विद्यार्थी राजनीति हुँदै प्राध्यापनदेखि सांसदसम्म, यस्तो छ विद्या भट्टराईको जीवन यात्रा


मङ्सिर १६, काठमाडौँ । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विद्या भट्टराई विजयी भएकी छन् ।

यो खबर गाेविन्द सुवेदीले नयाँ पत्रिकामा लेखेका छन् । उनले कांग्रेसका खेमराज पौडेललाई भारी मतले पराजित गर्दै विजयी भएकी हुन् । गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त क्षेत्र रिक्त रहँदै आएको थियो ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पछि पार्दै भट्टराई विजयी भएकी हुन् । प्राप्त मतअनुसार भट्टराईले २४ हजार ३९४ मत ल्याएर विजयी भएकी हुन् । यस्तै प्रतिस्पर्धी पौडेलले १५ हजार ९ सय ९१ मत पाएका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२ मत ल्याएका छन् । राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ मत र साझा पार्टीका रजनी केसीले ९४२ मत पाइन । ४५ हजार ५६३ मत खसेकोमा ६ सय मत बदर भएको निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

यसअघि उक्त क्षेत्रमा रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर झण्डै उस्तै देखिएको थियो ।

भट्टराई विजयी भएसँगै नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् । नेकपाले औपचारिक रुपमा सोमबार विजय जुलुस निकाल्ने भएको छ । नेकपा कास्कीका अनुसार सोमबार बिहान ११ बजे चिप्लेढुङ्गास्थित मानव अधिकार चोकबाट जुलुस निस्कने र पोखरा प्रदर्शनी केन्द्रमा विजयी सभा हुने नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

प्रतिस्पर्धीले दिए शुभकामना

कास्की-२ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका निकटतम प्रतिस्पर्धी पौडेलले औपचारिक घोषणाअगाडि नै हार स्वीकार गर्दै भट्टराईलाई शुभकामना दिएका छन् । नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै आफूले विद्यालाई भेटेरै जनताले दिएको अवसरलाई सदुपयोग गरी राजनीतिक उज्जले भविष्याकाे कामना गरेको बताए ।

खेल खेलेपछि हार या जीत स्वभाविक रहेको बताएका उनले आफूलाई अवसर दिने पार्टी, साथ दिने नेता कार्यकर्ता र सबै मतदातामा आर्धिक आभार सहित धन्यवाद दिएका छन् । ‘हार या जीत खेल खेलेपछि स्वभाविक हो, लोकतान्त्रिक प्रक्रियामा यसलाई सहजरुपमा लिनुपर्छ, मलाई अगाडि सार्ने पार्टी, नेता कार्यकर्ता, मतदाता सबैमा हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु’ उनले भने ।

विद्यार्थी राजनीति हुँदै प्राध्यापनदेखि संसदसम्म

कास्की-२ बाट प्रतिनिधिसभा सदस्य पदमा उपनिर्वाचनमार्फत आइतबार निर्वाचित भट्टराई तत्कालीन दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका जीवन संगिनी हुन् । स्व. अधिकारी तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको महासचिव हुँदा उनी सचिव थिइन् । रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी भए पनि अधिकारीको अवसानसँगै उनले लगातार ३ पटक जितेको कास्की-२ का जनताले उनकै सट्टा जनप्रतिनिधिको रुपमा संसद प्रवेश गराउँदै छन् ।

भट्टराई ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । हाल प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् ।

०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्कृय भइन् । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल उनी कास्की-२ को निर्वाचनमा होमिने निश्चित हुनुअघिसम्म रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रध्यापनरत थिइन् ।

मन्त्री बनाउने आस्वासन के होला ?

प्रतिनिधि सभा सदस्यमा आइतबार निर्वाचित भट्टराईलाई निर्वाचनको दौरान नेकपाका नेताहरुले भावी मन्त्रीको रुपमा चित्रण गरेका थिए । सुरुमा नेकपाका यस क्षेत्रका प्रभावशाली मानिने गण्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले विद्याले जिते मन्त्री बनाउने उद्घोष गरेका थिए । यस्तै राष्ट्रिय राजनीति र खासगरी नेकपामा मै कतिपय अवस्थामा निर्णायक भूमिका खेल्दै आएका नेकपाका नेता बामदेव गौतमले समेत विद्यालाई मन्त्री बनाउने उद्घोष गरेका छन् ।

कास्की-२ को अन्तिम चुनावी सभामा अध्यक्ष प्रचण्ड, नेता सुभाषचन्द्र नेम्वाङसँगै आएका नेता गौतमले चुनावी सभामा विद्यालाई मन्त्री बनाउने बताएका थिए । यस क्रममा उनले मन्त्री नबनाए आफू कास्की नफर्कने घोषणा नै गरेका थिए ।

१६ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको