अक्षयकोष स्थापनासँगै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


पुस २५, सिन्धुपाल्चोक । वैदेशिक रोजगारीका लागि युएई गएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले आफ्नो जन्मदिनको उपलक्ष्यमा बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कार स्थापनासँगै आफुले अध्ययन गरेको विधालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

गत पुस २० गते आफ्नो ३४ औ जन्मदिनको अवसरमा घोषणा गरेको प्रतिबद्धता एक सातामै पूरा गरेर थापाले आफुले अध्ययन गरेको इन्द्रावती-१०, पाटीगाउँमा रहेको श्री सरस्वती आधारभूत विधालयमा ५० हजार रुपैयाँको अक्षयकोष खडा गरी बुबाआमाको सम्मानमा पृथ्वी-नन्द प्रोत्साहन पुरस्कार” स्थापना गरेका हुन् ।

विधालय ब्यवस्थापन समितिका अध्यक्ष बद्री थापाको अध्यक्षता र यस कोषका संरक्षक समेत रहेका पृथ्वीबहादुर थापाको प्रमुख आथित्यमा भएको अक्षयकोष हस्तान्तरण कार्यक्रममा उक्त विधालयमा अध्ययनरत सबैलाई कापीकलम वितरण गरिएको थियो ।

अध्यक्ष थापाले यो कार्य उदाहरणीय रहेको बताउदै आफ्नो जन्मदिनलाई सामाजिकीकरण गर्नुपर्ने प्रेरणा मिलेको बताए । कार्यक्रममा बोन्दै उत्तम थापाकी आमा नन्दकुमारी थापाले आफू मरेर गए पनि अमर रहने गरी आफ्नो छोराले नयाँ सोच ल्याएकोमा आफुलाई भाग्यमानी आमा भएको अनुभव सुनाएकी थिइन् ।
पुरस्कार स्थापना तथा कोष हस्तान्तरण कार्यक्रममा स्थानीय वडाका जननिर्वाचित सदस्य विनोद थापा, मनकुमारी तामाङ, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा करिब ११ वर्षदेखि युएईको फुजेरामा काम गरिरहेका थापा युएईको नेपाली सामाजिक जीवनमा कृयाशिल र प्रष्टवक्ता ब्यक्तित्व हुन् ।

प्रवासी नेपाली मञ्च, फुजेरा क्षेत्रीय समितिका अध्यक्ष समेत रहेका थापाले आफ्नो ३४ औ जन्मदिनको अवसर पारेर आफ्ना समाजसेवी बुबा पृथ्वीबहादुर थापा र कर्मयोगी आमा नन्दकुमारी थापाको सम्मानका खातिर “पृथ्वी-नन्द प्रोत्साहन पुरस्कार” आफुले अध्ययन गरेको विधालयमा रहेका विद्यार्थीहरुलाई बर्सेनि प्रदान गर्ने बताएका छन् ।

यो विधालयमा यो वर्ष ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने र त्यो कोषलाई आगामी दिनमा बढाउदै लैजाने यस कोषका परिकल्पनाकार उत्तम थापाले बताएका छन् । यो कोषको ब्याजबाट प्राप्त रकमलाई कोष संचालक समितिको निर्णयबाट गरिब तथा असहाय बिद्यार्थीलाई बर्सेनि पुरस्कार प्रदान गरिने थापाले बताएका छन् ।

यो कोष संचालनका लागि सोही विधालयका प्रधानाध्यापक सुदर्शन अधिकारीको संयोजकत्वमा विधालय ब्यवस्थापन समितिका अध्यक्ष बद्री थापा, शिक्षक माधवप्रसाद अधिकारी, र आमा नन्दकुमारी थापा रहेको एक समिति गठन समेत गरिएको र समितिको संरक्षकमा बुबा पृथ्वीबहादुर थापा रहने कोष का संस्थापक उत्तम थापाले बताएका छन् ।

जन्मदिनको मनाउने फरक तरिकाले समाजको शैक्षिक र सामाजिक विकासमा निस्चय नै सेवा पुग्ने यस कोषका संयोजक सोही विधालयका प्रधानाध्यापक सुदर्शन अधिकारीले बताएका छन् ।

बर्थडे पार्टीको नाममा लाखौं फजुल खर्च गर्नेहरूको तुलनामा परदेशमा मजदुरी गरिरहेका उत्तम थापाको निर्णय साच्चिकै उत्तम रहेको उत्तमका दाजु तथा विधालय ब्यवस्थापन समितिका अध्यक्ष बद्री थापाले प्रतिक्रिया दिएका छन् ।

पुरस्कार ब्यवस्थापन समितिका सदस्य तथा शिक्षक माधवप्रसाद अधिकारीले रोजगारीको लागि बिदेश गएका उक्त क्षेत्रका हजारौं युवाहरुको लागि उदाहरणीय काम भएको र अरुले पनि उत्तमको झै समाजको हितको लागि काम गर्नुपर्ने बताएका छन् ।

गाउँमै उदाहरणीय काम गरेकोमा विधालयले उत्तम थापालाई सोही कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै सम्मान समेत गरेको छ ।

२५ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको