असोज १४, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ ।
निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ ।
यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् ।
यसैगरी, विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्ऽ विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।
बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।
निर्मलाको भेजिनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भेजिनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?
प्रतिक्रिया दिनुहोस