चिनियाँ राष्ट्रपतिलाई नेपालले दिनेभयो यस्तो तहको सुरक्षा


असोज १४, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ।

‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लागि जेड तहको सुरक्षा व्यवस्था अपनाउँछन्। त्यसका लागि सेना नै प्रत्यक्ष रूपमा सहभागी हुने गर्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रपति फिङको सुरक्षामा नेपाली सेनाले नेतृत्व गर्नेछ र उसले नै अन्य सुरक्षा निकायसँग समन्वय गर्नेछ।’ मन्त्रालय स्रोतका अनुसार अक्टुबर ११ देखि १४ सम्म जुनसुकै दिन राष्ट्रपति फिङको भ्रमण हुन सक्ने भन्दै सरकारले तयारी थाल्न र विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो। ‘अक्टुबर १२ मै भ्रमण हुन सक्छ,’ मन्त्रालय स्रोतले भन्यो। परराष्ट्र मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद् बैठकमा भ्रमण मिति तय भएको जानकारी गराएको स्रोतको भनाइ छ। बैठकमा भ्रमणबारे भएको छलफललाई तत्काल गोप्य राख्ने भन्दै भ्रमणको मिति बाहिर ल्याइएको छैन।

अति विशिष्ट सुरक्षा कार्यविधि, २०७० मा पनि अति विशिष्ट पाहुना नेपाल भ्रमणमा रहँदासम्म नेपाली सेनाले नै सुरक्षाको नेतृत्व गर्ने उल्लेख छ। उक्त कार्यविधिअनुसार नेपाली सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर सुरक्षा कार्ययोजना बनाइरहेको जनाइएको छ। गृह मन्त्रालयले एक सातादेखि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सबै सुरक्षा अंगका अधिकारीसँग निरन्तर छलफल गरिरहेको छ।

सोही भ्रमणबारे नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले तीनपटक गृहमन्त्रीसँग भेटघाट गरेकी छन्। उनले नेपालको सुरक्षा अवस्था र सरकारका तर्फबाट गरिने सुरक्षा व्यवस्थाबारे जानकारी लिएकी थिइन्। मन्त्रालय स्रोतका अनुसार सुरक्षाको नेतृत्व गर्ने जिम्मा पाएको नेपाली सेनाले सबै सुरक्षा अंगसँग समन्वय गरिरहेको छ। अर्धसैनिक बल सशस्त्र प्रहरीलाई अति विशिष्ट व्यक्ति (भिभिआइपी) को आवतजावत हुने सडक क्षेत्रका पुलपुलेसा निगरानी, केही ‘हाई प्वाइन्ट भ्यु’को सुरक्षालगायत क्षेत्रमा सुरक्षाको जिम्मेवारी दिइने स्रोतको दाबी छ। सीको भ्रमण अवधिभर सशस्त्रका डग स्क्वायड, बम स्क्वायडसमेत परिचालन गरिनेछ।

सुरक्षा नेतृत्व परिचालन र अनुगमनमा गृहमन्त्री, गृहसचिव र शान्ति सुरक्षा महाशाखा प्रमुखको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाइएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शैलेश थापा क्षेत्री र नेपाली सेनाले पनि बलाधिकृत रथीको संयोजकत्वमा छुट्टाछुट्टै सुरक्षा समिति बनाएका छन् भने सशस्त्र प्रहरीले पनि डिआइजीको संयोजकत्वमा एउटा समिति बनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिभिआइपीको व्यक्तिगत सुरक्षा र संवेदनशील क्षेत्रमा खटिने तालिमप्राप्त तथा आधुनिक हतियार चलाउन सक्ने दक्ष जनशक्ति भए पनि सरकारले कार्यविधि बनाएर सेनालाई जिम्मेवारी दिइसकेपछि सेनाले नै त्यसको नेतृत्व गर्ने गरेको छ। यसअघि बिम्स्टेक सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदा पनि सेनाले नै सुरक्षाको नेतृत्व गरेको थियो।

नेपाली सेनाको सैनिक गुप्तचर विभाग (डिएमआई), राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष प्रहरीले दिएको रिपोर्टलाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षा संयन्त्रसँग छलफल गरिरहेको छ। ‘फ्री तिब्बत’ समूह तथा केही समयअघिबाट नेपालमा बढिरहेको चीनविरोधी समूहबारे सरकारका गुप्तचर निकायले निगरानी बढाएका छन्। ‘फ्री तिब्बतका अतिरिक्त केही समयअघिबाट चीनविरोधी केही तŒव सक्रिय रहेको पनि देखियो। त्यसबारे सुरक्षा निकायले निगरानी बढाएका छन्,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘सुरक्षा अवस्था निकै मजबुत छ। त्यसकारण तिब्बती शरणार्थाीहरूबाट सुरक्षा थ्रेटको सम्भावना देखिँदैन। उनीहरूको क्याम्पमा पर्याप्त सुरक्षा दिइएको छ। अन्य स्थानबाट हुन सम्भावित थ्रेटको पनि नियन्त्रण भइसकेको छ।’

२२ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो। यसअघि सन् १९९६ मा तत्कालीन राष्ट्र जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेका थिए। चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय भए पनि सरकारले त्यसलाई औपचारिक घोषणा गरेको छैन। सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति पिङ आउने कुरा निश्चित भएको तर मिति भने अझै तय भइनसकेको बताए। ‘उहाँ आउने कुरा सत्य हो तर मिति अझै फिक्स्ड भएको छैन। हामी तयारीमा छौ उहाँको स्वागतका लागि नेपाली जनता आतुर छन्,’ उनले नागरिकसँग भने। उनका अनुसार सरकारका तर्फबाट गर्ने सबै प्रकारको तयारी भइरहेको छ।

१४ आश्विन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको