कात्तिक १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गत साल कात्तिकको तेस्रो साता जम्बो टोली लिएर युएई गइन् ।
सो भ्रमणमा राष्ट्रपति भण्डारीलाई युएईका शासकले महंगो जवाहरत उपहार दिएको विषय चर्चा बाहिरै रहे पनि कूटनीतिक क्षेत्रमा त्यसलाई खासै नौलो मानिएन । राष्ट्रपतिले थाप्ने त्यस्तो महंगो उपहार राज्यको कोषमा हुने कि व्यक्तिको सम्पत्तिका रुपमा रहने भन्नेबारेमा पनि बहस भएन ।
राजाका पालामा जस्तै उक्त कोसेलीलाई सामान्य रुपमा लिइयो ।
विदेश मामिलाका कतिपय जानकारहरुले चाहिँ नेपालका उच्चपदस्थहरु खाडी मुलुकमा बक्सिस (उपहार) थाप्नका लागि हत्ते हालेर जाने गरेको दाबी गर्छन् ।
राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमै छोरीले काठमाडौंमा महंगो कलेज खरिद गरिन् । सबैलाई थाहा भएकै कुरा हो कि मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी राष्ट्रपति भण्डारी मध्यम वर्गको परिवारबाट राजनीतिमा उदाएकी नेतृ हुन् ।
खाडी मुलुकमा किन जान्छन् नेताहरु ?
नेपाली युवाहरु खाडी मुलुकमा किन गइरहेका छन् भन्ने त सबैलाई थाहै छ, जुन एउटा बाध्यता हो । तर, नेपालका नेता र उच्चपदस्थहरु पनि युइएई, कतारलगायत खाडी मुलुकमा बेलाबखत गइरहन्छन् । र, उनीहरु नेपाली कामदार रहेका देशमा ‘सम्बन्ध राम्रो बनाउन’ भ्रमण गरेको बताउँछन् ।
विदेश मामिलाका कतिपय जानकारहरुले चाहिँ नेपालका उच्चपदस्थहरु खाडी मुलुकमा बक्सिस (उपहार) थाप्नका लागि हत्ते हालेर जाने गरेको दाबी गर्छन् ।
केही समयअघि राजधानीमा आयोजित भूतपूर्व गोरखा सैनिकको एक कार्यक्रममा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले गरेको दाबी निकै रोचक छ । श्रेष्ठले सो कार्यक्रममा नेपालका नेताहरुले अहिले पनि युइएई गएर भाडाका सैनिकहरुको सलामी (बक्सिस) थाप्ने गरेको दाबी गरेका थिए ।
विगतमा राणा र राजाहरुले नेपाली युवालाई भाडाका सिपाही बनाएवापत सलामी खाने गरेकोतर्फ लक्षित गर्दै परराष्ट्रविद श्रेष्ठले कार्यक्रममा भनेका थिए- ‘अदृश्यरुपले खुसुक्क पैसा खाने कामलाई निरन्तरता गरिएको छ । युएईसम्म विस्तार गरिएको छ ।
नेपाल सरकारसँग औपचारिक सम्झौता नगरिकन युएईले अहिले कम्युनिटी पुलिस भनेर सुरु गरेको छ । नेपाली सेना र पुलिसका मानिसहरु राजीनामा गरेर त्यहाँ जागिर खान गएका छन् । अनि यहाँका नेताहरु युएईमा सलामी थाप्न जान्छन् ।’
सोही कार्यक्रममा अर्का वाम विश्लेषक सीताराम तामाङले अझै एक कदम अगाडि बढेर भनेका थिए- ‘राणाहरुले रोयल्टी खाँदारहेछन् । त्यो रोयल्टी अहिले पनि नेपालमा आउँछ । पहिले राजाले खाँदै थिए, अहिले ओलीले खान्छन् कि अरु कसैले खान्छन् ? त्यो काहीँ न काहीँ त होला । तर, आजसम्म देखिएन ।’
नेपालले पाउने रोयल्टी वा बक्सिस राज्यको खातामा जम्मा हुनुपर्ने तामाङको माग थियो । उनले भनेका थिए- ‘म अर्थशास्त्रको विद्यार्थी भएकाले भन्दैछु, काहीँ न काहीँ राजस्वमा त त्यो पैसा हुनैपर्छ । त्यो पैसा सरकारको कोषमा इन्ट्री त हुनुपर्ने हो, त्यो कहाँ छ ? हामीले खोज्नुपर्ने अवस्था छ ।’
कतारबाट पनि बक्सिस ?
कतारका अमीरको निमन्त्रणमा भ्रमणमा निस्केकी राष्ट्रपति भण्डारीलाई त्यहाँका अमीरले पनि महंगो उपहार प्रदान गर्ने स्रोतले बताएको छ ।
त्यो बक्सिस सुन एवं हिरा जडित हुने विगतको प्रचलनलाई आधार बनाएर सूत्रहरुले बताएका छन् । तर, त्यसरी प्राप्त गर्ने महंगो उपहार राज्यको खातामा भने जम्मा हुने गरेको छैन ।
राजाकै पालादेखि अरबका राजा र अमीरहरुले त्यस्तो महंगो उपहार दिने गरेको हुँदा शासकहरु खाडी राष्ट्रको भ्रमणमा लोभिने गरेको विदेश मामिलाका जानकारहरुको दाबी छ ।
राष्ट्रपतिले जम्बो टोली लिएर त्यसरी विदेश भ्रमणमा जाँदा गरीब देशको राज्यकोषमा व्ययभार त थपिन्छ नै, तर त्यहाँबाट प्राप्त गर्ने महंगो उपहार पनि व्यक्तिगत सम्पत्तिका रुपमा प्रयोग हुँदा राज्य दुब्लाउने र व्यक्ति मोटाउने परम्पराले गणतन्त्रमा पनि निरन्तरता पाएको गुनासो विज्ञहरुको छ ।
कतारमा पनि युइएईमा जस्तै नेपालबाट सेना र प्रहरीको जागिर छाडेर सेक्युरिटी सर्भिसमा जाने नेपालीहरुको संख्या बढ्दो छ । तिनै नेपाली कामदारहरुको श्रममा टिकेका कतारी अधिकारीहरुले नेपालका नेता र उच्च पदस्थलाई उपहार दिएर खुशी पार्ने नीति लिएको विदेश मामिलाका जानकारहरुको तर्क छ ।
तर, राष्ट्रपतिको कतार भ्रमणलाई अनुमोदन गर्ने मन्त्रिपरिषदका एक मन्त्रीले अनलाइनखबरसँग भने- ‘राष्ट्रपतिज्यूको कतार भ्रमण हाम्रो चाहनामा भएको होइन, उहाँहरुले एक वर्ष अघिदेखि नै आग्रह गरिरहनुभएको थियो । गत वर्ष नै आग्रह गर्नुभएको थियो, तर कतारमा नाकाबन्दी भएकाले राष्ट्रपतिज्यू युएई जानुभयो र यसपालि कतार जानुभएको हो ।’
(अनलाइन खबरमा प्रकाशित अरुण बरालको लेखको छोटो अंश)
प्रतिक्रिया दिनुहोस