भारतको दादागिरी: सहमतिविपरीत फेरि खन्यो नाली


माघ २१, कञ्चनपुर । द्विपक्षीय छलफल गरेर मात्रै नाली खन्ने सहमतिविपरीत भारतीय पक्षले कञ्चनपुरको डोकेबजारमा फेरि नाली र तारजालीको काम सुरु गरेको छ ।

तस्बिर: अन्नपूर्ण पोष्ट

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । माघ ११ गते कञ्चनपुरका डिभिजन वन अधिकृतसहितको टोलीसँग दुई देशका अधिकारीबीचको बैठकमा छलफल गरेर मात्रै नाली र तारजालीको काम गर्ने सहमति भएको थियो । तर, भारतीय वन विभागले शनिबार बेलुकीदेखि पुनः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्र नजिकै जैविक मार्ग क्षेत्रमा नाली खन्न थालेको हो ।

माघ ११ गते दुवै देशका अधिकारीबीच उक्त विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निर्देशनअनुरूप अघि बढ्ने सहमति भए पनि भारतीय पक्षले त्यसको उल्लंघन गरेको स्थानीयले बताएका छन् । ‘शनिबारदेखि भारतीय पक्षले फेरि नाली खन्न थालेको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘भारतीय पक्षले साताअघि भएको छलफलपछि पुनः खन्न सुरु गरेको विषयमा केन्द्रमा जानकारी गराइएको छ ।’

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्र लेखी भारतीय पक्षले दसगजा क्षेत्रनजिकै आफ्नै भूभागमा डोजर लगाएर नाली खन्न लागिरहेको विषयमा जानकारी गराएको छ । गृहमार्फत नै परराष्ट्र मन्त्रालयसहित नापी विभागमा समेत भारतीय पक्षले गरिरहेको कामबारे जानकारी गराइसकिएको प्रशासनले जनाएको छ ।

माथिबाटै नरोक्न आदेश आएपछि काम सुरु गरेको भारतीय पक्षको भनाइ छ । ‘भारतीय पक्षसँग बुझ्दा माथिको आदेशमा काम गरिरहेका हौं भन्छन्’, पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले भने, ‘केन्द्रको नीतिअनुरूप नै भनेर भारतीय पक्षले धमाधम काम अघि बढाइरहेको छ ।’

उनले भारतीय पक्षले दसगजा क्षेत्रमै तारबार लगाएर नेपाली भूभाग वर्षातमा डुबानमा पार्ने योजना रहेको आरोप लगाए । ‘त्यहाँ तारबारका नाममा ड्याम बनाउने र त्यसले नेपालतर्फ क्षति हुने देखिन्छ’, उनले भने । दसगजा क्षेत्रनजिकै कुनै पनि मुलुकले भौतिक संरचना निर्माण गर्नुअघि सहमति गर्नुपर्ने भए पनि भारतीय पक्षले त्यसको समेत उल्लंघन गरेर काम अघि बढाएको हो ।

नेपालतर्फको डोकेबजार क्षेत्रबाट फोहोर फ्याँक्ने गरिएको तथा भारतीय जनावर नेपाल जानबाट रोक्नका लागि भन्दै नाला खनेर तारबार लगाउन लागिएको भारतीय पक्षले बताएको छ । चार वर्ष अघिसमेत भारतीय पक्षले डोकेबजार क्षेत्रमै नाली निर्माण थाल्दा नेपाली पक्षको विरोधपछि रोकिएको थियो ।

भारतले अन्तर्राष्ट्रिय जैविकमार्गमा नाला खनेर तारबार लगाउन सुरु गरेपछि त्यसले वन्यजन्तुको आवागमनमा असर पर्ने खतरा देखिएको छ । ‘जुन ठाउँमा भारतले तारबार लगाउन सुरु गरेको छ, त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्छ’, लालझाडी मोहना संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले भने ।

जैविक विविधतालाई समेत ख्याल नगरी भारतीय पक्षले वन्यजन्तुको आवागमनलाई नै असर पुग्ने हिसाबले काम गरिरहेको उनले बताए । उनका अनुसार नाला खनिरहेको स्थान भारतको दुधुवा नेसनल पार्कको क्षेत्र हो ।

भारतको दुधुवा नेसनल पार्क हुँदै नेपालतर्फ लालझाडी–शुक्लाफाँटा हुँदै चुरेको फेदीसम्म वन्यजन्तु आवागमन हुने अन्तर्राष्ट्रिय जैविक मार्ग हो । २ किलोमिटर लामो नाला खनेर तारबार लगाउन लागेको हो । भारतको दुधुवा नेसनल पार्कको १७ किलोमिटर क्षेत्रफल जैविक मार्गमा पर्छ ।

२०७५ माघ २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको