पोखरा विमानस्थललाई रबिन्द्र अधिकारीको नाममा फेर्न चाहानेहरु को हुन् ?


पृथीछक बुढा मगर । भर्खरै हेलिकप्टर दुर्घटनामा देहावसान भएका रबिन्द्र अधिकारी प्रति मेरो श्रद्धा छ । उनी प्रति मेरो कुनै ब्यक्तिगत रिसिवी छैन । पोखरा बिमानस्थललाई नाम परिवर्तन गरेर रबिन्द्र अधिकारी बिमानस्थल बनाउनुमा ब्यक्तिगत रुपमा मलाई घाटा पनि छैन । तर म यसलाई ठिक पनि भन्दिन ।

कसैले प्रश्न सोध्न सक्दछ कि बिपि राजमार्ग, महेन्द्र राजमार्ग, गिरिजाप्रसाद कोइराला र मदन भन्डारीको नाममा अस्पताल बनाउन मिल्छ भने पोखरा बिमानस्थललाई रबिन्द्र अधिकारी बिमानस्थल किन मिल्दैन ? यो सबै बकम्फुसे तर्क हो । उनिहरु युगान्तकारी पुरुषहरु थिए ।

नामै नभएका नयाँ प्रतिष्ठानहरुलाई नयाँ नाम दिन सकिन्छ । तर जसको पहिलै नाम छ त्यसलाई पुनः नामाकरण गर्न आबस्यक छैन । जन्मेपछी मान्छेको कहिलै दुईपटक न्वारान हुनसक्दैन । बिमानस्थल भएकाले पुनः न्वारान गर्न लागेको हो भने म बबुरोलाई के थाहा होस् ।

अधिकारी दाजुले खासै ठूलो सेवा गरेको ईतिहास देख्दिन । पर्यटन मन्त्री भएका हुन् । जनताको छोराछोरी मन्त्री हुन पाउछन्, त्यो नौलो कुरै होइन । रह्यो हेलिकप्टर दुर्घटनामा उनको देहावसान भयो भन्ने । हेलिकप्टर चढे र दुर्घटना भयो नत्र घोडा चढेको भए के हुन्थ्यो भन्न सकिदैन । काल हो, कुनै न कुनै रुपमा आइहाल्छ ।

मन्त्रीले मात्रै देशको लागि योगदान दिएको हुँदैन । नेपालका मन्त्रीहरुले कति योगदान गरे भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । नत्र देश कंगाल किन हुन्थ्यो ?

यदि योगदान गरेका सबैको नाममा रणबनको नाम राख्दै जाने हो भने ढाड सेकिने गरि कर तिरिरहेको जनताको नाममा के बाकी रहन्छ ?

आखिर जनताले कर नतिरेको भए, न हेलिकप्टर किन्ने पैसा जोडिन्थ्यो, न नेताले हेलिकप्टर चढ्न पाउने थिए । सानोतिनो सबैको योगदान हुन्छ ।

जिउँदो छँदा रबिन्द्र अधिकारी त्यति बलियो मान्छे थिएनन् । आफैले लगाउने कोट र घामपानी छल्नलाई छाता त अरुलाई बोकाई माग्थे । यति ठुल्ठुला वाइडबडि भएका जहाजहरु उत्रनलाई यति कम्जोर मान्छेले थेग्न सक्ला जस्तो मलाई लाग्दैन ।

वाइड बडीको कुरा गर्दा चार अर्व भ्रस्टाचारको कुरा सम्झिन्छु । छानबिन समितिले अधिकारी दाजुलाई अनुसन्धानको घेरामा पारेकै हो । छानबिन सजिलो होस् भनेर नैतिकताको आधारमा खोइ राजिनामा दिएको ? मन्त्रीकै कुर्सीमा टाँसीएको ईतिहास दुई तीन महिना बितेको होइन ।

जिउँदो छँदाका कर्तुतहरु मरेपछि पखालिएर जाने भए मलाइ थाहा भएन नत्र कर्तुत आखिर कर्तुत नै हुन् । जिउँदो छँदा गाली मरेपछि ताली दिने संस्कार, लाचारहरुको संस्कार हो ।

वाइड बडी काण्ड अहिले छानबिनकै क्रममा छ । यदि अधिकारी दाजु दोषी देखिएमा भ्रष्टाचारीको नामवाट राखिएको राष्ट्रिय महत्वको बिमानस्थलको साख रहला ? हामी नेपाली अलिकती बढी नै भाबनामा बग्छौँ । उनको देहावसान भएपछि पोखरा तिरका कतिपय पर्यटन ब्यबसायी र अधिकारि ज्युको झोला बोक्नेहरुले बिमानस्थलको नाम रबिन्द्र अधिकारी अन्तरास्ट्रिय बिमानस्थल राख्ने जुलुस समेत निकाले ।

त्यो जनताको स्वतस्फूर्त जुलुस थिएन । रबिन्द्र संलग्न दलका कार्यकर्ता र दल निकटका ब्यबसायहरु थिए । ती सानो झुण्ड बाहेक अरु सिंगो जनता बिमानस्थलको नाम फेर्नुमा सहमत छैनन् । पोखरा पोखरै हो । यो नेपाल र नेपालीको सान हो । यो सुन्दर नगरीमा कुनै हिलोको छिटा लाग्नु हुँदैन । नामको लागि पोखरा अन्तरास्ट्रिय बिमानस्थल नै काफी छ । पुनः न्वारानको जरुरत छैन ।

प्रकाशित मिति: २०७५ फाल्गुन २०

२०७५ फाल्गुन २०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको