दशैँ मनाउन उपत्यकाबाट १२ लाख बाहिरिए


असोज १५, काठमाडौं । दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आज (१५ गते) सम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन्। त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन्।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए। उनका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ।

अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिए। प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ।

विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए। राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ। नागढुंगा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए।

उनले चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारबाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए। अभियानका कारण महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारबाही गरिएको छ।

यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ८४८ सवारीलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। रासस

१५ आश्विन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको