गोविन्द केसीले तोडे अनशन


माघ १८, काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेका हुन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा डा. केसीले २४ औं दिनमा अनसन तोडेको बताइएको छ । डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अनशन तोडाएका हुन् ।

सो क्रममा डा केसीले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनशन तोडेको बताए ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताए । डा केसीले इलाम पुगेर अनशन शुरु गरेका थिए । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएछि सरकारले डा केसीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।

डा. केसीलाई आजै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भेटेका थिए ।

उनीहरुले डा. केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यस्तै आजै प्रा. डा. मदन उपाध्याय, प्रा. डा. रमेशकान्त अधिकारी, प्रा. डा. अर्जुन कार्की, प्रा. डा. भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाईं र रविन्द्र सिंह बानियाँलगायतले भेटेरै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

२०७५ माघ १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको