डिल्ली मल्ल
हिउँदयामको ठिहिर्याई, बुँरासेको लेक ! नाङ्गा खुट्टाले तुसारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो । थाहा त थियो मलाई- हामी सबैलाई । एक न एकदिन जरुर छुट्टिनुपर्नेछ । पृथ्वीको भार भएपनि, प्रकृतिको उपहार भए नि, जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै- सांसारिक झमेलाबाट मुक्त भएर । तर, यति छिट्टै, यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन ।
आखिर किन त्यसदिन उनले थोरै भएपनि मसँग सुख दुःखका कुराकानी गरे होलान् ? किन काँधमा धाप मार्दै उज्वल भविष्य र सफलताको कामना गरे होलान् ? साँच्ची ! भोलिको बिहान नउदाउँदै उनी सांसारिक झमेलाबाट दूर भैसक्नेछन् भन्ने थाहा भैदिएको भए………. ? खैर, यो त फगत कल्पना मात्र हो ।
०६२ मंसिर १४ को त्यो बिहान ! अस्थायी सेन्ट्री पोष्टकै छेऊ बाँझको बोटमुनि ओभानो ठाउँ खोजेर गफिएका थियौं हामी- क.निर्मम र म । थोरै गाउँघरका बारेमा, अलिकति साहित्य र साँस्कृतिक आन्दोलनका बारेमा अनि केही सैन्य जीवनका दिनचर्या र प्रत्याक्रमणको दोस्रो योजनाका बारेमा । घाम उदाउनुपूर्व नै भएको त्यो भेटमा उनले मलाई धेरै हौस्याएका थिए, कलम चलाइरहन प्रेरणा दिएका थिए, केही सल्लाह सुझाव र निरन्तर क्रियाशीलताको आग्रह पनि । भेटमा उनले आफ्नो भर्खरै प्रकाशित कथा संग्रह ‘अभ्यस्त सिपाही’ मलाई दिने वाचा पनि गरेका थिए । तर, उनीसँगको त्यो भलाकुसारीपछि अर्को बिहान नउदाउँदै उनको सहादत भयो । र, सहादतसँगै उनको कृति पनि गुमनामजस्तै बनेको छ अहिलेसम्म ।
३/४ दिनदेखि हामी बुँरासेमै थियौं- सल्यान दमाचौरको बुँरासेगाउँमा । विशाल जमघट थियो माओवादी नेता, कार्यकर्ता, जनसेना र साँस्कृतिक कर्मीहरुको- करीब ४ हजारको संख्यामा । कार्यक्रम थियो, केन्द्रीय आधारइलाकामा कार्यरत जनमुक्ति सेना नेपाल पाँचौं डिभिजनको घोषणा तथा रणनैतिक प्रत्याक्रमणको दोस्रो चरणको योजना सम्प्रेषण । ठाउँ-ठाउँमा त्रिपाल टाँगेर मेष चलाइएको थियो भने गाउँकै छेऊमा रहेको खुल्ला चौरमा ठूलो हल बनाइएको थियो- कार्यक्रमका लागि । त्रिपालले ढाकेर बनाइएको उक्त हलको माथिबाट खर्सु, बाँझ र अरु स्याउलाले छोपिएको थियो- कार्यक्रम ‘एक्सपोज’ हुनबाट जोगाउन र दुश्मनको सम्भावित आक्रमणबाट बच्न ।
चिसो निकै बढेको थियो । एकातिर शाहीकालको संकटलकाल- कुइरे सरकारको सहयोगप्राप्त विशेष जासुसी विमानको दिनदिनैको निगरानी, हेलिकोप्टरको हवाई गस्ती, अर्कोतिर पहाडको टाकुरो, हिउँदयामको ठिहिर्याईमा लत्ताकपडाको अभाव । जेनतेन गाउँलेहरुको सहयोग, माया ममता र स्नेह, आफैले बोकेका केही कम्बल र स्लीपिङ ब्याक अनि खर्सु र बाँझका पातको ओछ्यानले २/४ रात सन्तोषपूर्वक नै बिताइयो बुँरासेमा । तर, विडम्बना ! जुन दिन हामी हिड्नु थियो त्यहाँबाट, त्यही दिन अर्थात् २०६२ मंसिर १४ को त्यो साँझ ! बडो दुर्भाग्यपूर्ण, बडो दुर्दशापूर्ण र अत्यन्तै पीडादायक बन्न पुग्यो ।
भन्छन्- ‘दिनको संकेत बिहानीले गर्छ ।’ त्यसदिन बिहानैदेखि निको चाला त देखिएको थिएन । अघिल्लो दिन साँझ एकैछिन बुँरासेको आकाशमा उडेको जासुसी विमान त्यसदिन बिहानै दुइटा दुच्छर हेलिकोप्टरसहित हामीलाई ओछ्यानमै भेट्ने गरी आइपुगेको थियो । बिहान दश नबज्दै जासुसी विमान र दुईवटा हेलिकोप्टरले डल्सिङ्गेदेखि पाथीहाल्ना, बुँरासे, जथाक एवं झिम्पे लेकको जंगल क्षेत्र र आसपासको आकाशमा दशौंपटक हवाई गस्ती गरिसकेका थिए । यता बुँरासे गाउँमा भने हलभित्रको कार्यक्रम सकिइसकेको थियो र खुल्लासभामा जनमुक्ति सेनाको डिभिजन घोषणा गर्ने कार्यक्रम बाँकी थियो । आधिकारिक रुपमा बि्रगेडस्तरको सैन्य संरचनामा रहेको माओवादीले आजैदेखि देशभर पाँच वटा डिभिजनको घोषणा गर्ने कार्यक्रम थियो । जसले गर्दा शाहीकालीन दुच्छरहरुलाई ठूलो संकट र आतंक आइलागेको थियो ।
बिहान दश बजेतिर खाना खाइवरी खुला सभाका लागि कार्यक्रम स्थल सल्यान र रोल्पाको सिमाना मनिमारेतर्फ लागियो । जनसेना, कार्यकर्ता र स्थानीय सर्वसाधारणको ठूलो फौज मनिमारेतिर लागिरहँदा आकाशमा जासुसी विमान र हेलिकोप्टरको हवाई गस्ती जारी थियो । स-साना खर्सु, गुराँस र बाँझका बुट्यानहरुको पातलो जंगलमा त्यति धेरै मान्छेहरु चाहेर पनि छिप्न सक्ने अवस्था थिएन । हामी जति मनिमारेको नजिक पुग्दै थियौं, हेलिकोप्टर र विमान हाम्रो थाप्लै माथि-माथि पो उड्न थाले । हुँदाहुँदा कार्यक्रमस्थल नजिकको टाकुरामै हेलिकोप्टर ल्याण्ड गर्न खोजेपछि जनसेनाले आक्रमण गरिहाल्यो । जनसेनाको आक्रमणबाट क्षतिग्रस्त हेलिकोप्टर हतार-हतारमा सल्यान खलंगातिर हुइकियो । बाँकी लडाकु हेलि र जासुस विमान पनि एकैपटक पत्तासाफ भए । दुश्मनको हवाई गस्ती र जनसेनाको जवाफी आक्रमणपछिको स्थितिको मूल्याङ्कन गर्दै कमाण्डर र नेतृत्वले तत्कालै दिउँसो ११ बजे गर्ने भनिएको कार्यक्रम साँझ ३ बजे गर्ने निर्णय गरी सबैलाई उच्च सतर्कताका साथ जंगल, टाकुरा र घरभित्र बस्न निर्देशन जारी गरे ।
तस्बिरमा २०६२ मंसिर १४ गते साँझ रोल्पा जिनावाङको मनिमारेमा तत्कालिन दुश्मन सेनाको हवाई हमलामा शहीद हुनुभएका जनमुक्ति सेना नेपाल पाँचौं डिभिजनका तत्कालिन कमाण्डर रोल्पा गजुलका किमबहादुर थापा ‘सुनिल’ र सोही डिभिजन अन्तर्गत बटालियन सह-कमाण्डर सल्यान कालागाउँका झक्कुप्रसाद पुन ‘निर्मम’ ।
दिउँसो ३ बजेतिर चारैतिरबाट मनिमारेको फिल्डमा जनसेनाहरुको ओइरो लाग्ने क्रम शुरु भइसकेको थियो । कमिलाको ताँतीजस्तै निस्किएको जनसेनाहरुको लहरले एकैछिनमा मनिमारेको चौर पूरै भरियो । र, कार्यक्रम शुरु भयो । जनसेनाहरुलाई रोलकल गराउँदै डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ले पाँचौं डिभिजनको विधिवत् घोषणा गर्नुभयो । कार्यक्रममा तत्कालिन केन्द्रीय आधारइलाका ‘राप्ती क्षेत्र’का ईन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’, तत्कालिन पाँचौं डिभिजनका राजनैतिक कमिस्नर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अबेर शुरु भएकोले चिसो बढिसकेको थियो । तैपनि पहिलोपटक डिभिजनस्तरको फर्मेशन घोषणा गर्न पाउँदाको गर्व, जोश, जाँगर र उत्साहले चिसोको पर्वाह नै नगरेको जस्तो भान हुन्थ्यो । आधारइलाकामा कार्यरत प्रतिरोध साँस्कृतिक परिवारका कलाकारहरुको क्रान्तिकारी र विद्रोही भावका गीतसंगीत एवं डिभिजन कमाण्डर सुनिलको जोडदार कासन अनि युवा नेता विप्लवको सान्दार भाषणले सायद जनसेनाका प्रत्येक सदस्यहरुको नसा-नसामा रक्तप्रवाह तीव्र भइरहेको थियो ।
बिस्तारै सूर्य हराउन खोज्दै थिए- पश्चिमी क्षितिजमा । सम्मुखमै उभिएको जथाक र पारि-पारि क्षितिजमा आकाशै छोएझैं देखिने सिस्ने, च्याखुरे, रमका र बल्लजुरे हिमालमा थोरै मात्र रातो घाम बाँकी थियो । निलो आकाशमा अब त घामका राता किरणहरु प्रष्टै देखिन थालिसकेका थिए । गोधूली साँझको पश्चिमी क्षितिज झन् रातो देखिन्थ्यो । पश्चिमतिर चार/पाँचवटा घर र गोठहरुबाहेक सबैतिर जंगलले घेरिएको मनिमारेको फिल्ड खचाखच भरिएको थियो- जनसेना र जनसमुदायको फौजले । सायद घडिमा त्यस्तै ५ बजेको हुनुपछर्, यता कार्यक्रम चलिरहेको थियो- मञ्चमा जनसेनाका डेपुटी कमाण्डर पासाङ बोलिरहनुभएको थियो ।
एक्कासी मनिमारेको आकाशमा जासुसी विमान देखियो, सँगसँगै लडाकु हेलि पनि । बिहान जनसेनाको आक्रमणपछि पत्तासाफ भएको विमान एकैपटक साँझ पो देखियो । आकाशमा विमान र हेलिले चक्कर काट्न थालेपछि आक्रमण गर्ने करिब-करिब निश्चितजस्तै भइसकेको थियो । दुश्मनले विमान र हेलिबीच एकआपसमा कुरा गरेको हामीले रेडियो सेटमा स्पष्टसँग सुनिरहेका थियौं । विमानबाट हेलिलाई बारम्बार ‘छिटो आक्रमण गर’ भनेर निर्देशन दिइरहेको थियो भने हेलिबाट ‘ख्वैं कहाँ छन्, त्यहाँ चौरमा त रातो झण्डाबाहेक केही छैन’ भनिरहेको थियो ।
दुश्मनको योजना खुलिसकेपछि डिभिजन कमाण्डर सुनिलले सबैलाई आ-आफ्नो आर्क र जंगलतिर जान निर्देशन दिनुभयो र जनसेनाहरु निर्देशनबमोजिम आ-आफ्नो आर्क र जंगलतिर दौडिए । मञ्चमा केही साथीहरु सामान राख्दै हुनुहुन्थ्यो, त्यत्तिखेरै हेलिले एचएमजी, जीपीएमजी, मोर्टारलगायतका अत्याधुनिक हतियारबाट अन्धाधुन्ध हमला गरिहाल्यो । एकैछिन अघिसम्म शान्त मनिमारे, बुँरासे, जथाक र आसपासको क्षेत्र बमगोलाको गर्जनले थर्किन थाल्यो । यता जनसेनाहरु बाँझ, ओखर, खर्सु र गुराँसका बोटहरुको कभर लिदै जंगलैभरि छ्याप्छ्याप्ती भरिए ।
त्यसपछिको स्थिति, ख्वैं ? मैले कुन शब्दमा लेखुँ युद्धमैदानको सघन अनुभूति ? खुट्टामुनिको जमीन जोत्दै पड्किने मोर्टार र कानैनिरबाट सुइकिने गोलीका पर्राहरुको बीचमा बाँचिरहदाको असीमित आतंक र आक्रोश । गोलीका पर्राहरुले भाँचिएका रुखका हाँगाहरु टाउकैमाथि खस्दा लाग्थ्यो, हामी पनि पालो पर्खिरहेका छौं । अरु कता-कता दौडिए ? के-के सामान लिएर गए ? थाहा नै भएन । आफू त झोला र मेण्डुलियन बोकेर व्यानर तान्दै थिए, छेऊमै गोलीले धूलो उडाउन थाल्यो, त्यसपछि जंगलतिर टाप कसें । बडो विडम्बना त यो भयो कि साथमा भिडियो क्यामेरा हुँदाहुँदै हवाई हमलाको दृश्य लिन सकिएन । कारण- ब्याट्रीको चार्ज सकिएको थियो । हुन त ब्याट्री चार्ज गर्नलाई हामी विद्युत् सुविधा भएको ठाउँमा कहिल्यै जान पाएनौं, जाने अवस्था पनि थिएन । एउटा मात्रै ब्याट्री, सधैं सोलार ब्याट्रीबाट चार्ज गर्ने हो त्यो पनि जहाँतहीं आजभोलिको जस्तो सम्भव थिएन । त्यसदिन झनै चार्ज गर्न नै पाइएको थिएन ।
एकतर्फी हवाई हमला जारी थियो । केही जनसेनाहरु र हामी चौरदेखि त्यस्तै डेढ सय मिटर तल स-साना बुट्यान र झाडीमुनि घुसि्रएर बसेका थियौं । बाँझ र खर्सुका पातले गोली त छल्दैनथे । तर, हामी कस्ता हुस्सु ! त्यही दृष्टिकभरमा लुकेर सुरक्षित ठानिरहेका थियौं । र, अरुलाई के भयो ? भनेर चिन्ता गरिरहेका थियौं ।
करिब २० मिनेटजतिको लगातार हमलापछि विमान र हेलि दुवै फर्किए । उनीहरुको फर्काईसँगै एकमनले ढुक्क हुँदै झाडीबाट त बाहिर निस्कियौं तर कसलाई के भयो ? भन्ने भयानक सन्त्रास, आशंका र चिन्ताले छट्पटाउँदै हतार-हतार पहिलेकै फिल्डमा आइयो । त्यसपछि….. हामी चौरमा निस्किदै गर्दा कोही रोएको आवाज सुनियो । चौरको डिलबाट देख्यौं- चार/पाँच जना साथीहरुले कसैलाई उचालेर जंगलतिर लिदै थिए । पछि कसैले यतिमात्र भन्यो- ‘डिभिजन कमाण्डर क.सुनिललाई टाउकोमा गोली लागेको छ ।’ उसको बोलीमा धर्मराहट थियो, त्यो भन्दा बढी सन्त्रस्त थिए उसका आँखाहरु । लाग्थ्यो- ‘कमाण्डर कमरेड सायद अब बाँच्नुहुने छैन ।’ उसका आँखाहरु यस्तै बोलिरहेका थिए ।
हामी जति थियौं चौरमा- त्यस्तै ४/५ जना । सन्त्रस्त, भयभीत र आतंकित आँखाले एक अर्कालाई हेर्नुसिवाय अरु केही बोल्न नै सकेनौं । एउटा भयानक सन्त्रास, कमाण्डर कमरेडको सम्भावित सहादतको आतंकले आधा चेत नै गुमेजस्तो भयो ।
अब त अँध्यारो भइसकेको थियो- गाढा रातो गोधूली साँझको पश्चिमी क्षितिजबाहेक । नजिककै साथीको अनुहार ठम्याउन पनि नसकिने बेला भइसकेको थियो । अलि-अलि गर्दै तितरवितर भएको टोली चौरमा जम्मा हुन थाल्यो । अस्पष्ट, अपुष्ट खबरले सबैतिर आतंकित बनाइरहेको थियो, खासखुस चलिरहृयो- करिब १५/२० मिनेटजति । केही समयपछि तल जंगलको छेऊबाट आएको चर्को रुवाई र कोलाहलले मुटु नै छेडेर गयो । त्यतिञ्जेलसम्मको सन्त्रास, भय र आतंक यथार्थतामा पुष्टि भइसकेको थियो ।
डिभिजन घोषणा भएकै दिन पाँचौं डिभिजनले कमाण्डर गुमाएर टुहुरो भइसकेछ । कमाण्डर क.सुनिलको सहादत भइसकेछ । त्यतिखेरै अर्को सनसनी फैलियो चौरमा- ‘बटालियन सहायक कमाण्डर क.निर्ममको पनि सहादत भयो ।’ कसैले सुनाउँदै थियो अरु कमरेडहरुलाई- ‘तल खोलामा पछाडिबाट लागेको गोलीले उत्तिबेलै निर्ममजीको पनि सहादत ……… ।’ मैले शब्दमा लेख्न सक्तिन, शोकाकूल परिवेशको त्यो सघन अनुभूति । युद्धमैदानमा आफ्नै आँखाअगाडि जीवनसंगी गुमाउनुपर्दाको पीडा बाग्मती थापाले कसरी सहनुभयो ? छोरा विजय र छोरी दिव्यज्योती पनि त्यही थिए । दुई/दुई जना होनहार प्रतिभा, बहादुर, क्षमतावान् कमाण्डर र सहयोद्धाको अप्रत्याशित क्षति, खै ? कुन शब्दमा लेख्ने पूरै स्तब्धता र शोकमा डुबेको त्यो विशाल फौजको असीमित पीडा ?
जनमुक्ति अभियानका राता सिपाहीको त्यो विशाल फौज फेरि पनि मनिमारेको त्यही चौरमा जम्मा भएको छ- बिल्कुलै फरक परिवेशमा । दिउँसोको त्यो उत्साह, खुसीयाली र हर्षोल्लास पूरै फेरिएको छ- स्तब्धता, भयानक सन्त्रास र वर्गवैरीप्रतिको तीव्र घृणा एवं आक्रोशमा ।
रात क्रमशः बितिरहेछ- सँगसँगै बढिरहेछ हिउँदयामको ठिहिर्याई पनि । जूनको धिमा प्रकाश धर्तीमा असरल्ल पोखिएको छ । लाग्छ, जून पनि रोइरहेछ । र, रोइरहेछन् लाखौंलाख ताराहरु पनि- क्रान्तियात्राका दुई धु्रवताराको आकस्मिक मृत्युवरणमा । पूर्वी क्षितिजमा लस्करै देखिन्छन् काला-काला ढिस्काहरुजस्तै सिस्ने, च्याखुरे, रमका र बल्लजुरेहरु- लाग्छ, वीरयोद्धाहरुको बलिदानीमा उनीहरु पनि शोकमग्न भई मौनधारण गरिरहेछन् । हिउँदयामको ठिहिर्याई, चिसो-चिसो सिरेटो र शरीरै भिजाउने शीतलहर पनि निष्प्रभावी भइरहेछ- वियोगको यो सघन पीडाबीच । जून पनि रोएको यो जूनेली रातमा काला-काला देखिने सयौं मानवाकृतिले मनिमारे पूरै ढाकिएको छ । झुण्ड-झुण्डबाट सुक्क-सुक्कसँगै निस्किएको हृदयविदारक चित्कार र टाढा कतै भुकिरहेका कुकुरको मधुरो भुकाईबाहेक सुनसान- पूरै सुनसान छ चारैतिर । पूरै निस्तब्ध, पूरै शोकाकूल छ परिवेश । लाग्छ, पीडाको यस घडिबीच हावा पनि शोकमग्न भई मन्द-मन्द बहिरहेछ ।
उनीहरु- क्रान्तियात्राका बहादुर सिपाहीहरु क.सुनिल, क.निर्मम हँसिया हथौडाअंकित रातो झण्डा ओढेर चुपचाप सुतिरहेछन्- चीर निन्द्रामा । दिनभर सुदूर भविष्यको लक्ष्य देखाउँदै हेरिरहेका आँखाहरु अहिले पूरै एकोहोरिएका छन्, टोलाइरहेका छन्, अहँ कहिल्यै नचिम्लिने गरी । हाँस्दै, रमाउँदै चल्मलाउने ओठहरु मौन छन्, स्थीर छन्- पूरै मौन, पूरै अविचल ।
मान्छे भएर जन्म लिइसकेपछि मन, मुटु र मानवता बोक्नै पर्दोरहेछ- चाहेर/नचाहेर पनि । अनि विछोडमा रुँदोरहेछ मन, घोच्दोरहेछ मुटु र दुख्दोरहेछ मानवता । तर, खै के गर्नु र, निष्ठूर समयको नियतिसँग ? जतिसुकै पीडाको पहाडले थिचेपनि । युद्धको यो अपरिहार्यता, बाध्यता र निर्ममता सहनै पर्दोरहेछ- आशावादले बाँधेर मन । ………..जबर्जस्त सहृयौं त्यसैगरि ।
र, त्यसपछि…….
जूनको त्यो धिमा प्रकाशमा ती ओजस्वी वीरहरुका अविचल शरीरलाई आफ्नै हातले मनिमारेकै माटोमुनि पुर्यौं । र, चिहानमाथि रातो झण्डा गाडेर अन्तिम सलामीसहित गन्तव्यका लागि बाटो लाग्यौं- असहृय पीडा, गह्रौं जिम्मेवारी र वर्गवैरीप्रतिको तीव्र घृणा अनि आक्रोश बोकेर ।
अन्तिम गन्तव्यका निम्ति थालिएको त्यो महान् यात्रा अझैं जारी छ ।
०६६ मंसिर २०, दाङ
दिल्ली मल्लको ब्लग बाट
प्रतिक्रिया दिनुहोस