मङि्सर १७, काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जित्दा उनका बाबा नाती महर्जनका आँखामा आँसु रोकिएनन्। सुनिताले स्वर्ण जिते लगत्तै बाबाको आँखामा खुसीका आँशु झरे । स्वर्ण जितेपछि सुनिताले आफ्नो बुवालाई अँगालोमा बाँधेकी थिइन्।
छोरीको अँगालोमा बाँधिएका बाबाका आँखामा आँसु थामिएनन् र उनी खुसीका आँसु पुछिरहेका थिए। बुवाको आँखामा आँसु देखेपछि सुनिता बुवाको अँगालोमै रोएकी थिइन्।
नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती घर भएएकी सुनिताको घर सीतापाइलामा हो।
२७ वर्षीया सुनिता विगत ७ वर्षदेखि पुलिस क्लबमा आवद्ध भएर करातेमा संलग्न छन्। सुनिता सात वर्षअघि ९ महिने तालिम पूरा गरेर नेपाल प्रहरीमा प्रवेश गरेकी हुन्।
नेपालका लागि पहिलो स्वर्ण करातेमै मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। उनले सोमबार पाकिस्तानकै खेलाडी नाइमातुल्लाहलाई हराएर स्वर्ण जितेका थिए। नेपालले सोमबार मात्र १५ स्वर्ण जितेको थियो।
प्रतिक्रिया दिनुहोस