साउन १७, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन् ।
महानगरीय प्रहरी परिसर टेकुमा रासससँग कुरा गर्दै जीवन्तले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।
उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिए । वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गरे । ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो’ उनले भने, ‘कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।’
आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुरा सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने सुझाव दिएको बताए ।
उनले राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने समेत बताए । उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे ।
विप्लव नेकपालाई प्रतिबन्ध लगाएसंगै उनलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउपछि अदालतले छाडेपनि विभिन्न्न जिल्लामा फरकफरक मुद्दा लगाउदै प्रहरीले पक्राउ गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस