नेपालीले देखेको समृद्धिको सपना यहि सरकारले पूरा गर्छ: प्रधानमन्त्री


माघ १९, लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताएका छन् ।

सदरमुकाम सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धै¥र्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”

प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको जानकारी दिए ।

उनले भने, “प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, दु्रतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कल कारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य सरकारले अगाडि बढाएको छ ।”

प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएकाले समाज परिवर्तनका लागि अब विलम्ब गर्न नहुने धारणा व्यक्त गरे ।

“तराई–मधेश भएर बग्ने ठूलठूला नदी जस्तै कोशी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुनु आवश्यक छ”, उनले भने, “मधेशको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेशमा निर्यात गर्न सकिए छिट्टै समृद्धि सम्भव छ ।”

प्रधानमन्त्री ओलीले भने, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी पूर्णरुपमा प्रतिबद्ध छौँ ।”

अब कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर नरहोस् भन्ने उद्देश्यले सरकारबाट विद्यालय भर्ना अभियान सञ्चालन गरिएको बताउँदै उनले यसलाई सफल बनाउन अभिभावकसँग आग्रहसमेत गरे ।

२०७५ माघ १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको