मंसिर १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनप्रति प्रश्न उठाएका छन् ।
गत शनिबार भएको उपनिर्वाचनमा प्रहरी प्रशासनले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप देउवाको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा बोल्दै देउवाले भने, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं ।’ प्रहरी प्रशासनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सघाउने काम मात्र गरेको देउवाको भनाइ छ ।
‘पोखरामा बम पड्काए, मतदाता भड्काए,’ देउवाले भने, ‘जित्ने ठाउँमा मतदाता त्रसित गराइदिए ।’ प्रहरी प्रशासनले उपनिर्वाचनमा प्रभावकारी सुरक्षा दिन नसकेको देउवाको भनाइ छ ।
उनले प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको जानकारी दिए । ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि मतपरिणाम राम्रो आएको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस