असोज १४, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच द्वपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ।
दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
क्यानडाको मन्ट्रियलमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको प्रधान कार्यालयमा भएको वार्तापछि अक्टुबर १ मा समझदारीमा हस्ताक्षर भएको हो। दुई देशबीच भएको सैद्धान्तिक सम्झौताका आधारमा अनुमति प्राप्त एयरलाइन्सहरुले उडान गर्न सक्ने छन्।
समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न पाउने छन्। अन्य विमानस्थलहरुमा भने असिमित उडान गर्नपाउने छन्।
त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सात उडान गर्न पाउने छन्। पोखरा,भैरहवा लगायतका अन्य विमानस्थलहरुमा भने हप्तामा २८ उडान गर्नसक्ने छन्। त्यस्तै निर्धारण गरिएको क्षमतामा जुनसुकै जहाजबाट कार्गो उडान गर्न दुई देशका एयरलाइन्स स्वतन्त्र हुने छन्।
दुई देशका एयरलाइन्सहरुले कोड सेयरको सुविधा पाउनेछन्। समझदारीका तोकिएका उडान संख्य न्यून भएमा तत्काल समझदारी पुनरावलोकन गर्दै संख्या बढाउन सकिने समझदारी पनि भएको छ।
समझदारीमा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको तर्फबाट संघीय पूर्वाधार, यातायात,शहरी एंवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जोम वल्फले हस्ताक्षर गरेका छन्।
सम्झौता तथा समझदारीअनुसार दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने छन् ।
दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने सहसचिव आचार्यले जानकारी दिए ।
नेपालको हकमा अष्ट्रेलियाका गन्तव्य विन्दुभन्दा परको रुपमा न्युजील्याण्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउने छन् भने अष्ट्रेलियन पक्षको हकमा नयाँदिल्ली बाहेक नेपालका गन्तव्य विन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस