जिनियर आशिष कडेँलका अनुसार अहिले सर्वे तथा बीचबीचमा टाँचा लगाउने, निर्माण स्थलहरुमा संरचनाको अबस्था बुझ्ने काम भईरहेको छ । उक्त कार्य पूरा हुन साथ निर्माण कार्य सुरु हुनेछ ।
‘अहिले सडकबीचमा सर्वे भईरहेको छ, भने बीचबीचमा टाँचा लगाउने कार्य भईरहेको छ’ उनले भने ‘सर्वे र टाँचा लगाउने कार्य पूरा हुन साथ निर्माणको काम अघि बढ्छ ।’
सर्वे तथा टाँचा लगाउने काम १/२ महिनाभित्र सकिने गरि अघि बढेको समेत उनको भनाई छ । ३० महिनाभित्र काम सक्ने गरि ठेकेदार कम्पनीसंग सम्झौता भएको उनले बताए । साथै अहिले आवश्यक ठाउँहरुमा सूचना बोर्ड समेत राखिसकिएको उनको भनाई छ ।
कतै चारलेन, कतै दुईलेन
चारलेन भनिए पनि, पहिलेको डिपिआर अनुसार कुनै स्थानमा चारलेन र कुनै स्थानमा दुईलेन हुने ईन्जिनियर कडेँलले बताए । उनका अनुसार पहिलेको डिपिआर अनुसार बबई नदीदेखि घोराहीसम्म दुईलेनमात्रै बन्ने छ । तर त्यस स्थानमा चारलेन बनाउनका लागि थप बजेट लाग्ने उनको भनाई छ । बजार क्षेत्रमा पनि दुईलेन नै बन्ने उनले बताए । सोही सडकमा १५ मिटर दाँया, १५ मिटर बाँया तथा दुई मिटर डिभाईडर हुनेछ ।
उक्त सडक चारलेन बनाउनका लागि भारतीय तथ्य ईन्जिनियरिङ कम्पनीसँग सम्झौता भएको छ । चारलेन बनाउनका लागि एक अर्व ४४ करोड अनुमान गरिएपनि त्यो रकम बढ्न सक्ने उनको भनाई छ ।
भारतको ईम्पोर्ट एक्सपोर्ट बंैकको लगानीमा सडक चारलेन हुन लागेको हो । आईसिवी प्रणालीबाट सडक निर्माण हुनेछ । सडक फराकिलो नहुँदा दुर्घटना बढेको भन्दै निर्माण पूरा भएपछि दुर्घटना न्यूनिकरण हुने अपेक्षा लिईएको छ । स्रोत: तुलसीपुरअनलाइन
प्रतिक्रिया दिनुहोस