सत्ताधारी नेकपामा चर्को असन्तुष्टी: बैठक राख्न समेत नेताहरु त्रासमा


कार्तिक १३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कात्तिक १२ र १३ गते बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएपछि नेताहरूले असन्तुष्टि पोख्न थालेका छन् । सचिवालय पछिको निर्णायक मानिएको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुँदा नेकपाका धेरै नेताहरू असन्तुष्ट बनेका छन् ।

पार्टी एकताले पूर्णता नपाउँदा कार्यकर्ताहरूमा मात्रै होइन नेताहरूमा पनि अन्यौल सिर्जना भएको छ । नेकपाले अहिलेसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको मात्रै टुङ्गो लगाएको छ । बाँकी सङ्गठन एकीकरणका काम टुङ्गो लगाएको छैन ।

आइतबार पार्टी महासचिव विष्णु पौडेलले एक सूचना जारी गरी बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जनाएका थिए । तर यसअघि कारण देखाएर बैठक स्थगित हुँदै आएको भए पनि आज र भोलि (सोमबार र मङ्गलबार) बस्ने भनेको बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

तर सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको हुँदा र कार्यदल दिएको जिम्मेवारी पूरा गर्न समय लाग्ने भएका कारण बैठक स्थगित भएको बताएका छन् ।

‘कार्यदललाई दिएको जिम्मेवारी पूरा नुहुँदासम्म अब स्थायी कमिटीको बैठक बस्दैन । पार्टी अध्यक्ष पनि अस्वस्थ हुनुुहुन्छ । उहाँले केहि समय आराम गर्नुपर्ने देखिएको छ । कार्यदलले काम सम्पन्न गरेपछि स्थायी कमिटी बैठक बोलाउनुअघि सचिवालय बैठक बस्छ’, सचिवालयका एक नेताले भने, ‘त्यो सचिवालय बैठकले कार्यदलको रिपोर्टमा छलफल गर्छ र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार गर्छ ।’

गत बिहीबार बसेको सचिवालय बैठकले पार्टीका बाँकी सङ्गठनको एकीकरण साथै कार्यविभाजनका लागि भन्दै महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको रहेको दुई सदस्यीय कार्यदल गठन गरको थियो ।

उक्त कार्यदलले यसअघि प्रदेश कार्यदलले बुझाएको रिपोर्टको आधारमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने छ । साथै जनवर्गीय सङ्गठनको एकीकरण, पोलिटब्युरो गठन र विभिन्न विभागहरूको टुङ्गो पनि सोही कार्यदलले लगाउने छ । त्यसबाहेक केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मा पनि दिइएको छ ।
पार्टी एकतापछि अहिलेसम्म दुई पटक मात्रै स्थायी कमिटीको बैठक बसेको छ ।

यसअघि तल्ला तहका सङ्गठनको एकीकरण, कार्यविभाजन र सरकारका कामको समीक्षा लगायतका एजेन्डामा छलफल गर्ने गरी स्थायी कमिटी बैठकको मिति तय भएको थियो । १२ र १३ गतेको बैठक स्थगित भएपछि अब बैठक कहिले बस्छ भन्ने टुङ्गो छैन ।

पछिल्लो समय तय भएको स्थायी कमिटीको बैठक नसर्नेमा धेरै नेता विश्वस्त थिए । त्यसै अनुरूप आफ्ना कार्यक्रम तय गरेका थिए । तर बैठक सुरु हुनु अघिल्लो दिन स्थागित भएको सूचना स्थायी कमिटीका सदस्यहरूमा पुग्यो ।

जसले गर्दा फेरि एक पटक नेताहरूमा अन्यौल सिर्जना भयो । बैठक स्थागित भएको सूचना पाएपछि सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेताहरूलाई प्रश्नै प्रश्न तेर्साएका छन् । नेकपा स्थायी समितिको बैठक अब कहिले ?

उनले लेखेका छन्, ‘थुप्रै थुप्रै एजेन्डाहरू चाङमाथि चाङ लागेका छन् । बैठकमार्फत एजेन्डाले समाधान खोजेको छ । पार्टीले स्फूर्ति खोजेको छ । बैठकको प्यासले ओइलाइरहेको अवस्थामा १२ र १३ गते नेकपाको स्थायी समितिको बैठक बस्ने सूचनाले थोरै भए पनि राहात भएको थियो । आज सूर्योदय नहुँदै अनिश्चित कालका लागि बैठक स्थगित भएको विद्युतीय समाचारको घण्टी बज्यो । किन हुन्छ यस्तो ? राष्ट्र, जनता, पार्टी र आन्दोलनप्रतिको जवाफदेहिता यसरी पूरा होला ? कति पटकसम्म कामगर्ला शङ्काको सुविधाले ? समस्यालाई पन्छाउनु क्षणिक समाधान मात्र हो । जसले प्रकोपको सम्भावनालाई कायमै राख्छ । समस्यालाई बुझ्नु र सही अर्थमा त्यसको समाधान गर्नाले पार्टीलाई बलियो र दीर्घजीवी बनाउँछ । हामी पहिलो विकल्पलाई इन्कार गर्छौं भनेको दोस्रोलाई स्वीकार । समयको शक्तिलाई समय घर्किनुपूर्व नै बुझौँ ।’

त्यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बारम्बार स्थायी कमिटीको बैठकको माग गर्दै आएकी छन् ।

नाम नबताउने शर्तमा स्थायी कमिटीका एक नेताले भने ‘१२ र १३ को बैठकमा चर्को विवाद हुने देखेपछि नेताहरूले बैठक स्थगित गरे । अब झन् कहिले बैठक बस्छ भन्ने कुनै निश्चित छैन । एक न एक दिन त बैठक बस्ला । त्यो समयको बैठक निकै पेचिलो बन्ने संकेत देखिइसकेको छ’, ती नेताले भने, ‘अध्यक्षद्वय आफ्नो आलोचना सुन्न नसकेर बारम्बार बैठक स्थगित गर्दै आएका छन् ।

एकताले पूर्णता नपाउँदै पार्टीमा निरासा बढ्दो छ । सरकारका काम प्रभावकारी बन्न सकेका छैनन् । विधानमा स्थायी कमिटीलाई निर्णायक भनिएको छ तर निर्णय सचिवालयबाटै हुँदै आएका छन् । यसरी कहिलेसम्म पार्टी चल्छ ? यी सबैको जवाफ नेताहरूले दिनुपर्छ ।’

नेकपाको गत साउनदेखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । यसअघि साउन २४ गते बसेको सचिवालय बैठकले भदौ ८ र ९ गतेका लागि स्थायी कमिटी बैठक आह्वान गरेको थियो । तर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई कारण देखाएर उक्त बैठक भदौ १९ र २० गतेका लागि सारिएको थियो ।

भदौ १९ र २० गतेका लागि तय भएको बैठक पनि नेताहरूको व्यस्तताका कारण देखाएर स्थगित भएको थियो । त्यसपछि बैठक भदौ २६ र २७ मा बस्ने भनिएको थियो तर त्यो समय पनि बस्न सकेन । त्यस पटक बैठक सार्दा चाहिँ शीर्ष नेताहरूको विदेश भ्रमणलाई कारण देखाइएको थियो । असोजमा पनि बैठक बस्न सकेन । कात्तिक १२ र १३ गतेको बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्छ भन्ने त झन् अनिश्चित बनेको छ ।

तर अब बस्ने स्थायी कमिटीको बैठकमा पेचिलो विवाद हुने सङ्केत नेताहरूले दिएका छन् । धेरै नेताहरू आफ्ना असन्तुष्टि पोख्न बैठक कुरिरहेको देखिन्छ ।

असन्तुष्टि नै असन्तुष्टिका चाङ

एकीकृत पार्टीपछि उत्पन्न विभिन्न असन्तुष्टिले आगामी पार्टी स्थायी किमिटी बैठकमा प्रवेश पाउने छन् । अर्थात यसको सीधा असर पूर्वसमूहहरू सक्रिय जस्तो देखिनेछन् र बैठक पेचिलो हुनेछ । ‘धेरै असन्तुष्टि थुप्रिसकेका छन् । बैठक पेचिलो नै होला ।’ नेकपाका एक स्थायी कमिटी सदस्यको आँकलन छ ।

मूलतः बैठकमा सरकारको समीक्षा, सचिवालयको कार्यशैली मुख्य एजेन्डा बन्नेछन् । तर सचिवालयका नेताहरूले स्थायी कमिटी बैठकमा विवाद कम गराउन कार्यदललाई बाँकी काम सम्पन्न गर्ने जिम्मा दिएको छ । सचिवालयका एक नेताका अनुसार एकीकरणका काम टुङ्गो लगाएर स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्ने गरी सचिवालयले तयारी गरेको छ । जसले गर्दा बैठकमा कम विवाद हुनेछ । तर पनि पछिल्लो समय नेकपाका नेताहरूका आआफ्ना असन्तुष्टि कायम नै छन् ।

मुख्यतः शीर्ष नेतृत्वले पार्टीलाई विधि र प्रक्रियामा नलगेको आरोप स्थायी कमिटीका अधिकांश नेताहरूको छ । सचिवालयले गरेका सबैजसो निर्णय विवाद रहित बन्न सकेका छैनन् । सरकारको कार्यशैलीप्रति अधिकांश नेता तथा सांसदको असन्तुष्टि चर्को छ । नेताहरूका व्यक्तिगत असन्तुष्टि पनि कायम नै छन् । तिनको जवाफ पनि अध्यक्षद्वयले दिनुपर्ने देखिन्छ । त्यसैले यी सबै विषयले बैठक पेचिलो बन्ने देखिएको छ ।

पार्टी एकताका बेला बाहिर रहेका बरिष्ठ नेता झलनाथ खनालको आफ्नै असन्तुष्टि छ । वरियतामा उनी असन्तुष्ट छन् । उनी आफूलाई अन्याय भएको ठान्छन् । सरकारका कामप्रति पनि सन्तुष्ट छैनन् । यद्यपि नेता खनालले स्थायी कमिटीमा रहने सदस्य चयनमा पनि असन्तुष्ट जनाएका थिए । केही समयअघि रातोपार्टीलाई दिएको अन्तरवार्तामा नेता खनालले स्थायी कमिटीमा आफ्ना असन्तुष्टि राख्ने बताएका छन् । उनले सरकारको समीक्षा र तल्ला तहका कमिटी एकीकरणमा भएको ढिलाइबारे पनि स्थायी कमिटीमा उठाउने बताउँदै आएका छन् ।

राताेपाटीले तयार पारेकाे रिपाेर्टकाे सम्पादित सानाे अंश ।

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको