थबाङका कम्युनिष्ट संस्थापक बर्मन बुढा अस्पताल भर्ना


बैशाख १८, काठमाडौं । रोल्पा थबाङका कम्युनिष्ट संस्थापक तथा पूर्वसांसद बर्मन बुढा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ८८ वर्षीय बुढा अस्वस्थ भएपछि बिहीबारदेखि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको छ ।

छोरी विजया बुढाका अनुसार उनको आन्द्रामा घाउ भएको छ । बर्मन बुढा विरामी हुनुभएपछि हिजै पाटन अस्पताल भर्ना गरिको थियो ।

थबाङमै बस्दै आएका बुढा तीन महिना यता ललितपुरमा छोरी विजयासँगै बस्दै आएका छन् । उनी यो तीन महिनाको बीचमा पटक पटक अस्वस्थ भएका छन् । ‘सुरुमा टाइफाइड भयो र सञ्चो भयो । बीचमा आउँ पर्यो । अहिले त आन्द्रामै घाउ भएछ’, विजयाले भनिन् ।

पूर्व सांसद बुढा अस्पताल भर्ना भएको खबर पाएपछि सभामुख कृष्ण बहादुर महराले पाटन अस्पतालमा भेटेका छन् । शुक्रबार विहान अस्पताल पुगेर सभामुख महराले बुढाको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख महराले पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गरे । सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए ।

रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका खम्बा मानिन्छन् । उनी २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. १ बाट विजयी भएका थिए । सोही निर्वाचनमा सभामुख महरा रोल्पा क्षेत्र नं. २ बाट जनमोर्चाकै तर्फबाट निर्वाचित भएका थिए ।

२० बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको