परदेशीका हिजो एकदिन मिलेका खुसीहरु


मानव जातिलाई हरेक पलमा अभाव र असन्तुष्टिले घेराबन्दी गर्छन तर सकारात्मक सोंच लिएर अभाव र असन्तुष्टिहरुलाई सामाना गर्ने मानिसहरु खुसि भएर बाँच्न सक्छन ।

उसो त संसारमा सबै भन्दा सम्पन्नशालि व्यक्ति अलेक्जेन्डर पनि खुसि थिएनन । जिबनमा पुगेर होस् या नपुगेर होस्… हरेक संग अभाव र असन्तुष्टि भन्ने चिज सबै संग हुन्छ । तर त्यसलाई सकारात्मक भएर बुझ्ने र ग्रहण गर्ने मानिस मात्रै खुसी हुन सक्छन ।

युएई रोजगारमा रहेका लेखक तथा साहित्यकार जे. सागरले आफु कसरि खुसी रहन सकिन्छ भन्ने बारे केहि टिप्सहरु यसरि बाँडेका छन् ।

खुसि नम्बर एक: मलाई हिजो बेलुका एकदम खुसी लाग्यो जब मेरो व्यस्तताको बाबजुद पनि मेरी श्रीमती मसँग लामो कुरा गर्न नपाएकोमा गुनासो गरिन्, घुर्की लगाइन् ।

खुसी यसकारण लाग्यो कि – वर्षौं एक्लै छोडेर प्रवास बस्दा पनि मेरी श्रीमतीको मन म बाहेक अन्यत्र गएको छैन मसँगै कुरा गर्न लालायित छिन् ,मसँगै समर्पित छिन् । यसको निम्ति भगवानलाई धन्यवाद!

खुसि नम्बर दुई: म साँझमा पनि खुसी भएँ जब दिनभरिको कामले म बेस्सरी थाकें, थकाइले लोत परें, हलचल गर्ने जाँगर थिएन ।

खुसी यसकारण लाग्यो कि – मसँग दिनभरि कडा परिश्रम गर्ने तागत र हिम्मत अझै छ । यो संसारमा कति मान्छे श्रम गर्न चाहेर पनि शारीरिक अवस्थाले दिएको छैन ।ती भन्दा म कत्ति भाग्यमानी !! यसको निम्ति पनि भगवान प्रति आभारी छु ।

खुसि नम्बर तिन: मलाई हिजो बिहानै खुसी लाग्यो जब मैले काम बिगार्दा मेरो बोसले मलाई बेस्सरी गाली गर्यो ।

खुसी यसकारण लाग्यो कि – मैले नयाँ केही गर्दैछु र त बिगार्छु ,गाली गर्छ र त सिक्न पाउँछु । यदी मैले केही गर्नै नसक्ने हुन्थें भने न मैले केही बिगार्थें न गाली खाएरै भए पनि सिक्ने मौका पाउँथें । भगवान तपाईं धन्य हुनुहुन्छ ।

खुसि नम्बर चार: हिजो सबैभन्दा खुसी त त्यतिबेला लाग्यो जब पर्स खोलेर हेर्दा रित्तो थियो ।

खुसी यसकारण लाग्यो कि – मेरो आश्रयमा मेरा आफ्ना भन्नु धेरै छन् र पो त म खाली हुन्छु । छोराले कहिले पैसा पठाउला भनेर सम्झने मेरा बा आमा हुनुहुन्छ । श्रीमानले कहिले पैसा पठाउनुहोला भनेर आशा गर्ने श्रीमती छ । बाबाले कहिले पैसा पठाउनुहोला र रमाउँला भन्ने मेरा बालबच्चा छन् ।

गाह्रो साँघुरोमा सहयोग गर्ने हाम्रो भाइ, छिमेकी, नाता छ भनेर आशा गर्ने आफन्त छन् र त म रित्तो हुन पाएको छु । यदी म माथी आशा गर्ने कोही थिएनन् र म एक्लो थिएँ भने मेरो जिन्दगी कति नीरस हुँदो हो ।मैले जति कमाएपनि र एक्लै जति रमाएपनि आफ्नो सोच्ने कोही थिएनन् भने यो पैसा मैले के नै गर्नु थियो र!यसको निम्ति पनि भगवानलाई धन्यवाद ।

खुसि नम्बर पाँच: हिजो दिउँसो बच्चाहरुसँग फोनमा कुरा गर्दा पनि खुसी लाग्यो जब मेरा बच्चाहरु बाबा हामीलाई खाजा सधैं म: म: चाउमिन खान मन लाग्छ तर हजुर खाली समोसा, पुरी तरकारी, पकौडा खाने पैसा मात्र दिनुहुन्छ भनेर गुनासो पोखे ।

खुसी यसकारण लाग्यो कि – अभावले मेरा बच्चाहरु म:म: खाने कुरामा रोइरहेका छन् । यथेष्ट हुन्थ्यो भने शहरको बसाइ, यतिबेला नशालु पदार्थको एडिक्ट पनि त हुनसक्थे ! यो कृपाको निम्ति धन्यवाद प्रभु !!

खुसि नम्बर छ: फेसबुक म्यासेन्जर खोलेर हेर्दा पनि खुसी लाग्यो जब केही मित्रहरूले म्यासेज फर्काउन नसकेको रीसमा ब्लक र अनफ्रेन्ड गर्नुभएछ ।

खुसी यसकारण लाग्यो कि – कतिपय मान्छे यहाँ बोल्ने मान्छे कोही नपाएर अरुलाई सताउँदै हिंड्छ्न् । नारीलाई सताएर कसैको जिन्दगी बर्बाद पारेर टाइम पास गर्छन् । मसँग त अझै पनि आफ्नो सम्झने र बोल्न लालायित हुने मान्छे यति धेरै हुनुहुन्छ । भगवान तपाईंलाई धन्यवाद ।

खुसि नम्बर सात: हिजो अलिकति बिरामी पनि थिएँ तर खुसी थिएँ ।

खुसी यसकारण थिएँ कि – म त कहिलेकाहीँ मात्र बिरामी हुन्छु । यहाँ सधैं दीर्घ रोगी भएर जिन्दगी एक दिन मात्र स्वस्थ भएर बाँच्न पाए हुन्थ्यो भन्ने मान्छे पनि त छन् ! म त कमसेकम कहिलेकाहीँ मात्र बिरामी हुन्छु ।नत्र प्रायः स्वस्थ नै छु । यो कृपाको निम्ति भगवान तपाईंलाई धन्यवाद !

खुसि नम्बर आठ: हिजै श्रीमतीको बिहानैको गुनासो सुन्दा झन् खुसी लाग्यो, जब उनले सुनाइन् कि तीन तले घर बिहान बिहानै एक्लै बढार्नु पर्छ, सफा गर्नु पर्छ, बिजुली, पानी टेलीफोन, ग्याँस सबैको पैसा तिर्नुपर्छ भनेर ।

खुसी यसकारण लाग्यो कि – मेरो घर छ र पो त यो सबै ब्यहोर्नु परेको छ, नत्र संसारमा कति मान्छे बेघर खुल्ला आकाश मुनी रात बिताइरहेका छन् । सबैको यो भाग्य कहाँ ?? प्रभु यहाँको जय होस् !

मित्रहरू, खुसी त हरेक पलमा छ, हरेक कुरामा छ । तपाईंले सोच्नुभएको दु:खमा पनि खुसी खोज्नुभयो पाउनुहुन्छ । बस् यसलाई कसरी ग्रहण गर्ने तपाईंको कुरा !

भवतु सब्ब मंगलम् !

(लेखक जे. सागर युएईमा बिगत केहिबर्ष देखि रोजगारीमा छन्)

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको