१३औं सागको भव्य उद्घाटन आज


मङि्सर १५, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आइतबार साँझ ५:०० बजे हुने भएको छ। सागको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।

उद्घाटन सत्रलाई नेपालकै गौरव गर्ने खालको भव्य र सभ्य बनाइने १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले जानकारी दिए। उद्घाटनलाई लक्षित गरी हजारौं कलाकारले लामो समयदेखि तयारी गरिरहेको जानकारी पनि थापाले दिए।

‘तिन घण्टा सम्म चल्ने उद्घाटन सत्रमा विशेषगरी नेपाली मौलिकता र कला प्रस्तुत गरिनेछ। सागमार्फत नेपाललाई प्रकृति, कला र संस्कृतिको धनी देश भनेर चिनाउन चाहेको साग समारोह समितिले जनाएको छ ।

उद्घाटन समारोहमा विशेषगरी नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिनेछ। उद्घाटनसँगै समापनको पनि उस्तै तयारी गरिएको छ। उद्घाटन र समापान दुवैमा १५ हजार जना कलाकारको प्रस्तुति रहने छ ।

 

सागका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको संयोजकत्वमा समारोह समिति गठन गरिएको छ। उद्घाटनमा सबैभन्दा बढी सशस्त्रका चार हजार पाँच सय कलाकारले प्रस्तुति दिनेछन्। त्यसपछि सेनाका दुई हजार पाँच सय, नेपाल प्रहरीका एक हजार, उपत्यकाका विभिन्न ३० विद्यालयका तीन हजार विद्यार्थी, विभिन्न झाँकी चार हजार र तीन सय जनाभन्दा बढी व्यावसायिक कलाकारले विशेष प्रस्तुति दिनेछन्। उद्घाटन सत्रलाई थप रोचक बनाउन सेना, प्रहरी र सशस्त्रको छुट्टाछुट्टै ब्यान्डले प्रस्तुति दिनेछन्। ब्यान्डको प्रस्तुति सागको इतिहासमै ठूलो हुने दाबी थापाले गरे। त्यसबाहेक पाँच सय कलाकारले नेपालका विभिन्न मौलिक बाजा बजाउनेछन्। १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतापछि सातवटै देशका खेलाडी मार्चपासबाट सुरु हुने उद्घाटनमा स्वागत भाषण, सांस्कृतिक कार्यक्रम र आतिसबाजी पनि हुनेछ। लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक प्रदर्शनले पनि सागको उद्घाटनलाई थप उल्लासमय बनाउनेछ।

सागमा २६ खेलमा सात देशका २९१० खेलाडीले तीन सय १७ स्वर्ण, सोही संख्यामा रजत र चार सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। सागमा नेपालले सबै खेलमा भाग लिएको छ। सागका खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछ। नेपालले तेस्रो पटक साग आयोजना गरेको हो। यसअघि नेपालले सन् १९८४ मा पहिलो र सन् १९९९ मा आठौं साग आयोजना गरेको थियो।

२०७६ मंसिर १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको