बारा-पर्साका हुरी प्रभावितलाई प्रदेश -३ सरकारको १ करोड सहयोग


चैत १९, काठमाडौं । प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो ।

निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । टोलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी पनि लिएको थियो ।

प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

१९ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको