चैत २१, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ जना न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
गत चैत १८ गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्वमहान्यायाधीवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधिश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रस्तावित सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिले १० दिनभित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ ।
संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस