चैत १८, काठमाडौं । सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसका सांसदहरुले हावाहुरी पीडितलाई राहत दिने घोषणामा प्रतिष्पर्धा भएको छ ।
आइतबारको आँधिबाट प्रभावितलाई राहत पुर्याउन नेकपाका सांसदले १ दिनको तलब दिने निर्णय गरे। लगत्तै नेपाली कांग्रेसका सांसदले २ दिनको तलब दिने घोषणा गरेका छन्।
नेकपाको संघीय संसदीय दलको कार्यालयका तर्फबाट उपनेता सुवासचन्द्र नेम्वाङले सोमवार विज्ञप्ति जारी गरी नेकपाका संघीय दलका पदाधिकारी तथा सम्पूर्ण सांसदको तर्फबाट १ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको जनाएका छन्।
यस्तै, कांग्रेसका सांसदले २ दिनको तलब दिने घोषणा गरेका छन्।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७५ चैत्र १७ गते आइतवारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरूका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरूको दुई दिनको तलब बराबरको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ।’
प्रतिक्रिया दिनुहोस