पत्रकार अजयबाबु सिवाकोटीलाई प्रहरीको सुरक्षा निगरानी


असोज १६, काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महराले आफूलाई ब’लात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा दिएको छ।

काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए । ‘पछिल्लो समय उहाँले उठाएको इस्यु चर्चामा छ । यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य हो । सुरक्षाका दृष्टीले हामीले निगरानी गरेको मात्र हो। सुरक्षाकर्मी नै खटाएको भने छैन,’ उनले भने ।

सिवाकोटीले प्रहरीमा उजुरी गरेर निगरानीमा राखेको भने होइन । पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए ।

बरू बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन् ।

‘केही व्यक्तिहरूले रेष्टुरेन्टमा बसेर मलाई केही न केही गर्नुपर्ने सल्लाह गरिरहेको सूचना पाएपछि मैले प्रहरीलाई मौखिक जानकारी गराएको छु,’ उनले भने ।

सिवाकोटीले सोमबार रोशनीले महरालाई लगाएको आरोपबारे भिडियो सहितको रिपोर्ट आफ्नो अनलाईन हाम्रा कुरा डटकममा प्रकाशित गरेका थिए । त्यही खुलासापछि महराले सभामुख पदबाट राजिनामा दिएका छन्।

मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर अर्को मिडियासँग भिडियो अन्तरवार्ता दिएकी छन्। आइतबार महराले आफूलाई कुटपीट र ब’लात्कार गरेको आरोप उनको थियो।

त्यो दिन उनले प्रहरीलाई समेत बोलाएर आफूमाथि भएको घटनाबारे बताएकी थिइन्। तर प्रहरीले अनुसन्धान अघि बढाएको छैन। उनले लिखित जाहेरी दिनुपर्ने प्रहरीको जिकिर छ ।

यता नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीलाई असुरक्षा भएको प्रति युनियनले पनि गम्भीर चिन्ता व्यक्त गरेको छ ।
समाचार लेखेकै आधारमा आफ्ना महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने व्यक्तिहरुलाई तत्काल कानूनी कठघरामा ल्याउन युनियनले माग गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले बिहिबार विज्ञप्ति जारी गर्दै शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,’ “हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’
नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहिबार बसेको आकस्मीक बैठकले पनि युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ ।

“नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ,” विज्ञप्तीमा लेखिएको छ ।
अध्यक्ष सिग्देलले कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्य गरी सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण भएको बताएका छन् ।

स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ भएकाले पत्रकार मात्र नभई सवै लोकतान्त्रवादीहरु यस्ता गतिविधिका विरुद्धमा उत्रिनु पर्ने सिग्देलले उल्लेख गर्नुभएको छ । सरोकारवाला सवै निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे प्रेस युनियन कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तीमा दिइएको छ ।

१६ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको