प्रेम घर्ती मगर/ माघ १९, मलेसिया । बेरोजगार समस्याले प्रताडित भएर जीवन निर्वाह गर्न अमुल्य श्रम, सस्तो मुल्यमा विदेशीलाई बेच्नुपर्ने बाध्यता नेपालीका लागि नौलो भने होइन। यस्तै बाध्यताको शिकार भए शारदा नगरपालिका -४ सल्यानका लुट बहादुर थापा ।
देशमै रोजगारीका लागि धेरै ठाउँ नधाएका पनि होइनन् उनि ! तर नाताबाद, कृपाबाद तथा सामदाम दण्डभेदले मात्रै जागिर हासिल गर्न सकिने हाम्रो देशमा थापाले स्वदेशमै जागीर पाउने कुरा आकाशको फल बन्यो । पारिवारिक जिम्मेवारी र आर्थिक संकटले जेलिएका थापा विदेश पैसा कमाउन जाने निर्णयमा पुगे।
सामाकोशी-३ काठमाडौंमा अवस्थित बिएस ओभर्सिस प्राइभेट म्यानपावरद्धारा २९ जनवरी २०१७ मा एक्सपोएम सेक्युरिटी सर्भिस मलेसियाका लागि उडेका थिए ।
पहिलो वर्ष जसोतसो रामै काम गरे । दोस्रो वर्षको भिसा अनुमतिका लागि उनको स्वास्थ्य जाँच भयो । मेडिकल ल्याबले अनफिट देखाएको रहेछ तर उक्त कुरा लुट बहादुरलाइ जानकारी नगराई कम्पनीले लगातार काम गराइरहयो ।
जब १ वर्ष ८ महिना पछि विरामी हुदा उपचारका लागि निवेदन गर्दा मात्रै मेडिकल अनफिट भएको भन्दै बाहिर लैजान नमिल्ने कम्पनि म्यानेजरले जवाफ दिए । यदि उपचार नगर्ने हो भने नेपाल फर्काउन प्रस्ताव गर्दा उल्टै घर जाने भए ५ हजार रिङगेट (नेपाली सवा लाख) तिरेर जा भन्दै धम्कीपूर्ण चेतावनी दिएपछि लुट बहादुरले नेपाली जनप्रगतिशील मोर्चा मलेसियालाई जानकारी गराए ।
जानकारी पाए लगत्तै मोर्चाका अध्यक्ष विस्फोट मगरले मलेसिया स्थित नेपाली राजदुतावास संग समन्वयनगरि २२ जनवरी २०१९ तारिखका दिन लुट बहादुर थापालाई नेपाल फर्काएका छन् ।
लाखौं नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको मलेसिया लुट बहादुरको लागि अभिसाप बन्यो। नत स्वस्थ शरीर फर्काए, नत पैसा कमाए ।
पिडित लुट बहादुर भन्छन्, ‘यो कम्पनीले मलाई जस्तै अवैधानिक बनाएर कयौं नेपालीको श्रम शोषण र जीवन बर्बाद गरिरहेको छ। पटकपटक मानसिक तथा शारीरिक यातना समेत दिइरहन्छ। फर्किदा राहदानी समेत फिर्ता दिएको छैन ट्राभल कागजपत्रकै आधारमा नेपाल फर्किएको छु। त्यसकारण कसैको प्रलोभनमा परि भुलेर पनि सामाकोशी-३ काठमाडौंको बिएस ओभर्सिस प्राइभेट म्यानपावर (B.S. overseas P. Ltd.) मार्फत मलेसियाको एक्सपोएम सेक्युरिटी सर्भिस (Expoam security services snd.bhd.) कम्पनीमा नजानु हुन अनुरोध गर्दछु।’
प्रतिक्रिया दिनुहोस