गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन


भदौ १५, काठमाडौं । नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान १ बजेर पाँच मिनेटमा बानेश्वरस्थित आफ्नो नीजि निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष राम केशर बोगटीले जानकारी दिएका छन् । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए ।

रिमालप्रति श्रदाञ्जली अर्पण गर्न अहिले उनको बानेश्वर हाइटस्थित निवासमा कलाकारहरुको भीड लागेको छ । उनको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि अाजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनी कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा अब्बल मानिन्छन् । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन् ।

वि.सं. २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए ।

नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए। उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक) लाई शिखरमा पुर्‍याउने काम गरे ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको