साउन १९, काठमाडौं । यूएनपार्क परिसरभित्र ज्वागलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ‘पम्प स्टेसन’ बनाएको छ।
स्टेसनले जमिनमुनिको पानी तानेर शुद्धीकरण गरी उपभोक्ताको घरमा पठाउँछ। फलामको मात्रा धेरै भएकाले पानी पिउन योग्य छैन। तैपनि उपभोक्ताकहाँ पानी पठाउनै पर्ने बाध्यता छ। दैनिक कम्तीमा दुई घण्टा पानी वितरण गरिन्छ। धाराकै पाइपबाट पठाउने पानी घरायसी प्रयोजनका लागि मात्र हुने केयूकेएल बताउँछ। घरायसी प्रयोजनका लागि मात्र भए पनि पैसा भने खानेपानीकै सरह तिर्नुपर्छ।
केयूकेएल ललितपुर शाखाका जनसम्पर्क अधिकृत चिरञ्जीवी राउतका अनुसार ललितपुरमा दैनिक ९० लाख लिटर पानी बाँडिन्छ। तर यो मागभन्दा अत्यन्त थोरै हो। ललितपुरमा मात्र अझै १३ प्रतिशत जनता खानेपानी सुविधाबाट वञ्चित छन्। त्यसैले सर्वसाधारण वैकल्पिक स्रोतका रूपमा ट्यांकरको पानी, ढुंगेधारा, इनारमा निर्भर छन्।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले यस वर्ष पानीका १ सय २ नमुना परीक्षण गरेको थियो। तीमध्ये ५४ वटा उपयोग गर्न नमिल्ने थिए। स्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन शंकर पौडेलका अनुसार ट्यांकर, ढुंगेधारा, इनार सबैतिर कोलीफर्म भेटिएको हो। ‘पानीमा दिसाजन्य किटाणु भेटिनु नै कोलीफर्म हुनु हो’, पौडेलले भने, ‘मानिस र जनावरको दिसा पानीमा मिसिएपछि कोलीफर्मका जीवाणु देखिन्छन्।’
दूषित पानीका कारण छाला, फोक्सो, मिर्गौला, मूत्रथैलीको क्यान्सर, स्नायु प्रणालीमा असर, विस्मृति, निद्रा नलाग्ने, हात काम्ने, टाउको दुख्ने, दाँतमा दाग, मुटु र स्नायुमा असर पर्नेलगायत समस्या हुन सक्छन्।
धेरै मानिस ढुंगेधारालाई पानीको मुख्य स्रोत मान्छन्। वलखु चिःबहालका ७३ वर्षीय बाबुकाजी महर्जन मंगलबजारस्थित पाटन दरबार स्वायरको ढुंगेधाराको पानी प्रयोग गर्छन्। त्यसको पानी सबैभन्दा चोखो र शुद्ध मान्छन्। तर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ढुंगेधाराको पानीमा अत्यधिक मात्रामा कोलीफर्म भेटिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
विशेषगरी पानीका मुहानकेन्द्रित सर्वेक्षणमा दर्जनैाँ स्रोतको पानी परीक्षण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस