चैत १८, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु घनश्याम श्रेष्ठ (पुस्कर), माधव गौतम तथा कृष्ण कुमार श्रेष्ठ(प्रज्वल)लाई गिरफ्तार गर्नुको कारण देखाउन विपक्षीहरुका नाममा आदेश दिएको छ ।
सर्वाेच्च अदालतका न्यायाधिश न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले छुट्टाछुट्टै परेका तीन वटा रिट निवेदनमाथि सुनुवाई गर्दै साे आदेश दिएको हो ।
चैत १० गते गिरफ्तार पुस्कर र गौतम तथा चैत १३ गते गिरफ्तार प्रज्वलको रिहाईको माग गर्दै सर्वाेच्चमा आईतवार छुट्टाछ्टै तीन वटा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
इजलास नम्बर ४ मा भएको बहसमा निवेदकका पक्षबाट सोमबार वरिष्ठ अधिवक्ता एकराज भण्डारी,अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्तिराम ढुङ्गाना, अधिवक्ता राजु अधिकारीले बहस गरेका थिए । अदालतले तीन दिनभित्र उनीहरुलाई गिरफ्तार गर्नुको कारण देखाउन भनेको छ ।
पुस्कर नेकपाको व्युरो संयोजक तथा गौतम व्युरो सदस्य हुन् भने प्रज्वल जिल्ला ईन्चार्ज हुन् । सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग गर्दै प्रज्वलका तर्फबाट बिनोद श्रेष्ठले र पुस्करका तर्फबाट उनकी पत्नी गीता खरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
यस्तै माधव गौतमको हकमा भाई सन्जिव गौतमले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
पुस्कर र गौतमलाई इलाका प्रहरी कार्यलय ईटहरीमा राखिएको छ । भने प्रज्वललाई इलाका प्रहरी कार्यलय लौकहिमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस