यस्तो छ प्रदेश ५ को राजधानी र नामकरणबारे पाल्पाबासीको सुझाव


फागुन १७, पाल्पा । पाल्पाको तानसेनमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागीले नामकरण लुम्बिनी र स्थायी राजधानी बुटवल हुनुपर्ने सुझाव दिएका छन् ।

सहभागीले नामकरण ‘लुम्बिनी’ हुनुपर्नेमा जोड दिए भने स्थायी राजधानी बर्दियादेखि रुकुम पूर्वसम्मलाई सहज हुने स्थान रोज्न सुझाए ।

‘राजधानी सबै जिल्लालाई पायक पर्ने स्थानमा हुनुपर्छ भन्ने लाग्छ,’ नेकपाका नेता धनेन्द्रराज घिमिरेले भने, ‘यस विषयमा सबैको सुझावलाई कार्यान्वयन गर्नुपर्छ ।’ संघीयताको अनुभूति दिलाउन राजधानीमा सबैको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिए । विभिन्न क्षेत्रबाट सहभागी सयभन्दा बढीले लिखित सुझावसमेत दिएका थिए ।

नागरिक समाजका अगुवाले अहिले जहाँ तोकिएको छ, त्यहीं नै पछि स्थायी हुनुपर्नेमा जोड दिए । जिल्ला कांग्रेस सचिव झपेन्द्र गहिरेले नाममा ‘लुम्बिनी’ उपयुक्त भएको बताए । उनले स्थायी राजधानीका विषयमा भैरहवा विमानस्थल र हरेक हिसाबले रूपन्देही ठीक हुने बताए । बर्दिया र रुकुमपूर्वलाई पनि यातायातको सहज पहुँच हुने रूपन्देही नै भएको उनले बताए ।

राजधानीलाई आवश्यक पर्ने भौतिक संरचना तयार हुँदै गएकाले पनि अब अन्यत्र सार्न नहुने उनको तर्क थियो । राजधानीलाई आवश्यक पर्ने प्राकृतिक स्रोत साधनका साथै अन्य हिसाबले पनि रूपन्देही उपयुक्त भएको रेडक्रस सोसाइटीका सभापति बुद्धिप्रसाद शर्माले बताए । समितिका संयोजक दीपेन्द्र पुनमगरले १२ जिल्लामा दुईरदुई जिल्ला हेर्ने गरी समूहले सुझाव संकलन गरिरहेको बताए ।

सबैको राय बुझेर मात्र निर्णय लिने भएकाले पनि यसरी लिखितै सुझाव संकलन गरिएको उनले बताए । पाल्पा र गुल्मीका लागि प्रदेशसभा सदस्य बाबुराम गौतम, भुवनेश्वर चौधरी, सहस्राम यादव खटिएका छन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पायक पर्ने स्थान बुटवल र लुम्बिनी नै स्थायी राजधानी र नामांकन हुनेपर्नेमा जोड दिए ।

२०७५ फाल्गुन १७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको