गाउँमा हतियारधारी छिरेको सूचना पाएलगत्तै प्रहरी यसरि भागेपछि…!


जेठ २०, काठमाडौं । आइतबार दिउँसो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामका स्थानीयले गाउँमा हतियारधारी समूह छिरेको सूचना जिल्लाका सुरक्षा अधिकारीलाई दिए । सूचना पाएलगत्तै प्रहरीको आशंका विप्लव नेकपातिर तेर्सियो ।

यो स्थितिमा छेस्काममा हतियारधारी छिरेको सूचना आएपछि ८ जनाको संख्यामा रहेको प्रहरी चौकीको टोली झस्किएको थियो । जिल्लाबाट मद्दतका लागि थप फौज आउनसमेत समय लाग्ने भएकाले प्रहरी टोलीले हतियारधारीलाई नियन्त्रणमा लिनुको सट्टा कुलेलाम ठोक्यो ।

आइतबार राति चौकी छाडेर हिँडेका प्रहरी अधिकारीहरु विहान पुनः चौकीमा पुगे । त्यहाँ आक्रमणको कुनै निशाना थिएन । कागज पत्र र अन्य दस्तावेज पनि सकुशल थिए ।

जिल्लाका एक सुरक्षा अधिकारीका अनुसार त्यसरी गाउँ प्रवेश गरेका भनिएका हतियारधारी विप्लव नेकपाका कार्यकर्ता थिए/थिएनन् भन्ने पुष्टि समेत भएको छैन । अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख डीएसपी सालिकराम शर्मा आफैं घटनास्थल पुगेका छन् ।

प्रहरी मुख्यालयले भने जिल्लाबाट आएको सूचनाको गम्भिरतालाई मध्यनजर गर्दैै थप मद्दतका लागि हेलिकोप्टरमार्फत टोली पठाएको छ । सशस्त्र प्रहरीले पनि विराटनगर र काठमाडौंबाट विपदको फौज सोलुखुम्बुमा उतारेको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने बाहिर आए जस्तो घटना नभएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘जिल्लामा विप्लवको गतिविधि बढेको भने हो ।’

सरकारले विप्लव नेकपालाई २८ फागुनमा प्रतिबन्ध लगाएको छ । १२ जेठमा काठमाडौंमा भएको श्रृङ्खलाबद्ध विस्फोटका घटना भयो । तर अहिलेसम्म विप्लव नेकपाले प्रहरी चौकीमा आक्रमण जस्ता घटना केही गरेको छैन ।

विप्लव नेकपालाई लिएर गाउँमा खटिएका प्रहरीहरुमा भने त्रास छ । सशस्त्र द्वन्द्वकालमा सदरमुकाम केन्द्रित भएका प्रहरी चौकीहरु विस्तारै गाउँगाउँमा जान थालेका छन् तर, ५/७ जना मात्र खटिएका छन् । त्यसैले सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाए लगतै प्रहरीहरुमा कुनै पनि बेला आक्रमण गर्नसक्छ, ज्यान र हतियारको सुरक्षा कसरी गर्ने भन्ने डर बढी देखिन्छ । छेस्काम त्यसको प्रमाण हो ।

अनलाइनखबरसँग सम्पर्कमा आएका एक पहाडी जिल्लाको कमाण्ड गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ले अहिले प्रहरीमा द्वन्द्वकालमा झैँ त्रास र भय रहको स्वीकारे । ‘अहिले कानुनी राज्य कायम गर्ने र पुलिसिङमा मात्र खटिएका हामीलाई आक्रमण होला कि भन्ने त्रासले सताउन थालेको छ’, उनले भने ।

यस्तो अवस्थामा सोलुखुम्बुमा हतियारसहित छिरेको समूह कुन हो ? उसको क्षमता कति थियो ? यसको विश्लेषण नभइ सुरक्षा अधिकारी किन भागे ? भन्ने प्रश्नको जवाफ प्रहरी मुख्यालयले खोज्नु आवश्यक देखिएको छ ।

२० जेष्ठ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको