प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


मंसिर १५, काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ।

प्रधानमन्त्री ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उनले भने।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यहीँ मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए।

‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ। शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ। यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ ।

घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताइन् । रासस

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको