क्षति प्रारम्भिक विवरण, दुई हजार घर क्षतिग्रस्त


चैत २१, वीरगञ्ज । बारा–पर्सामा असिनापानीसहित आइताबार आएको विनाशकारी हावाहुरीमा भएको धनजनको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा कन्हैयालाल केसरी र शिवशङ्कर मिश्रले लेखेका छन् । क्षतिको प्रारम्भिक विवरण भने तयार भएको छ । बारा र पर्सामा दुई हजारभन्दा बढी घर बस्न नहुने गरी पूर्ण क्षति भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृह मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार बारामा मात्र हावाहुरीका कारण एक हजार ८९५ घरमा पूर्ण क्षति पुगेको छ । यसैगरी ९५५ घरमा भने आंशिक क्षति भएको छ । हावाहुरीले तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकीमा समेत क्षति पु¥याएको छ । पर्सामा भने ४३७ घर क्षतिग्रस्त भएका छन् ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको परवानीपुरको वडा नम्बर–४ का चैनपुर, शिवपुर, रामटोल, बिर्ताटोल रहेका छन् । त्यहाँ ५४८ घरमध्ये तीन सय पूर्ण क्षति र २४८ आंशिक क्षति पुगेको हो । यसैगरी सुर्वण गाउँपालिकाको वडा नम्बर १, ४, ५, ८ मा गरी ४३४ घरमा क्षति भएको छ । पूर्ण क्षति २६१ र १७३ घरमा आंशिक क्षति भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगर तथा १८ भरवलिया र मनगढवा टोलमागरी २३२ कुलमध्ये १५७ पूर्ण क्षति र ७५ आंशिक क्षति भएको छ । यसैगरी फेटा गाउँपालिकामा ९६ घर भत्केका छन् । ६६ पूर्ण तथा ३१ आंशिक क्षति भएको छ । प्रसौनी गाउँपालिकामा १९४ घरमा क्षति भएको छ, जसमा ६८ पूर्ण र १२६ आंशिक क्षति पुगेको छ ।

यस्तै महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाईमा ८६ घरमा क्षति भएको छ । जसमा २९ पूर्ण र ५७ घर आंशिक रुपमा ध्वस्त भएको छ ।
पचरौता नगरपालिका वडा नम्बर २, ७ मा १७९ घरमा क्षति भएको छ । १९ घरमा पूर्ण र १६० घरमा आंशिक क्षति पुगेको छ । यसैगरी देवताल गाउँपालिका ७ रमपूर्वा टोलमा १२५ घरमा क्षति भएको छ । जसमा ४० पूर्ण र ८५ आंशिक रुपमा क्षति भएको छ ।

हावाहुरीका कारण हालसम्म बारामा २७ जनाले ज्यान गएको छ । जसमा १० पुरुष, ११ महिला, तीन बालक र चार बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ जना नेपाली तथा चार जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो ।

प्रजिअ पौडेलले व्यापक भएकोले पूर्ण विवरण सङ्कलन गर्न केही समय लाग्ने भएको बताउँदै घटनामा परी चौपाया, अन्नबाली भौतिक संरचना तथा अन्य विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार तत्काल अस्थायी बासस्थलको रुपमा २९८ थान टेन्ट वितरण गरिएको जानकारी दिनुभयो । जिल्ला आपत्कालीन कार्य सञ्चालन समिति बनाई एकद्वार प्रणालीबाट सरकारी तथा गैरसरकारी सङ्घ संस्थाबाट प्राप्त राहत सामग्री वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जनाइएको छ । प्रजिअ पौडेलले प्रशासनले व्यवस्थापन गर्दागर्दै पनि धेरैजसो सङ्घ संस्था, राजनीतिक दल तथा उनका भ्रातृ सङ्गठनले आफूले रुचाएको ठाँउमा सिधै राहत वितरण गर्ने गरिएकाले केही समस्या भइरहेको छ ।

यस्तै पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी प्रभावित वीरगञ्ज महानगरपालीकाको सुखचौना–१८ मा २२९ र जगरनाथपुरमा २०८ घरमा पूर्ण क्षति पुगेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बारा जिल्लाको तुलनामा पर्सा जिल्लामा कम क्षति भएकाले विवरण सङ्कलन गर्न केही सजिलो भएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रराज शर्माको सयोंजकत्वमा राहत सङ्कलन तथा वितरण संयोजन समिति मार्फत एकद्वार प्रणलीद्वारा राहत वितरण भइरहेको र त्यसमा खासै समस्या नरेको उहाँले जानकारी दिनुभयो । सहयोगी संस्थाबाट राहतका सामग्री वितरण व्यवस्थित नहुँदा आएका राहत पनि सबैको भागमा नपुगेको पीडितहरूको गुनासो छ ।

२१ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको