पुथा उत्तरगंगा गाउँपालिकाको महत्वपूर्ण निर्णयहरू सार्वजनिक


कर्मसही घर्ती मगर/माघ १९, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा बसेको कार्यपालिकाको बैठकले महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । गाउँपालिका स्थापित भए पछिको यो पहिलो औपचारिक बैठक हो । गाउँपालिका अध्यक्ष ओम प्रसाद घर्तीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णयहरू गरेको हो ।

प्रदेश सरकार समक्ष समपूरक अनुदान माग गर्ने, ‘घ’ वर्गको लाइसेन्स कार्यविधि, राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता, आर्थिक सहायता, कृषि पकेट क्षेत्र परियोजना, हिलपार्क र उत्तरगंगा जलाशययुक्त जलविद्युत् योजना लगायत महत्वपूर्ण निर्णयहरू पारित भएको कुरा प्रवक्ता भिम बहादुर मल्लले जानकारी दिए । उनले भने -‘अपुग रकम प्रदेश सरकारसँग माग गर्ने कुरा भएको छ । गाउँपालिकाको बजेट सही रूपमा कार्यान्वयन गर्न ‘घ” वर्गको लाइसेन्स वितरण गर्ने भएको छ । राष्ट्रपति रनिङ शिल्ड तकसेरामा हुने भएको छ ।’

पुथा उत्तरगंगा गाउँपालिका विशेषगरी कृषि क्षेत्र भएकोले कृषिलाई जोड दिइएको करा स्पष्ट गर्दै प्रवक्ता मल्लले भने -‘कृषि पकेट क्षेत्रमा सुन्तलाको लागि चारगाउँ, स्याऊ पकेट क्षेत्र हुकाम, मैकोट र तकसेरामा तोकिएको छ ।’

कार्यपालिकाले आर्थिक सहायता कार्यविधि २०७५ अन्तरगत जटिल रोग लागेका जस्तै क्यान्सर लागेका, अंगभङ्ग भएकाहरूको लागि सहयोग रकम उपलब्ध गराइने कुरा प्रवक्ता मल्लले बताए ।

यातायात नपुगेका ९ वटा वडामा हेलिप्याड बनाउने उनले जानकारी गराए । यातायात नपुगेका वडा १, २, ३, ४, ५, ६, ७, ८ र ९ नं वडा रहेका छन् ।

मुख्य मन्त्री कार्यक्रम अन्तर्गत शिक्षा तर्फ गाउँपालिका भित्रका विद्यालयमा अध्यनरत दलित, अपाङ्ग, द्वन्द्व पीडित र असहाय छात्रछात्राहरूलाई झोला तथा शैक्षिक सामग्री वितरण तथा महिलाको पाठेघर सम्बन्धि स्वास्थ्य शिविर संचालन गर्ने महत्त्वपूर्ण निर्णय पारित गरेको कुरा प्रवक्ता मल्लले बताए ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको