मंसिर १६, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् ।
तिलकले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन् । औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ ।
तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ । २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो । २०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।
दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए । त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए ।
धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडामात्र जितेको थियो । कांग्रेसले १४, ५, २, १ र १८ वडामात्र जितेको थियो । पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्वएमालेले जितेको थियो ।
धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले विजयी
धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
यद्यपि निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी छ । परिणामबाट असन्तुष्ट नेपाली कांग्रेसले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको छ ।
धरान उपमहानगरपालिका ७ मा पुनः मतगणना गर्न कांग्रेसको माग
धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो । कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन नै दिएको छ ।
प्रतिक्रिया दिनुहोस