दाङमा घरमै बच्चा जन्माउँदा १७ वर्षीया किशोरीको मृत्यु


दीपक बोहरा/फागुन १९, लमही । घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो ।

शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए ।

‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको थियो’ उनले भने, ‘अन्तिम अवस्थामा स्वास्थ्यचौकीमा ल्याइएकाले सामान्य सलाइन चढाएर हामीले घोराही पठाएका थियौं ।’ सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो तर त्यहाँ पुग्नसाथ शनिबार साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

व्यथा लाग्नसाथ स्वास्थ्यचौकी ल्याएको भए यस्तो स्थिति हुने थिएन होला तर अत्यधिक रक्तस्राव भएर बेहोस् भएपछि मात्रै अस्पताल ल्याइएको निमित्त प्रमुख रावतले बताए । साल अड्किएकाले उत्यधिक रक्तस्राव भएको र त्यही कारणले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको उनको भनाइ थियो ।

स्वास्थ्यचौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पुर्याउने व्यवस्था भए पनि बिरामीले चासो नदिँदा पटक–पटक यस्तो समस्या हुने गरेकाले यस विषयमा चेतना जगाउनु आवश्यक रहेको निमित्त प्रमुख रावतले बताए ।

आफूहरुले गर्भवती महिलालाई नियमित जाँच गराउन तथा स्वास्थ्य संस्थामा गएर मात्रै सुत्केरी हुन अनुरोध गर्दा पनि अझै कतिपय स्वास्थ्य संस्था नआउने गरेको उनले बताए ।

बालविवाहले समस्या

स्वास्थ्यका दृष्टिीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिँदैन । कानूनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख भएपनि अझै पनि लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् ।

सानै उमेरमै विवाह गर्दा पनि यस्तो समस्या निम्तिएको हुनसक्ने निमित्त प्रमुख रावतले जानकारी दिए । कम उमेरमा शारीरिक अङ्ग परिपक्क भइनसकेको भन्दै २० वर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिम भएको उनको भनाइ थियोे ।

सुत्केरी समस्या बढ्दै

पछिल्लो समय राजपुरमा यस्ता समस्या बढ्दै गएको छ । एक महीनाअघि पनि समयमै एक सुत्केरी महिलालाई अस्पताल नल्याउँदा उनको मृत्यु भएको थियो । गर्भवती अवस्थामा पोसिलो खानेकुरा नखाने र गर्भवती अवस्थामा तुहिने समस्या धेरै देखिएको निमित्त प्रमुख रावतले बताए ।

सहचालकको मृत्यु

ट्याक्टरको ट्रलीबाट खस्दा सहचालककोे मृत्यु भएको छ । तुलसीपुरबाट फूलबारीतर्फ जाँदै गरेको रा १ त ३६३३ नं को ट्याक्टरको ट्रलीबाट खसेर सोही ट्याक्टरले किच्दा सहचालक तुलसीपुर– ८ अश्वारा निवासी २६ वर्षीय जीतबहादुर चौाधरीको शनिबार राति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले बताए । उनका अनुसार शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर राखिएको छ ।

बसको ठक्करबाट चित्तलको मृत्यु

दाङमा बसको ठक्करबाट चित्तलको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका–७ कमानपुरमा शनिबार साँझ ६ बजेतिर जनकपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ५९११ नं को बसले ठक्कँर दिँदा घटनास्थलमै चित्तलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

मृत चित्तल र बस चालकलाई लमही इलाका वन कार्यालयको जिम्मा लगाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको