कार्तिक १३, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र सभामुख कृष्णबहादुर महराको सचिवालय आफन्तैआफन्तले भरिएको छ ।
उपराष्ट्रपति पुन र सभामुख महरा दुबै जना रोल्पाका हुन् । जनयुद्धताका तत्कालीन माओवादी पार्टीका कार्यकर्ता नेताको निजी सचिव रहने गरेका थिए । त्यतिबेला नेताको सचिवालयमा रहनु सुरक्षाका दृष्टिले जोखिमपूर्ण मानिन्थ्यो ।
शान्ति–प्रक्रियासँगै सहज वातावरण बनेपछि जोखिम नभएको र आफूसँगै विदेश भ्रमणको अवसर र विभिन्न लाभ पाइने भएपछि तत्कालीन माओवादीका कतिपय नेताहरुले सचिवालयमा आफन्तलाई भर्ति गर्न थाले ।
जनदिशा डटकमले लेखेको छ- दुःख र जोखिमपूर्ण समयमा जनताका छोराछोरीलाई आफूसँग राख्ने र आफ्ना छोराछोरीलाई विदेश पढ्न र सुरक्षित स्थानमा राखेका कतिपय नेताहरुले लाभको पदमा पुगेपछि आफ्ना छोराछोरी र आफन्त भर्ति गरेपछि तत्कालीन माओवादीमा व्यापक असन्तुष्टि बढेको थियो ।
अपवादबाहेक माओवादीका नेताहरुले पछिल्लो समय पनि त्यसैलाई निरन्तरता दिएका छन् ।
माओवादी आन्दोलनबाट आएका नेतामध्ये सबैभन्दा धेरैपटक लाभको पदमा पुगेका कृष्णबहादुर महराले अहिलेसम्ममा आफ्ना प्रायः सबै छोरा, ज्वाइँ र भाइभतिजालाई सचिवालयमा पालैपालो राखिसकेका छन् । माओवादीभित्र विजय गच्छेदारको उपमा पाएका महराले आफ्नो मात्र नभएर तत्कालीन माओवादी र हालका नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख स्वकीय सचिवमा भाइ जोखबहादुर महरालाई राख्न लगाएका छन् ।
अध्यक्षका ‘पोलिकल स्टेप’हरुबारे जानकारी लिनका लागि उनले आफ्ना भाइलाई सचिवालयमा राख्ने चाँजोपाँजो मिलाएको आरोप उनलाई लाग्दै आएको छ । कम बोल्ने भलाद्मी नेताको रुपमा आफूलाई चिनाउने महराले अध्यक्षका ज्वाइँ अर्जुन केसीलाई पनि ‘व्यालेन्स’ मिलाउनकै लागि आफ्नो सचिवालयमा राखेको बताइन्छ ।
चाँजोपाँजो मिलाउन सिपालु महराले आफ्ना ज्वाइँलाई सचिवालयमा राख्दा हुनसक्ने आलोचनाको आँकलन गरेर अध्यक्ष प्रचण्डका ज्वाइँलाई पनि सचिवालयमा राखेको चर्चा छ । महराका ज्वाइँ प्रमोद शर्मा उनको सचिवालयमा छन् । रोल्पाकै डीवी (डोरबहादुर) पुन पनि महराको सचिवालयमा छन् । सचिवालयको कम्प्युटर अपरेटरमा रोल्पाकै सविना घर्तीमगरलाई महराले नियुक्त गरेका छन् ।
सविना घर्तीमगर, अर्जुन केसी, कृष्णबहादुर महरा, प्रमोद शर्मा, डिबी पुन र डिल्ली मल्ल तत्कालीन माओवादीका रोल्पा र रुकुमका नेताबीच रहँदै आएको परम्परागत ‘द्वन्द्व’मा प्रायः रुकुमतिर ढल्किँदै आएको सल्यानलाई ‘व्यालेन्स’मा राख्न महराले सल्यानका डिल्ली मल्ललाई सचिवालयमा राखेका छन् ।
विद्यार्थी राजनीतिको पृष्ठभूमिका मल्ललाई प्रेस विज्ञको रुपमा महराले सचिवालयमा नियुक्त गरेका हुन् ।
रुकुमका प्रभावशाली नेता जनार्दन शर्माको प्रभावबाट सल्यानलाई मुक्त गर्न ‘एक्सनसाइज’ गरेको आरोप पनि महरालाई लागेको छ । मुखले ठिक्क पारे पनि रुकुमेलीप्रति सबैभन्दा असहिष्णु रहेको आरोप पनि रुकुमेलीले महरालाई लगाउँदै आएका छन् । महराको सचिवालयका अन्य सहयोगी सदस्यसमेत सबै आफन्त र रोल्पाकै रहेको बताइन्छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पनि महराभन्दा फरक नभएको बताइन्छ । उनको सचिवालयमा आफ्नै छोरा दीपेश पुन, रोल्पाका मिलन डाँगी, शुकबहादुर रोका र रोल्पाकै मनोज घर्ती रहेका छन् । उपराष्ट्रपति पुनले सचिवालयका गाडी चालकदेखि अन्य सहयोगी पनि प्रायः आफन्त र रोल्पाली मात्रै राखेकोमा आलोचना हुँदै आएको छ ।
‘सिङ्गो संसार परिवर्तन गर्न भनेर हिंडेका नेता कृष्णबहादुर महरा र नन्दबहादुर पुन सभामुख र उपराष्ट्रपति जस्तो पदमा रहनु झट्ट हेर्दा रोल्पालीका लागि गौरवको विषय हो’, हाल काठमाडौं बस्दै सानो व्यवसाय गरेर बसेका रोल्पा माडीचौरका बासिन्दाले नाम नबताउने शर्तमा भने, ‘उपराष्ट्रपति र सभामुखले लाभको पदमा आफन्त भर्ती गर्न मरिहत्ते गरेको देखेर हामी रोल्पालीलाई नै लाज लागेको छ ।
जनयुद्धमा देशैभरिका कयौं कार्यकर्ताले ज्यान गुमाए, जीवन जोखिममा राखेर लडे । आज लाभको पदका लागि आफन्त र रोल्पाली मात्रै राजेका छन् । आफूले त केही लिइएको छैन । तर साथीभाइसँग हाइहेलो र भेटघाट हुँदा हाम्रा नेताले गरेको काम सुन्दा रोल्पाली हुँ भन्न पनि लाज लाग्ने गरेको छ ।’
उपराष्ट्रपति र कृष्णबहादुर महरा मात्र होइन, हालका ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि रोल्पाकै हुन् । पटक–पटक मन्त्री बनिसकेका वर्षमानलाई पनि सचिवालयमा आफन्त, रोल्पाली र ‘अतिनिकटका’लाई मात्र राख्ने गरेको आरोप लाग्ने गरेको छ ।
दोस्रो संविधान सभाको चुनावमा मोरङबाट चुनाव लड्दा नराम्रो पराजय व्यहोरेपछि वर्षमान पुनले आफ्नो राजीतिक भविष्य असुरक्षित रहेको महसुस गरेको आफूनिकटलाई बताउँदै आएका थिए । आफ्ना शैक्षिक तथा राजनीतिक गुरु महरालाई रोल्पाबाट अन्यत्र नपठाए आफ्नो राजनीतिक यात्रा धरापमा पर्नसक्ने ठानेर वर्षमान पुनले दाङ धकेलेको आरोप पनि एकथरी रोल्पालीले वर्षमानलाई लागाएका छन् ।
‘जे गरे पनि रोल्पालीका खास नेता महरा सर नै हो । तर मगर बाहुल्यता देखाएर वर्षमानले महरा सरलाई दाङ धकेलेको’ काठमाडौं कर्मथलो बनाएका रोल्पाका एक पुराना माओवादी कार्यकर्ताले बताए ।
प्रतिक्रिया दिनुहोस