अस्पतालबाटै ओलीले भने ‘म ठीक हुँदैछु’


मङ्सिर १६, काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिति सुधार हुँदै गएको बताएका छन् । ओलीले अस्पतालबाटै भिडियो सन्देश दिदै आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका हुन् । एपेन्डिसाइटिस शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरबाट ओलीले भनेका छन्, ‘मेजर अप्रेशन गर्नुपरेकोले केही समय लाग्यो। अब म ठीक हुँदैछु।’

प्रधानमन्त्रीलाई भाबुक संदेश दिंदै रोगले सुचना दिएर नआउने बताएका छन् । एपेण्डिसाईटीस इन्फेक्सन भएको बताए । अहिले उनले स्वास्थ्य सुधार भैरहेको बताए ।

१३ औं ‘साग ‘ को उद्घाटन समारोह पनि पूरै हेरेँको बताए । राष्ट्रपतिले उद्घाटन गरिदिएकोमा धन्याबाद समेत दिएका छन् ।

प्रधानमन्‍त्रीले भिडियो सन्देशमा दिएको सन्देश जस्ताको तस्तै;

‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ- मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग ‘ को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

–केपी शर्मा ओली
प्रधानमन्त्री
(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)

प्रधानमन्त्रीको अबस्था कस्तो छ ?

गत मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै राखेर उनको उपचार भइरहेको छ। पेट दु:खेपछि मंगलबार बिहान अस्पताल भर्ना भएको ओलीको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि त्यही दिन त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रिया भएको थियो। एपेन्डिसाइटिस फुटेर संक्रमण भएपछि उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो।

उपचार टिमका संयोजक प्रा.डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको बताउँछन्। उनका अनुसार संक्रमणको खतरा हटाउनका लागि प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल भइरहेको छ। खासगरी शल्यक्रियाको घाउ निको नभएको र पेटको संक्रमणको खतरा कायमै रहेकोले उनलाई सघनकक्षमा राखिएको हो।

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको हो।

यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो। महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंसिर ११ गतेडायलासिस गरिएको हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गर्नका लागि पर्याप्त उपकरण र मेडिकल सर्पोट नभएकोले डायालासिस प्रक्रियामा समस्या भएको चिकित्सकले बताएका छन्। बुधबार पनि त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) बाट मेशिन र उपकरण लगेर डायलासिस गर्दा करिब पाँच घन्टा लागेको थियो।

चिकित्सकअनुसार प्रधानमन्‍त्री सामान्य उठबस तथा लेखपढ गर्न थालेका छन्। परिवार र आफन्तको सहयोगमा झोलिलो खानेकुरा खाइरहेका छन्। बालुवाटार फर्किँदा धपेडी हुने र बाहिरी बातावरणले संक्रमणको खतरा हुने भएकोले पनि अस्पतालमै राख्‍नुपरेको चिकित्सक बताउँछन्।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारी, सर्जन डा पलेश्‍वाँ जोशी लाखे, डा.दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ। उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन्।

उच्च चिकित्सकीय निगरानीसहित सघनकक्षमा राखेर ओलीको उपचार भइरहेको छ। संभावित स‌ंक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा बाहिरी भेटघाट तत्कालका लागि रोकिएको छ।

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीले चारपटक हेमोडायलासिस गराएका छन्। उनले ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गराउँदै आएका छन्। चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि पुन: मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिदै आएका छन्।

अचानक असहज महसुस गरेपछि ग्रान्डीमा भर्ना गरिएका ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । कात्तिक १४ गते फेरि डायलायसिस गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।त्यसअघि छाउनीस्थित सैनिक अस्पतालमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो।

१६ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको