विप्लव समर्थक आरोपमा पक्राउ अभियन्ता कार्की रिहा


असार १६, काठमाडौं । विप्लव नेकपालाई सघाएको आरोप लागेर एकहप्ता अघि पक्राउ परेका जाजरकोटका नरबहादुर कार्की आज रिहा भएका छन् । उनी सकारात्मक सोचका जीवन प्रशिक्षक, चलचित्र निर्माता तथा नो ट्याक्स, नो एनसेल अभियानका अभियन्ता हुन् ।

सोमबार (आज) साँझ करिव ६ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहाइ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

केही समय अघिदेखि उनी विप्लव नेतृत्वको नेकपाको समर्थनमा पनि अभिव्यक्ति दिँदै आइरहेका थिए । गत असार १० गतेलाई विप्लव नेकपाले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सकारात्मक सोचका अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक तथा चलचित्र निर्माता समेत रहेका कार्की पक्राउको विरुद्धमा सामाजिक सञ्जालमा व्यापक असन्तुष्टिका आवाजहरू देखिएका थिए । एक्हप्ता अघि नेपाल आज अनलाइन टेलिभिजनमा अन्तरवार्ता दिइरहेका कार्कीलाई स्टुडियोबाट निस्केजगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

एनसेलको करछलीको विरुद्धमाको ह्याश ट्याग सहित अभियानको नेतृत्व गरिरहेका कार्कीलाई नियन्त्रणमा लिनु न्यायोचित नभएको र तुरुन्तै विना शर्त रिहाईको लागि सामाजिक संजालमा आवाज उठिरहेका थिए । उनी चलचित्र निर्माता समेत हुन् ।

केही समयअघि उनले कलाकार रेखा थापालाई साथ लिएर चलचित्र मालिका निर्माण गरेका थिए । मालिकामा पश्चिम नेपालको दुरदराज बस्तीमा नेपाली छोरीहरुले भोग्नु परेको पीडाका बारेमा देखाइएको छ ।

१६ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको