दाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो


सन्तोषकुमार गुप्ता/कात्तिक १४, दाङ । देउखुरीको भालुवाङमा केही दिन पहिले मृत भेटिएका एक युवकको मंगलबार पहिचान खुलेको छ ।

गत कार्तिक ७ गते देउखुरीको राप्ती गाउँपालिका—१ पुरानो भालुवाङ बजारको दक्षिण राप्ती नदी तटबन्ध तारमा झुण्डिएको अवस्थामा मृत फेला परेका व्यक्तिको लाश झण्डै एक हप्तापछि पहिचान खुलेको हो ।

प्यूठान जिल्ला झिम्रुक गाउँपालिका—२ बाँदीकोट घर भई हाल नवलपरासी पश्चिम सुस्ता पुनर्बास स्थित बर्दघाट नगरपालिका—१ बस्ने बर्ष ४० का शिबबहादुर रोकाको लाश रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार मृतकका भाई चेतबहादुर रोकाले दाजु शिबबहादुर कार्तिक ५ गते बिहान सदाझै मर्निङ्गवाकमा गएको र त्यसपछि घर नफर्केकाले केही खतराको महसुस गरी दाजु हराएको हुलिया बर्दघाट प्रहरी कार्यालयमा निवेदन गरेको र दाजुको फोटो आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत खोजबिनमा सहयोग पु¥याइदिन अपिल गरेपछि राप्ती गाउँपालिका—१ भालुवाङ निवासी आफ्ना परिचित नातेदारले मृत अवस्थामा खिचेको लाशको फोटो आफ्नो फेसबुकमा राखेको फोटोलाई एकिन गर्न खोज्दा मिल्न गएकोले त्यसैको आधारमा उक्त लाश सनाखत भएको बताए ।

मृतक शिबबहादुरको २०७५ कार्तिक ७ गते राप्ती गाउँपालिका—१ पुरानो भालुवाङ बजारको दक्षिण राप्ती नदीको तटबन्ध तारमा पाइन्टको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उक्त लाशको शरिरै भरि चोटपटक लागेको र नजिकै रक्सीका बोतलहरु एवम् ती बोतलहरुमा रगत समेत लागेको अवस्था रहेको प्रहरीले जानकारी गराएको छ ।

मृतक शिबबहादुर गत २०७४ मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट नबलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभा प्रत्यक्ष उम्मेदवार समेत बनेका थिए ।

मृतक रोका राष्ट्रिय जनमोर्चा नबलपरासी (पश्चिम) जिल्ला कमिटी सदस्य, राष्ट्रिय जनमोर्चा बर्दघाट नगरपालिका कमिटी उपाध्यक्ष र अखिल नेपाल युवक संघ नवलपरासी (पश्चिम) जिल्ला सचिवको जिम्मेवारीमा रहेको राजमो नबलपरासी (पश्चिम) जिल्ला कमिटीका अध्यक्ष रेम रानाले जानकारी दिए ।

मृतक रोकाको शब हत्या वा आत्महत्या यथार्थ एकिन गर्न मदत पुग्ने हेतुले काठमाडौं स्थित टिचिङ्ग हस्पिटलमा पोष्टमार्टम गरी पुन ः भालुवाङ ल्याई लावारिस अवस्थामै राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुको रोहबरमा राप्ती नदीको किनारामा खाडल खनी दफनाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

मृतक शिबबहादुर के को शिलशिलामा भालुबाङ आएको र कसरी मृत्यु भएको ? भन्ने बिषयमा अनुसन्धान भइरहेको ईप्रका भालुबाङले जनाएको छ । तर अहिले सम्म मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट र ल्यापटेस्टको रिपोर्ट आएपछि मात्र मृत्युको कारण पत्ता लाग्ने प्रहरी प्रमुख पाण्डेले बताए ।

साथै मृत्युको कारणका बिषयमा अनुसन्धान भईरहेको र छिट्टै नै कारण खुल्ने प्रहरी प्रमुख पाण्डेको भनाई छ । यता मृतक शिबबहादुरका भाई चेतबहादुर रोकाले दाजुको हत्या नै गरिएको भन्दै तत्काल अनुसन्धान गरी दोषी पत्ता लगाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै मंगलबार नै ईलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी समेत दिएका छन् ।

मृतक शिबबहादुरको बुधबार दिउँसो राप्ती नदीमा राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर अन्तिम दाहसंस्कार तथा शोकसभा गरिने राजमो नबलपरासी जिल्ला कमिटी अध्यक्ष रेम रानाले जानकारी दिए ।

मृतक रोकाको तीन छोरा र एक श्रीमती छन् । उनी बर्दघाटमा अटो चालकका रूपमा काम गर्दै आएका थिए । यता भालुवाङ क्षेत्रमा पछिल्लो समयमा यसरी मानिसहरु मृत अवस्थामा फेला परिरहनु र उनीहरुको मृत्यु अज्ञात रही रहनुले स्थानीय बासिन्दाहरु चिन्तित र त्रसित समेत बनेका छन् ।

१४ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको