‘नेविसंघ’ जस्तो बराजु त्यस्तै पनाती !


जनकराज ढुंगाना ‘कालु’ । देउवालाई असक्षमको आरोप ज्ञानेन्द्र शाहले मात्र लगाएका होइनन्, ३६ सालको कांग्रेसले पनि लगाएकै हो । ३६ सालका तत्कालिन विद्यार्थी सभापति देउवाले अधिवेशन गर्न नसकेपछि राजिनामा दिएकै हुन् । बलवहादुर केसीको नेतृत्वमा तदर्थ समिति बनेकै हो । ४८ सालमा वुटवल महाधिवेसन विवादका कारण तत्कालीन सभापति एनपि साउदले पनि राजिनामा दिएकै हुन् । महर पुरानो विरासतको निरन्तरताका मात्र हुन् ।

सृष्टी, ब्रम्हाण्ड, प्रकृति नियमका आधारमा चल्छ, चलेको छ । समाज व्यवस्था पनि सामाजिक विधि नियमकै आधारमा चल्छ । प्राकृतिक नियममा सानो तलमाथि हुँदा पर्यावरण उथलपुथल हुन्छ । समाजमा पनि विधि, विधान, मर्यादालाई व्यक्ति वा वर्गविशेषको स्वार्थ, अहम या सनकमा प्रयोग हुँदा समाज प्रभावित हुन्छ । भर्खरै रसुवामा ‘अप्रिल फूल’ मनाएर काठमाण्डौ फर्किएको आजको नेपाली काङ्ग्रेसलाई लिने हो भने त्यस्तो प्रभावको गज्जबको उदाहरण भेटिन्छ । शरमको पोको उत्तरगयाधामा सेलाएर फर्कंदा कति ग्लानी भयो होला नेताहरुलाई ?

काङ्ग्रेस आफैभित्रको बिग्रहले जर्जर छ । यो विग्रह आजको होईन युगदेखि । त्यो युगदेखि जब ऊ जनादेश पाएरै सत्तामा पुग्यो । त्यो बिग्रहले अस्ती पञ्चायतको आधार कोर्यो, हिजो मध्यावधिको बाटो हुँदै पराजयको स्वाद चाख्यो ।

देशले त्रिशंकू संसद्को विकृति र बिसंगति भोग्यो । ढलेको पञ्चायतको ‘अस्तु’हरुले कसरी प्रजातन्त्रका मसिहाहरुलाई च्याम्पटी झैं नचाए र सत्ताको क्वीन बने ? यो नग्न नाचको उवाचः पनि त कांग्रेसबाटै हुन्छ । यसले प्रजातान्त्रिक वितृश्णा उमार्ने काम गर्याे । पछि आमनिर्वाचन र संविधानसभाको पहिलो निर्वाचनसम्म आईपुग्दा बहुमत त के सुविधाजनक मत पनि मिलेन । संसदीय निर्वाचनमा पाहा झै पछारियो । काग्रेसको संगठन सुदृढ छ कि कुदृढ छ ? उत्तर त्यही हो ।

सयमा उनान्सय ठीक भए पनि एउटा वेठीक हुदा बाँकि ठीकको भाऊ हुन्न । सामाजिक राजनीतिक संगठनको शक्ति भनेकै जनताको विश्वास मानिने, त्यही विश्वासमा धमिरा पसेपछि न शक्ति न सामर्थ्य । विश्वासको धरातल नेता र नेतृत्वको आचरण र व्यवहारले भास्ने हो उर्जाले होइन, त्यही उर्जाको संकट हिजोको निर्वाचनमा पनि देखियो । भर्खरैको विद्यार्थीको मुक्कामुक्कीमा पनि देखिंदैछ । आम कार्यकर्तालाई त यो देखेर घीन लाग्छ, नेतृत्वलाई लाग्दैन ?

काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई आफु कमजोर भएको अनुभव भएकै छ ।

देउवा दलको शीर्ष हुन् तर विचलन शीर्ष र पाऊमा भन्ने हुँदैन । पार्टीमा कसको पकड अलग कुरा, आम कार्यकर्तामा देउवाको नाम लिंदा पनि नेगेटिभ इनर्जी प्रवाह हुने दिन देखिन थाल्यो । नेतृत्वले संवाहन गर्ने सिद्धान्त, नीति, कार्यक्रममा विचलन आउनु र शक्ति क्षीण हुनुको यो भन्दा घतलाग्दो कुरा अरु के हुन्छ ? यो रोगको बैद्य को हो ? निदान र उपचार गराउने दायित्व कसको ? सिद्धान्ततः नेतृत्वकै । विधान संसोधन गर्न केन्द्रिय समितिको वैठक चलिरहेको समयमा पार्टी र संगठनको नेतृत्व स्वयम् सक्षम हुदैन भने विधान जस्तो बनाए पनि र अनुहार जति फेरिए पनि न संगठन बन्छ न पार्टी ।

काङ्ग्रेसले महासमिति वैठकको म्यान्डेटअनुसार विधानलाई अन्तिम रुप दिन महिनादेखि चियापान डाकिरहेको छ । अनुत्पादक जमघटलाई वैठक नै किन भन्नु ? निर्वाचनपछि नेपाली काङ्ग्रेस पराजयको लाशमाथि उभिएर आन्तरिक दोषारोपणको ताण्डव नाच्नै व्यस्त छ । त्यसको प्रभाव काँग्रेसको नर्सरी भनिने भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र अन्य भगिनी संगठनमा पर्दैछ । भन्नलाई त यो दशौं लाख विद्यार्थी र शैक्षिक मुद्दामा क्रियाशील हुने आन्दोलन भनिन्छ ।

तर खासमा नेविसंघ आफैं विद्यार्थी संगठन नभएर पार्टीभित्रको गुटले खेलाउने पुतली जस्तो, प्राण झिकिएको खेलौना जस्तो छ । सिधा भन्दा लोभीपापी नेताहरुको कठपुतली जस्तो विद्यार्थी संगठन । भ्रातृ संगठनलाई नै मोलमलाई र सौदाबाजीमा लगेर राख्ने चलन कसैले काङ्ग्रेसबाट सिकून् ।

नेविसंघ हत्याउन र त्यहीं भाग खोज्न देउवा, पौडेल, सिटौला , कोईराला, गच्छदारको दौड छ । यी समूह एक अर्कालाई देखाउन पाखुरा सुर्केर पार्टी कार्यालय नै रणमैदान बनाउन तयार छ । विद्यार्थी हुन्, जे सिकाए त्यही सिक्ने त हो । सानेपामा विद्यार्थी मारमुंग्री गर्दा कसले जुंगामा कति ताउ मिलाए खोज्न पर्दैन ?

सभापति नैनसिंह महरले राजिनामा दिईसकेका छन् । नेविसंघमा यो राजिनामा पनि नौलो हुँदैन । देउवालाई असक्षमको आरोप ज्ञानेन्द्र शाहले मात्र लगाएका होइनन्, ३६ सालको कांग्रेसले पनि लगाएकै हो । ३६ सालका तत्कालिन सभापति शेरवहादुर देउवाले नै अधिवेशन गर्न नसकेपछि राजिनामा दिएका हुन् । बलवहादुर केसीको नेतृत्वमा तदर्थ समिति बनेकै हो । ४८ सालमा वुटवल महाधिवेसन विवादका कारण तत्कालिन सभापति एन पि साउदले पनि राजिनामा दिएकै हुन् । महर पुरानो विरासतको निरन्तरता मात्र हुन् ।

पार्टीको संस्थापन उमेर हदबन्दीको नयाँ रणनीतिमार्फत नेतृत्वमा सक्षम ठानिएका विद्यार्थी पाखा लगाउन र संगठनमा प्रभुत्व जमाउन चाहन्छ । सबैले चाहने त्यही हो, यहींबाट झन् बढी गुट र उपगुटको जन्मदर्ता जारी छ । स्पष्टतः देउवा, पौडेल र सिटौला मैदानमा छ । कोठामा चाँहि सस्थापनभित्र पनि बालकृण खाँड, विमलेन्द्र निधि, आरजु देउवा , प्रकाशसरण महत , एन पि साउदहरुको आफ्नै कोटरी छ । ऋषिकेश जंग शाहको नेतृत्व यतै व्यस्त हुन्छ । राजिव ढुंगाना, सरोज थापा, आनन्दराज त्रिपाठि, प्रेम जोशी, अम्विका चलाउने, पुश्कर वस्नेतहरुको भाग्यविधाता तिनै हुन् ।

पौडेल समुहको नेतृत्व मनोजमणि आचार्यले गरेका छन् । यहाँ आचार्य एक्लै छैनन् दिपक भट्टराई, मनोज वैद्य, शिव रीमालहरु आराध्यको आशिर्वादमा सुमेरु दौडका लागि तयार छन् । सिटौलाको कोटामा कुन्दन काफ्लेको आफ्नै क्रन्दन छ । वलदेव तिमल्सिना, नवराज त्रिपाठी, शुशिल भट्ट, डोजाङ्ग शेर्पा सबै आफूलाई सभापति माग्ने दौडमा छन् । गच्छदार समुहका कपिलेश्वर यादव र कोईराला क्याम्पका सागर परियार पनि के कम ? चाहिएको एउटा पार्टीको एउटा संगठनको एक जना नेतृत्व हो, यहाँ न पार्टी, न संगठन, न नेतृत्व, सबै पत्करघारीमा लडीबुडी गर्न मस्त ।

यही जालोमा जेलिएको नेविसंघ स्ववियू चुनावबाट समेत भाग्दैछ । वा, पार्टीले नै भगाउँदैछ । यसको दीर्घकालीन मूल्य जानेरै पार्टी नेतृत्वले यो शैली अपनाएको होला भनेर बुझौं । जब भ्रातृ वा भगिनी संगठनको अधिवेशन आउँछ केन्द्र, प्रदेश, जिल्ला, गाँउ तहमा एउटै प्रवृत्ति भेटिन्छ । यसो भनौं काङ्ग्रेस भन्नु नै अप्रजातान्त्रिक अभ्यासको दोस्रो नाम हो भने जस्तो । अनि काङ्ग्रेसले जनतालाई प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासको पाठ पढाएको कसरी सुहाउँछ ? काङ्ग्रेस आफैं प्रजातान्त्रिक संस्कारबाट कोशौं पर छ, उसले कसरी विद्यार्थीलाई संस्कार दिन दीक्षित गर्नसक्छ ?

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको